जनताको क्रय शक्ति बढाउन आवश्यक छः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको बताएकी छिन् । सोमबार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताउँदै मन्त्री भुसालले कृषि, पर्यटन र उर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने बताइन् । 

देश विकासका लागि जलस्रोतलगायत प्राकृतिक स्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताउँदै उनले औद्योगीकरण, यातायात सञ्चालन, सिँचाइ, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताइन् । 

ऊर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी रहेको पनि मन्त्री भुसालले बताइन् । जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको पनि उनले स्पष्ट पारिन् । 

मन्त्री भुसालले देशमा उत्पादन हुने विद्युत पूर्ण रुपमा नविकरणीय, स्वच्छ ऊर्जा भएकोले हाल देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको दाबी गरिन् ।आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन भइरहेको उनको भनाइ थियो । 

सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै उनले विद्युत आधारभूत आवश्यकताका साथै उत्पादनको साधन भएको बताइन् । 



मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिब १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताइन् । यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको उनको भनाइ छ । 

नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३औं स्थानमा छ । नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।
 



  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १८:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया