१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण, यी हुन्, शिक्षा मन्त्रालयका प्रमुख कार्य

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको सोचपत्र २०७९ को सार्वजनिक गर्दै मन्त्रालयले १३ हजारभन्दा बढी सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको निर्माण भएको बताएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले करिब २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दूतावास र विभिन्न दातृ निकायबाट गरी विद्यालयको पूर्वाधार निर्माण भएको उनले स्पष्ट पारे । 

बाँकी विद्यालयहरुको पूर्वाधार निर्माण ३ वर्ष भित्रमा गरिसक्ने लक्ष्य लिइएको बताउँदै मन्त्री पौडेलले बाँकी रहेका विद्यालयमा के–के पूर्वाधारको आवश्यक रहेको छ भन्नका लागि नक्सांकन सुरु गरिएको बताए । 

विद्यालय शिक्षासम्बन्धी विधेयक, उच्च शिक्षासम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयकहरुको मस्यौदा तयार भई सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए । 

त्यस्तै, शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन लगायतका अन्य नीतिगत तथा कानुनी सुधारका काम पनि भएको मन्त्रालयले जनाएको छ ।



मन्त्रालयले शिक्षक बढुवा र खुला पदपूर्तिको विज्ञापन गरी परीक्षा सञ्चालन भएको तथा बढुवाको नतिजा प्रकाशन भई सिफारिस समेत भइसकेको जनाएको छ । त्यसैगरी पढ्दै कमाउँदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा आएको बताएको छ । 

मन्त्रालयले ७७ वटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकालाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उल्लेख गरेको छ । 



आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयबाट सम्पादन भएका प्रमूख कार्यहरु

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षाको सोचपत्र, २०७९
नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियमावली, पन्ध्रौं योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टिगत उद्देश्य, राष्ट्रिय शिक्षा नीतिएवम् शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य समेतलाई दृष्टिगत गरी शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न सोचपत्र तयार गरिएकोछ । तेह्र खण्डमा विभक्त यस सोचपत्रमा विशेषगरी देहायका पक्ष समेटिएका छन् :
क)    खण्ड १ : प्रारम्भिक
•    विगतका अभ्यासःवि.सं. २००७ साल भन्दा अगाडि रहेका व्यवस्था,  वि.सं. २००७ देखि वि.सं. २०२७ सम्म भएका व्यवस्था, वि.सं. २०२८ देखि वि.सं. २०४६ सम्म भएका व्यवस्था, वि.सं. २०४७ देखि वि.सं. २०७१ सम्म भएका व्यवस्था, वि.सं. २०७२ देखि हालसम्म भएका व्यवस्था ।
•    शिक्षाका राष्ट्रिय उद्देश्यः शिक्षा नीतिले तोकेका १३ उद्देश्य रहेका ।
•    विद्यालय शिक्षाको संरचना
•    अन्तर्राष्ट्रिय व्यवस्था
ख)    खण्ड २ : यस खण्डमा दीर्घकालीन दृष्टिकोण एवम् सुधारका स्तम्भहरू प्रस्तुत गरिएको छ ।
•    दीर्घकालीन दृष्टिकोणः"शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति; सामाजिक न्याय, रूपान्तरण र समृद्धि" 
•    सुधार तथा परिवर्तनका स्तम्भहरुःदीर्घकालीन दृष्टिकोणअनुरूपको शिक्षा प्रणाली विकासकालागि नीतिगत, संस्थागत र कार्यक्रमगत रणनीतिहरू प्रस्तुत गरिएको छ ।
ग)    खण्ड ३-७ : प्रारम्भिक बाल विकास तथा शिक्षा, विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, अनौपचारिक तथा जीवनपर्यन्त शिक्षा, सम्बन्धी छुट्टाछुट्टैरूपमा विद्यमान अवस्था, नीतिगत, संस्थागत र कार्यक्रमगतरूपमा रहेका समस्या र चुनौती,दीर्घकालीन दृष्टिकोणअनुरूपको शिक्षा प्रणाली विकासकालागि नीतिगत, संस्थागत र कार्यक्रमगत रणनीति, राष्ट्रिय उद्देश्य, १५ वर्षमा गरिने रूपान्तरणको क्षेत्र र अपेक्षित उपलब्धि तथा सुधारका कार्यहरू प्रस्तुत गरिएको छ ।
घ)    खण्ड ८-१३ : यी खण्डमा विविध, शिक्षामा लगानी, विभिन्न निकाय (संघ, प्रदेश र स्थानीय तह) को भूमिका, अपेक्षित उपलब्धि, सोचपत्रको कार्यान्वयनसम्बन्धी व्यवस्था र जोखिम तथा अवरोध प्रस्तुत गरिएको छ ।

शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालयसम्बद्ध आवधिक तथा वार्षिक कार्यक्रमः शिक्षासम्बन्धी सरकारका आवधिक तथा वार्षिक लक्ष्य तथा कार्यक्रम सम्बन्धमा सरोकारवालाहरुलाई जानकारी गारउने उद्देश्यले तयार गरिएको
मन्त्रालयको आव २०७८।७९ को वार्षिक प्रगति प्रतिवेदनः वार्षिक कार्यक्रमअनुसार मन्त्रालयबाट वर्षभरिमा गरिएका अनुगमन तथा हासिल गरिएको उपलब्धी समेटी सम्बन्धित पक्षलाई जानकारी गराउने उद्देश्यका साथ तयार गरिएको ।

आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयबाट सम्पादन भएका प्रमूख कार्यहरु
क)    नीतिगत तथा कानूनी सुधारएवम्योजनानिर्माणसम्बन्धी
•    विद्यालय शिक्षा सम्बन्धी  विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक,  प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारुप सम्बन्धी विधेयक र एकिकृत स्वास्थ्य शिक्षा सम्बन्धीविधेयकको मस्यौदा तयार भई सहमतिका लागि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयमा संप्रेषण भएको ।
•    शिक्षक सेवा आयोग नियमावलीको ११ औँ संशोधन भएको ।
•    ‍आर्थिक वर्ष २०७९/८० देखि कार्यान्वयन हुने गरी दस वर्षे विद्यालय शिक्षा क्षेत्र योजना (SESP 2022-2030) स्वीकृत भएको ।
•    लेटर ग्रेडिङ् निर्देशिका-२०७८, पढदैँ कमाउदै कार्यक्रम सञ्चालन कार्यविधि- २०७८, विपन्न लक्षित छात्रवृत्ती कार्यान्वयन मापदण्ड-२०७८, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली -२०७८ र परम्परागत शिक्षण सँस्था सञ्चालन तथा व्यवस्थापन मापदण्ड-२०७८ स्वीकृत भई कार्यान्वयन भएको ।
ख)    पूर्वाधार विकास सम्बन्धी
•    सामुदायिक विद्यालयमा कक्षाकोठा निर्माण-५,९८० विद्यालय निर्माण गरिएको ।
•    डिजिटल पुस्तकालय/ आईटी ल्याव व्यवस्थापन-२,१८१ विद्यालयमा भएको ।
•    भुकम्पबाट क्षति भएका ७,५८३ ओटा विद्यालयमध्ये थप ६६१ ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भई हालसम्म कुल ७,२७५ ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भएको ।
•    थप १,०१२ ओटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको ।
•    शिक्षक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भै चितवन जिल्लामा निर्माण गर्न जग्गा प्राप्त हुने क्रममा रहेको ।
ग)    शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानएवम् पेशागत विकास सम्बन्धी
•    शिक्षक बढुवा (३,३०९ जना) र खुला पदपुर्ति (१७,२५१ जना) को विज्ञापन गरी परीक्षा सञ्चालन भएको ।बढुवाको नतिजा प्रकाशन भई सिफारिस भैसकेको ।
•    निम्नमाध्यमिक तथा माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको विज्ञापन भई माध्यमिक तहको नतिजा समेत प्रकाशन भइसकेको । माध्यमिक तहमा ३९.९६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका ।
•    दरवन्दि मिलानका लागि स्थानान्तरण हुनु पर्ने १२,८३५ जना शिक्षकमध्ये ९,९८६ शिक्षकको स्थानीय तहभित्र तथा जिल्लान्तर सरुवा गरी मिलान सम्पन्न भएको ।
•    न्युन शिक्षक दरवन्दी आपूर्तीका लागि माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका ४,७५० जना र आधारभूत तह कक्षा ६-८ मा २,६०० जना गरी ७,३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको ।
•    कूल २१,००० शिक्षकका लागि सेवाकालिन पेशागत तालिम सञ्चालन गरिएको ।
घ)    पाठ्यक्रम, पाठ्यपुस्तकतथासिकाइसामग्रीसम्बन्धी
•    कक्षा १० को ४,९६९ र कक्षा १२ को ८,०८० प्रमाणपत्रलाई मान्यता तथा समकक्षता प्रदान गरिएको।
•     कक्षा १ देखि १२ सम्मको १०२८ पाठ्यसामग्रीको मूल्याङ्कन र ८११ वटा पाठ्यसामग्री स्वीकृत भएको।
•    संस्कृत तथा गुरुकुलतर्फकक्षा ७ का ४ विषय  र कक्षा ९का अनिवार्य संस्कृत भाषाव्याकरण, कर्मकाण्ड र सिद्धान्त ज्योतिष विषयको पाठ्यपुस्तक विकासभएको।
•    गोन्पा शिक्षा १- ८ का पाठ्यक्रम विकास गरिएको, कक्षा ९ को गोन्पा शिक्षा र कक्षा ४ को किरात मुन्धुम शिक्षाको पाठ्यपुस्तक विकास भएको।
•    प्राविधिक तथा व्यावसायिक धार तर्फ माध्यमिक तहका २१ वटा र मदरसा शिक्षा कक्षा ११ र १२ का ३ ओटा पाठ्यक्रम विकास भएको ।
•    कक्षा ४ र ५ तथा कक्षा ६ देखि ८ सम्म २ वटा समावेशी तथा अपाङ्गमैत्री मूल्याङ्कन ढाँचा विकास  भएको।
•    खुला विद्यालय तर्फ कक्षा ११ र १२ को एकवर्षे संश्लेषित पाठ्यक्रम (Condensed Curriculum) विकास भएको।
•    शैक्षिक सत्र २०७९ मा कक्षा ९ सम्मका बालबालिकाहरूका लागि रंगिन पाठ्यपुस्तक वितरण भएको ।
•    कक्षा ४, ७ र ९ मा शैक्षिक सत्र २०७९ बाट नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन भएको ।


ङ)    सिकाइमा सूचना प्रविधि र पाठ्यसामग्री सम्बन्धी
•    सिकाई पोर्टलको विकास गरी  श्रव्य तथा श्रव्यदृष्य पाठ उत्पादन कार्य शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत जारी गरिएको ।
•    श्रव्यदृष्य पाठ NTV+ बाट तथा Dishhome, Max TV, Mero TV, NET TV ‍र Clear TV को School Education च्यानलबाट र रेडियो नेपाल तथा देशभरका करिव २०१ वटा भन्दा बढी सामुदायिक रेडियोहरूमार्फत समेत श्रव्य पाठहरुको नियमित प्रशारण भएको ।
•    ७ वटा प्रदेशमा डिजिटल लर्निङ सेन्टर स्थापना गरिएको ।
च)    प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्बन्धी
•    Event परियोजनाबाट कूल १७,५०० जनालाई छोटो अवधिको र ९४०जनालाई लामो अवधिको तालिम सञ्चालन गरिएको ।
•    ५९ वटा TECS स्कूललाई ICT Support गरिएको ।
•    कूल ५० विद्यालयका १००० जनालाई Job Placement सहायता प्रदान गरिएको ।
•    CTEVT बाट लक्षित समुदायका ५६० जना प्रशिक्षार्थीका लागि छात्रवृत्ति वितरण गरिएको ।
•    कूल २,५२४ जना प्रशिक्षक/कर्मचारीलाई TITI द्धारा तालिम सञ्चालन गरिएको ।
•    ५८,७३७ जनाको सीप परीक्षण भएको ।
•    प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्देशिका विकास गरिएको ।
•    प्रिडिप्लोमा तहका ३ वटा र छोटो अवधिका १ वटा पाठ्यक्रम निर्माण तथा  डिप्लोमा तहका १४ वटा र प्रिडिप्लोमा तहको ५ वटा पाठ्यक्रम परिमार्जन गरिएको ।
•    सक्षमता परियोजना अन्तरगत e-learning portal मा कूल ७३ वटा सिकाइ सामग्री Upload 
•    सीप विकास तालिममा संलग्न ६५ वटा संस्थाको स्तरोन्नति भएको ।
छ)    अनौपचारिक शिक्षा तथा साक्षरता सम्बन्धी
•    आर्थिक वर्ष २०७८/७९ मा अछाम, काठमाडौं, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु , कैलाली,  बाजुरा र बाँके जिल्ला साक्षर घोषणा भई हालसम्म ६१ जिल्ला साक्षर घोषणा भएको ।
•    हालसम्म गण्डकी र वागमती प्रदेश पूर्ण साक्षर प्रदेश घोषणा भएको ।
•    प्रदेश नं. १ का सबै जिल्ला साक्षर घोषणा भई साक्षर प्रदेश घोषणा हुने चरणमा रहेको ।
ज)    उच्चशिक्षासम्बन्धी
•    उच्च शिक्षाको गुणस्तर सुधारको लागि उच्च शिक्षामा विशिष्टता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको ।
•    ‍आ.व. २०७८/०७९ मा थप ४ ओटा सहित ६४ वटा उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको ।
•    १,१३,२०० जनालाई वैदेशिक अध्ययन अनुमति पत्र प्रदान गरिएको ।
झ)    नियुक्ति सम्बन्धी
•    शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति भएको ।
•    राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति भएको ।
•    खुला विश्वविद्यालयको उपकुलपति नियुक्ति भएको ।
•    खुला विश्वविद्यालयको कुलसचिवनियुक्ति भएको ।
ञ)    विज्ञानतथाप्रविधिसम्बन्धी
•    राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्रदान गरिने सेवालाई विकेन्द्रित गर्न लुम्बिनी प्रदेशको रुपन्देहीमा विधि विज्ञान प्रयोगशाला स्थापना भएको ।
•    जनमानसमा विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई प्रवाह गर्ने उद्देश्य अनुरुप नेपाल टेलिभिजनबाट आजको विज्ञान कार्यक्रम पाक्षिक रूपमा प्रसारण भएको ।
•    विधि विज्ञान सम्बन्धी परीक्षणका लागि प्रहरी तथा अदालत लगायतबाट प्राप्त भएका ६ सय ८० केशका २ हजार ३ सय ५ नमूनाहरुको परिक्षण गरी परीक्षण प्रतिवेदन सम्बन्धित निकायमा  संप्रेषण गरिएको ।
•    रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनमा भएको व्यवस्था बमोजिम नियमनकारी निकायको गठन गर्न संगठन संरचना तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा संप्रेषण गरिएको ।
•    रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ तथा नियमावली, २०७८ बमोजिम निर्देशिका तयार गरिएको, PET-CT सञ्चालन तथा Industrial Radiological Facility सञ्चालनको लागि मापदण्ड तयार, Nuclear Medicine Facility ( PET-CT) संयन्त्रको इजाजत पत्र पूर्वाञ्चल क्यान्सर हस्पिटल, विर्तामोड, Industrial Radiological Facility को इजाजत पत्र ह्वानसिन सिमेन्ट प्रालि र शिवम् सिमेन्ट प्रालिलाई प्रदान गरिएको ।
•    अक्सिजन सिलिण्डरको निर्माण र लोड क्यापासिटी परीक्षण गरिएको ।
•    नेपाली नानो–स्याटेलाइट (Nep SAT-1) प्रक्षेपण सम्पन्न र दोस्रो स्याटेलाइट डाँफे प्रक्षेपणका लागि कार्य जारी रहेको ।
•    अवैध व्यापार क्रममा समातिएका पाटेबाघ, चितुवा, ध्वाँसे चितुवा,हिँउ चितुवा र सिंहको खप्पर सहजरुपमा पहिचान भएको ।
•    डीएनए विधिबाट भ्रुणको पितृत्व पहिचान (Prenatal paternity) ।डीएनए विधिबाट लिंग यकीन गरिने सेवा सञ्चालन । Amniotic fluid, femur, hydatidiform mole आदि जस्ता नमुना समेतबाट पितृत्व पहिचान भएको ।
•    नवप्रवर्तन कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको संभाव्यता अध्ययन गरी निर्माण सम्पन्न भएको ।
•    परीक्षण गरी फ्याँकिएका प्लास्टिकलाई इन्धनमा परिणत गरिएको ।
ट)    सेवा प्रवाह तथा  शैक्षिक सुशासन सम्बन्धी
•    निवृत्त शिक्षकहरूको निवृत्तीभरण अधिकार पत्रको पाना सकिएमा, हराएमा, पारिवारिक निवृत्तीभरण अधिकार पत्र  लगायत निजले पाउने अन्य सेवा सम्वन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त हुने व्यवस्था कार्यान्वयन भएको ।
•    राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका  शिक्षक तथा कर्मचारीका विषयमा गठित जाँचबुझ समिति २०७३ ले २३३ जना शिक्षकलाई पुनर्वहाली गर्न, १८ जनालाई नियुक्ति गर्न,  ४१ जनालाई सेवा निवृत्त सुविधा दिन र २८४ जनालाई अस्थायी सुविधा प्रदान गर्न सिफारिस गरेकोमा प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकार मन्त्रिपरिषद्बबाट निर्णय भई कार्यान्वयन जारी रहेको ।
•    कूल ४,७२६ जना शिक्षकलाई अवकाशपछि पाउने निवृत्तिभरण सुविधा भुक्तानी तथा २५५ जनालाई उपदान वापतको रकम भुक्तानी गरिएको ।
•    ६३२ पालिकाहरूको तलवी प्रतिवेदन पारित गरिएको ।
•    ८७,५३२जना शिक्षकहरूको आ.व.२०७७/७८ को सम्पत्ति विवरण दर्ता भएको ।
•    राष्ट्रिय परीक्षा वोर्ड (पहिलो संशोधन) नियमावली,  २०७८ जारी गरी कक्षा १० को एसइइ परीक्षा प्रदेश गतरुपमा सञ्चालन तथा व्यवस्थापन गरिएको ।
•    एक लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनको लागि सहमति पत्र उपलब्ध गराइएको ।
•    ९१ जना विद्यार्थीलाई प्राविधिक विषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको ।
ठ)    विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षणसम्बन्धी कार्य
•    National Assessment on Student Achievement (NASA) Policy Guideline, 2022 जारी गरिएको
•    सुधार कार्य योजना (Reform Action Plan), २०७९ : NASA बाट प्राप्त सुझाव कार्यान्वयनका लागि कार्ययोजना तयार भएको 
•    विद्यालय कार्यसम्पादन परीक्षण: प्रतिवेदन संश्लेषण (Capsule Report), २०७९: (प्रत्येक विद्यालयले हासिल गरेको प्राप्ताङ्क एवम् मेरीटका आधारमा विद्यालयको श्रेणीकरण वा ranking list को औपचारिक प्रकाशन गर्न) तयार गरिएको 
•    राष्ट्रिय प्रारम्भिक कक्षा पठनसीप आधारसूचक, २०७९ तयार गरिएको (प्रारम्भिक कक्षा कक्षा-१, २ र ३ मा अध्ययनरत विद्यार्थीहरुको पठनसीप प्रबर्धन गरी उनीहरुको समग्र भाषिक क्षमतामा गुणात्मक सुधार गर्न)
•    
ड)    अन्य
•    ७७ ओटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकाहरूलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाइएको ।
•    सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि बजेट निकासा गरिएको ।
•    पढदैँ कमाउदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा ल्याइएको ।
•    तोकिएको आधारमा विद्यालय देखि उच्च शिक्षा तहसम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणको व्यवस्था मिलाइएको ।
•    ‍थप २० स्थानीय तहमा प्राविधिकधारको विद्यालय स्थापना गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गरिएको ।
•    शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह कक्षा ९-१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरू छनौट गरी छात्रवृत्ति वितरण गरिएको ।
•    चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शिक्षा अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको ब्याच २०२२ का लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गरिएको ।
•    पुस्तकालय दिवस, अन्तर्राष्ट्रिय साक्षरता दिवस,नवौँ राष्ट्रिय विज्ञान दिवस, राष्ट्रिय योग दिवस र अन्तर्राष्ट्रिय योग दिवस मनाइएको ।

ढ)    आव २०७९।८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थानीय तहगतरुपमा वितरण
•    आ.व. २०७९।०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका कार्यक्रमहरुको विवरण
क्र स    कार्यक्रम    हिमाल    पहाड    तराई    जम्मा    जम्माबजेट रु हजारमा
१    ४ कोठे भवन    १४२    ३८०    ४८३    १००५    ४८५४५००
२    २ कोठे भवन    १५४    ४३६    ४२५    १०१५    २४६९७५०
३    आइसिटी    २८२    ५७४    ५९९    १४५५    ९४५७५०
जम्मा    ५७८    १३९०    १५०७    ३४७५    ८२७००००

•    प्रदेशगत विवरण
क्र स    प्रदेश    २ कोठेभवन    ४ कोठेभवन    ICT    जम्मा
१    १    १८८    १६८    २५०    ६०६
२    मधेश    २१२    १९५    १९५    ६०२
३    बागमती    १४    ४७    २३२    २९३
४    गण्डकी    १४६    ११९    १७६    ४४१
५    लुम्बिनी    १६२    १९७    २३९    ५९८
६    कर्णाली    १३९    १३४    १७४    ४४७
७    सु.प.    १५४    १४५    १८९    ४८८
जम्मा    १०१५    १००५    १४५५    ३४७५

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार २१:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया