दुःख बिर्साउने ‘बिर्सती’ मेला

सुदूरपश्चिमको प्रसिद्ध बिर्सती मेला आज उद्घाटन भएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामध्ये क्षेत्रमा मनाइने बिर्सती मेला आज औपचारिक कार्यक्रमबाट उद्घाटन गरिएको हो । बिर्सती पर्व र मेलाका रुपमा मनाइन्छ । प्रत्येक वर्ष भदौ १८ देखि २० गते सम्म पर्व र तत्पश्चात् एकहप्तासम्म मेलाको रुपमा बिर्सती मनाइन्छ । सांस्कृतिक, ऐतिहासिक र धार्मिक पक्ष छन् ।

बिर्सती मेला कसरी मनाइन्छ ?

भाद्र १८ गते छविसपाथिभेरा गाउँपालिका ६ मा रहेको दैपाँड मन्दिरमा पूजा आराधना गरेपछि बिर्सती पर्व सुरु हुने शिक्षक तथा सांस्कृतिक अभियानता गणेश बुढा बताउँछन् । बुढाका अनुसार स्थानीय भक्तालु निराहर व्रत बसेर त्यो दिनभर बाठपाला देवताको पूजा आराधना गर्छन् । साँझ चाँभाइ (एक किसिमको भजन)  खेल र बाठपाला देवताका फाग गाएर भारीखेल लगाएर रातभर भजन कृतन गर्दै मनाउने गर्छन् ।

भाद्र १९ गते ढाँका (डमरु) बजाउने प्रचलन छ । २० गते भक्तजनहरु पुनः व्रत बसेरै दैपाँड मन्दिरमा पूजा आराधना गर्ने प्रचलन छ । यो दिन बाठपाला मन्दिर दैपाँडबाट बाल्यचौर हुँदै महालिंग देवताको मन्दिर च्यागोटसम्म नांगै खुट्टा पदयात्रा गर्ने प्रचलन छ ।

 २० गते विशेष दिनको रुपमा मनाइने भएकोले यो पर्वको नाम बिर्सती रहेको मान्न सकिन्छ । यो थलिदुर्गा मन्दिरमा मेला लाग्ने गर्दछ ।  बिहानैदेखि पूजाआजा गरेर थलिदुर्गाको मन्दिरबाट नै महिलाहरुले चाँभाइ खेल लगाउने गर्दछन् । दिनभर बिसौनाचौरमामा चाँभाई लगाइसकेपछि बिर्सती पर्व समापन भएर मेलाको सुरुवात हुन्छ । २१ गतेबाट सांस्कृतिक कार्यक्रम, देउडा दोहोरी, भलिवल प्रतियोगिता हुन्छन् ।

किसानले असार, साउनको खेतिपाती रोप्ने काम सकेपछि यो मेला मनाइन्छ । देश विदेशबाट स्थानीय बिर्सतीको अवसर पारेर गाउँ फर्कन्छन् । टाढाबाट आएका इस्टमित्र मेलामा भेट हुन्छ । भलाकुसारी हुन्छ । जिल्लाका विभिन्न ठाउँबाट व्यक्तिले देउडा खेल्छन् । सुख, दुःख साँटासाट गर्छन् । दुःख विर्साउने अवसर विर्सतीले जुराउने हुनाले यो मेलाको नाम ‘बिर्सती’ रहेको मान्न सकिन्छ ।



प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा मेला उद्घाटन



यसपटकको मेला उद्घाटन समारोहमा बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सहभागी भएका छन् । उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, दुर्गाथली गाउँपालीका अध्यक्ष दिलबहादुर थापा, छविस पाथिभरा गाउँपालिका अध्यक्ष वसन्त चलाउने, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

मेलामा कलाकारहरु रेखा जोशी, कलाकार छत्र शाही, सुनिल नेपालीले सांस्कृतिक प्रस्तुति राख्नेछन् ।

भलिबलका लागि एक लाखबढी पुरस्कार

मेला आयोजक छविसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाले प्रत्येक वर्ष भलिबल प्रतियोगिता राख्दै आएका छन् । यसपटक पुरुष भलिबलतर्फ प्रथम पुरस्कार एक लाख २० हजार ९ सय २० तोकिएको छ । द्वितीय पुरस्कार ५० हजार ९ सय २० छ । तृतीय पुरस्कार  २५ हजार ९ सय २० छ भने सान्त्वना पुरस्कार १० हजार ९ सय २० छ ।

महिला भलिबलतर्फ  प्रथम पुरस्कार ३० हजार ९ सय २० तोकिएको छ । द्वितीय पुरस्कार १५ हजार ९ सय २० छ । तृतीय पुरस्कार  १० हजार ९ सय २० छ । त्यस्तै, सान्त्वना पुरस्कार ५ हजार ९ सय २० तोकिएको छ ।

मेलाबाट पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरेका छौँ : अध्यक्ष चलाउने

उद्घाटन समारोहमा बोल्दै छविसपाथिभेरा गाउँपालिका अध्यक्ष jसन्त चलाउनेले मेलाबाट पर्यटन प्रवर्धन हुन्छ भन्ने अपेक्षा गरेको उल्लेख गरे ।  ‘विर्सती मेलाले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ । हामीले मेलामा विभिन्न कार्यक्रम गरेर यस क्षेत्रको पर्यटन प्रर्वधन होस् भन्ने अपेक्षा गरेका छौँ, अध्यक्ष चलाउनेले भने, 'यसका लागि पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले सबै भूमिका खेल्नेछ ।’

  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १९:१६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया