महिला साफ : उपाधि जित्ने दुवै टोलीको दाबी

छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि भोलि घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले साबिक विजेता भारत तथा बङ्गलादेशले भुटानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनलअघि आइतबार गरिएको प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीले उपाधिका लागि आफ्नो शतप्रतिशत दिने बनाएका छन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले साफको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताए । ‘यो साफको लागि भावनात्मक र शारीरिक रूपमा धेरै मेहनत गरेका छौँ । साफ जितेर जर्सीमा स्टार लगाउने सपना छ’, प्रशिक्षक थापाले भने, ‘त्यसको लागि जे गर्न पनि तयार छु ।  बिरामी खेलाडी रिकभरी गरेर हुन्छ की युवा खेलाडीलाई मैदान उतारेर हुन्छ। हाम्रो लक्ष्य ट्रफी बाहिर जान नदिने हो ।’

थापाले घरेलु समर्थकले ऊर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे । ‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौँ । र, हाम्रो टिममा अहिले यो सबै छ । यसै कारण म विश्वस्त र खुसी छु,’ थापाले भने । 

मुख्य प्रशिक्षक थापाले उपाधि घरमै राख्ने अवसरलाई खेर नफाल्ने तथा घरेलु टोलीलाई निराश नबनाउन बताए । ‘साफको फाइनलमा हुनु दुवै टोलीका लागि लागि सम्मान हो । नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा खेल्न लागेका हुन्,’ थापाले भने, ‘महिला साफले १२ वर्षे इतिहासमा नयाँ राष्ट्र पाउँदै छ त्यो हामी हुनुपर्छ भन्ने टोलीको लक्ष्य हो । ट्रफी अन्त पठाएर हामी घरेलु दर्शकलाई निराश बनाउन चाहँदैनौ ।’

नेपालले यसअघि चार पटक फाइनल खेलिसकेको छ । तर, फाइनलमा भारतसँग स्तब्ध हुँदै आएको थियो । बङ्गलादेश पनि दोस्रो पटक पटक फाइनल खेल्न लागेको हो । प्रशिक्षक थापाले बङ्गलादेशको टोली राम्रो भएको समेत बताए ।   



‘बङ्गलादेशको टोली युवा जोसले भरिएको छ । उ पहिलेको भन्दा नयाँ र बलियो बनेको छ ।  मौसमले साथ दियो भने खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आशा गरेको छु,’ थापाले थपे, ‘मलाइ थाहा छ बङ्गलादेशको युवा जोसलाई रोक्न सहज भने हुने छैन । तर, हामीसँग अनुभवी र युवा टोलीको शमिश्रण छ यसलाई राम्रोसँग उपयोग गर्न सकिएमा उपाधि जित्न सक्छौँ । टिम वर्क हाम्रो बलियो पक्ष हो ।’ 

थापाले फरवार्ड सावित्री भण्डारी र मन्जली कुमारी योन्जन रिकभरीको प्रोसेसमै रहेको बताए । दुवै जनाले डेंगुको कारण अघिल्ला दुई खेल गुमाएका थिए । नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले आफूहरू उपाधिका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको बताइन् ।



हामी फाइनल खेल्दै छौँ । यस पटक हामी मानसिक र शारीरिक तयार पनि छौँ । बङ्गलादेश पहिलेको भन्दा राम्रो भएको छ । भारत भन्दा पनि राम्रो । तर, हामी पनि बलियो छौँ, कप्तान एन्जिलाले भनिन्,’ भोलि जित हात पार्दै उपाधि घरमै राख्ने छौँ भन्ने विश्वास छ । 

कप्तान एन्जिलाले बोलेर भन्दा गरेर देखाउने बताइन् । ‘पहिलो पटक भारतलाई जितेर इतिहास बनायौँ । यो सबै टिम वर्कको कारण हो । हामी उपाधि जितेर अर्को इतिहास बनाउने प्रयास गर्नेछौँ,’ उनले थपिन,‘यहाँ बोलेर भन्दा पनि मैदानमा गरेर देखाउनेछौँ ।’

बङ्गलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले नेपाल बलियो भए पनि फाइनलका लागि आफूहरू तयार भएको बताए। ‘हामीलाई बङ्गलादेश फुटबल संघले सबै सपोर्ट गरेको छ । हामी मानिसिक  तथा शारीरिक रूपमा फाइनलका लागि तयार छौँ । दुई दिनको आरामले धेरै सहयोग गरेको छ । नेपाल बलियो टोली हो । घरेलु टोलीलाई जित्न सधैँ कठिन हुन्छ । खेल प्रतिस्पर्धात्मक हुन्छ,’ उनले भने ।

प्रशिक्षक रिब्बानीले समर्थकको साथले नेपाली टोलीको हौसा बढाएको बताए । ‘घरेलु समर्थकको साथले नेपालको हौसला बढाउने काम गरेको छ । सेमिफाइनलमा सात हजार भन्दा बढी दर्शकको उपस्थिति थियो । भोलि त्यो भन्दा बढी हुनेछन्,’ रिब्बानीले भने, ‘घरेलु दर्शकको सामु खेल्न कठिन हुन्छ तर हामीसँग यस्तो माहोलमा खेलेको अनुभव छ त्यसैले उपाधिका लागि शतप्रतिशत प्रदर्शन गर्ने छौँ ।’ 

बङ्गलादेशी कप्तान सबिना खातुनले फाइनलका लागि तयार भएको बताइन् । ‘हामी तयार छौँ । टोलीमा अनुभवी र युवा खेलाडी छन् । फाइनलको दबाब झेल्नका लागि खेलाडी तयार छन्,’ उनले भनिन्, ‘हामी अघिल्लो खेलमा जस्तै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उपाधि जित्न चाहछौँ ।’ 

  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १६:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया