बागमती : प्रदेश सांसदको आकांक्षा प्रतिनिधिसभाको टिकटतिर

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी ४ मंसिरमा हुँदैछ । संघ तथा प्रदेशको निर्वाचन मिति तोकिएसँगै देशभर नै चुनावी सरगर्मी बढिरहेको छ । कुन नेताले कहाँबाट उम्मेदवारी दिन्छन् भन्ने विषयमा अहिले चर्चामा छ । आसन्न निर्वाचन अघिल्लो निर्वाचनभन्दा रोचक बन्ने आंकलन पनि गरिएको छ । 

हालका बागमती प्रदेश सांसद दोहोराएर प्रदेशमै बस्न चाहना कमैमा छ । कोहीले त प्रदेशको संरचना नै खारेज गर्नुपर्छ भन्ने माग राख्न थालेका छन् भने धरैजसो सांसदले प्रतिनिधिसभा सांसदमा उम्मेदवारी दिने तयारी थालेका छन् । 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सांसद ईन्द्रबहादुर बानियाँ लगायतका सांसद पार्टीले टिकट पत्याए प्रतिनिधिसभाको उम्मेदवारी दिने दाउमा छन् ।

तर, सबै राजनीतिक दलले कसलाई कहाँ टिकट दिने भन्ने निर्धारण गर्ने हुँदैमा सबै आकांक्षीले संघकै टिकट पाउलान् भन्ने एकिन रहँदैन । यद्यपि, राजनीतिक इतिहासअनुसार बलियो उम्मेदवारले भने प्रतिनिधिसभाको टिकट पाउने भन्ने निश्चित रहने शीर्ष पार्टीका नेताहरूले बताउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचन जित्दै आएकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अबको दाउ प्रतिनिधिसभाको टिकटतिर केन्द्रित हुन थालेको छ । आगामी निर्वाचनमा मोक्तानको दाबी संघीय निर्वाचनमा रहने चर्चा चलेको हो ।  

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बन्दा मोक्तानले प्रतिनिधिसभाको टिकट गुमाएकी थिइन् । उनले विरोध खतिवडालाई प्रतिनिधिसभा छोडेर आफू प्रदेशसभामा उम्मेदवार बनेकी थिइन् ।



आगामी निर्वाचनमा भने मोक्तान कुनै पनि हालतमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने होडमा लागिपरेकी छन् । उनले पनि प्रतिनिधिसभाको सोही क्षेत्रबाट चुनाव लड्ने चर्चा चल्दै आएको छ । 

यता बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेल पनि अब प्रदेश छोडर संघमा आफ्नो दाबी गर्दै आइरहेका छन् । २०७४ साल मंसिरको प्रदेश निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्य बनेका पौडेल ११ कात्तिक २०७४ मा बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए । 



नेकपा एमाले तर्फका पौडेल अब मकवानपुरको क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभामा उम्मेदवारी दिने दाउमा छन् । पछिल्लो समय पार्टीले कसलाई कहाँको टिकट दिन्छ भन्ने निर्णय कुर्दै नेताहरुमध्ये प्रदेशमा पाँच वर्ष बिताइसकेकाको आकांक्षा भने संघमा नै रहेको चर्चा चलिरहेको छ । 

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ पनि संघमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा चलेको छ । प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे र बानियाँले ६/६ महिना प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने लिखित सहमति हुँदासमेत शान्त बनेर बानियाँले मुख्यमन्त्रीका लागि मरिहत्ते गरेनन् । बानियाँलाई राम्रै ठाउँ दिने केन्द्रकै निर्णयअनुसार उनी साम्य भएको केहीअघि चर्चासमेत थियो । 

२०७४ सालको प्रदेशसभामा जित हाँसिल गर्दै पार्टीको साख जोगाउन सफल भएका उनी अब प्रतिनिधिसभामा आकांक्षी रहेको चर्चा छ । बानियाँले १९ हजार २ सय ४५ मत ल्याउँदै विजयी बनका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजाराम स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएर पराजित हुन परेको थियो । 

  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार २१:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया