कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएकी छन् । शुक्रबार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यावसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन् । 

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन् । 

‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै गर्‍यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडी बढेका छौँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर, आधारभूत कुरा चाहिँ तीनवटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ,’ मन्त्री भुसालले भनिन्, ‘कृषि प्रधान देश, उर्वरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिँचाइको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यान्त्रिकीकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुनसक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ । हामीलाई भूकम्पले पनि सिकायो ।’

उनले अगाडि भनिन्, ‘कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ । कृषि आधारभूत कुरा हो । बरु यसलाई अझ व्यवसायीकरण, यान्त्रिकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ । कृषि पनि उद्योग हो । यसलाई पनि हामी उद्योगको तरिकाले अगाडि बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ ।’ 

मन्त्री भुसालले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्नेमा पनि जोड दिइन् । उनले देशमा पर्याप्त पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि बताइन् । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १३:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया