शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्नै लाग्यो तर बझाङका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको झण्डै पाँच महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका नन् । पाठ्यपुस्तक समयमा नै नपाउँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

बझाङ जिल्लामा वैशाख २५ गतेदेखि पठनपाठन सुरु भएको भएपनि हालसम्म पाठ्यपुस्तक प्राप्त नभएको हो । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा आफूहरुको पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।
  
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै नभई सदरमुकाम चैनपुर बजारकै सत्यवादी माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालयमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । 

नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको साइपाल गाउँपालिकामा रहेको धलौन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत लवकुमार धामीले बताए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनका कारण हालसम्म पनि पाठ्यपुस्तक जिल्लामा पुगेको छैन । 

शैक्षिक सत्र सुरु भएको र किताप छपाइ हुने समयमा चुनावका लागी मतपत्र छाप्ने काम भएकाले पनि पाठ्यपुस्तक समयमा नै नआई पुगेको वित्थडचिर गाउँपालिका वडा नं ९ मा रहेको सुनकुडा माविका शिक्षक शंकर विष्टले बताए । 

अहिले विद्यालयमा प्रथम त्रैमासिक परिक्षा सञ्चालन भइरहेको छ । तर, विद्यार्थीहरुका लागी पाठ्यपुस्तक आइ पुगेको छैन । पुरानो वचेको किताबबाट पढाउनु पर्ने बाध्यता रहेको शिक्षक विष्टले बताए । 

यता, जिल्लाको सदरमुकाम नजिकै रहेको सत्यवादी माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि अहिलेसम्म किताब पाएका छैनन् । किताब उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक लक्ष्मण प्रसाद उपाध्याले बताए । 



यता, वित्थडचिर गाउँपालिका शिक्षा शाखा प्रमुख मदन बमले आफहरुले निरन्तर पहल थालिरहेको भए पनि पर्याप्त पुस्तकहरु पालिकामा नआइपुगेको बताएका छन् ।  ‘वितरकहरुलाई खवर गरेको भए पनि वितरकले नै पाठ्यपुस्तक नभएको बताउने गरेका छन् । अहिले तत्काललाई विद्यालयलाई पुरानो किताबबाट पठनपाठन सञ्चालन गर्न भनेका छौँ,’ उनले भने ।’ 

पाठ्यपुस्तकविना नै पठनपाठन भइरहेको भए पनि त्यसले विद्यार्थीको नतिजामा ठूलो असर पार्ने वित्थडचिर गाउँपालिका शिक्षा शाखाका प्रमुख मदन बमले बताए ।



  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १८:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया