धर्मपुत्री बलात्कार प्रकरणः मिलापत्र गराउने शिक्षिका, वडा सदस्यसहित ६ जना पक्राउ
फाइल तस्वीर

जुम्लामा धर्मपुत्रीको रूपमा राखेकी १३ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेका र घटना मिलापत्र गराउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

नाबालिका बलात्कार गरेको आरोपमा जुम्ला प्रहरीले २९ साउनमा आरोपित प्रेमराजा भनिने प्रेमजंग महतलाई नियन्त्रणमा लिएको थियो । घटना मिलापत्र गराउने कार्यमा संलग्न रहेको भन्दै अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । तीन जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । 

जबरजस्ती करणीको घटना मिलापत्र गराएको भन्दै प्रहरीले चन्दननाथ नगरपालिका- ५ का वडा सदस्य कालीबहादुर भण्डारी, चन्दननाथ–४ का नवराज भारती, तातोपानी गाउपालिका–८ का ईश्वरी आरसी, सर्मिला महत, उर्मिलाकुमारी महतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्ने उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत, महेन्द्र महत र जीवन महत फरार रहेको प्रहरीले जनाएको छ ।

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १३ नाबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटकपटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । नाबालिकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए । 

जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घटना मिलापत्र गरिएको छ । अधिवक्ता दिलबहादुरसहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गरिएको हो ।



मिलापत्रमा जबरजस्ती करणीको घटनाबारे कतै केही उल्लेख छैन । मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् ।

महतले जबरजस्ती करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि ‘बाबा’ भन्ने राति आफूलाई श्रीमान् स्वीकार्न दबाब दिने गरेको ती पीडित बालिकाले बताएकी छन् । महतले आफूलाई जबरजस्ती करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिन थालेपछि नाबालिकाले मुसा मार्न प्रयोग हुने विष पनि खाएको बुझिएको छ । 



मुलुकी अपराधसंहिता, मुलुकी अपराध कार्यविधिअनुसार बलात्कारको घटना मिलाउनु कानुनविपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।

जुम्लामा धर्मपुत्रीमाथि बलात्कार, ७ लाखको लेनदेनमा घटना मिलापत्र

धर्मपुत्रीमाथि बलात्कारको आरोप लागेका प्रेमराजा पक्राउ परे

धर्मपुत्री बलात्कार प्रकरण : घटनामा संग्लनलाई तत्काल कारबाही गर्न अनेरास्ववियूको माग

  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १४:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया