logo-img

गगन थापा भन्छन् - कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आयो
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरू निर्वाचनको गोल चक्करमा मात्रै सीमित भएको बताए । 


‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । पार्टीलाई ठिक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुने भयो ।  केको लागि पार्टी भन्दा जनमत, केको लागि गठबन्धन भन्दा चुनाव जित्न को लागि यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन् । सबै सिस्टम नै के हुन लाग्यो भने चुनावमय भयो ।’ 

महामन्त्री थापाले पार्टी भित्रका नेताहरूले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको जिकिर गरे । उनले युवाहरूको समर्थनले आफूमा यस्ता विकृतिहरूलाई चिर्ने सासह थपिएको भन्दै युवाहरूलाई निराश नबनाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

‘हाम्रो आफ्नै पार्टी भित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ ।  सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढङ्गले हेरिएन भन्नेछ,’ थापाले भने, ‘यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको छ । यसको लागि युवाहरूको उपस्थितिले तागत बढाएको छ । युवाहरूलाई निराश बनाउँदिन ।’

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासीन बनेको बताए । उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको बताए ।



महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्ने बताए । उनले सरकारसँग देशभरको डेंगु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरू कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकिर गरे । उनले आफू स्वास्थ्य मन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरूले अस्पतालको शैय्यामा सुति सकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी गरे ।

‘आज आफ्नै सरकारको बारेमा भन्नुपर्दा, सरकार कसैको हुँदैन, सरकार देश र जनताको हुन्छ । मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, त्यो पार्टी भित्रको कुरा हो, तर आज प्रधानमन्त्री त सिंगो देशको हो । आजको दिनमा मूल काम भनेको यत्रो प्रकोप फैलिसक्यो,’ उनले भने, ‘चाडबाडको बेलामा यस्तो अस्तव्यस्त भएको छ, तत्काल प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक बोलाएर, स्थानीय सरकारको साथीहरूलाई बोलाएर एकै ठाउँमा बसेर देशभर सङ्क्रमणलाई कसरी घटाउने, यसको रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा सरकारले छुट्टै अभियान सञ्चालन गर्नुपर्छ । सरकारको यो जिम्मेवारी हो ।’



महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरूले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए । उनले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सीमित भएको बताए । 

  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया