नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरे ।
उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताए । उनले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताए ।
महामन्त्री थापाले आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने दाबी गरे । उनले बाँकी ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने दाबी गरे ।
उनले भने, ‘अब आउने ५ वर्षमा पनि हामीले प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न सकेनौँ भने हामीले ल्याएको, हामीले भनेको, संविधानमा छ भनेर मात्रै यो बाँच्दैन । यो बाँच्ने कि नबाँच्ने भन्ने कुरा हाम्रो कर्ममा भर पर्छ । प्रदेश सरकार टिक्ने कि नटिक्ने भन्ने कुरा अबको ५ वर्षमा थाहा हुन्छ । यसले काम गर्न सकेन भने यो टिक्दैन ।’
महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी गरे ।
उनले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा.बाबुराम भट्टराई र पुष्पकमल दाहाल हुँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताए ।
उनले नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको पनि बताए । उनले एसपीपीले प्रकारान्तमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरेको बताए ।
महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताएको भन्दै कांग्रेस एक चीन नीतिमा अडिग रहने स्पष्ट पारे ।
महामन्त्री थापाले आगामी निर्वाचन जितेपछि सरकारले के गर्छ भन्ने योजना बनाउन अपरिहार्य रहेको बताए । उनले पूर्व प्रधानमन्त्री वा सरकारले काम गर्न सकेन भनेर अब पनि काम नगर्ने छुट नरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।