[पुस्तक समीक्षा] 'प्रश्न' माथि केही प्रश्न
चन्द्र घिमिरे
फरकधार / २६ असोज, २०७९

करीब १ वर्षदेखि नजुरेको साइत मलाई बल्लतल्ल जुर्यो । दशैं २०७९ को छिपछिपे शुरूवाती दिन छोपेर । लामो समयदेखि धोको अधुरो रहेथ्यो- उदय अधिकारीको पुस्तक 'प्रश्न' पढ्ने । नढाँटी भन्दा, मैले करीब-करीब कुटाइ खान मात्रै बाँकी थियो लेखक उदयबाट । पढ्छु भन्दै नपढ्ने अल्छे म परेँ ! र पढेर कमेन्ट सार्वजनिक गर भन्दै ढिपी गर्न नछोड्ने उदय परे । यसबीच तनाव बगेको एउटा खोलो नै थियो ।



  ​सोलोडोलोमा भन्नु पर्दा, 'प्रश्न' निकै ओजपूर्ण लाग्यो जस्तो अरु धेरैलाइ पनि यस्तो लाग्न सक्छ ।हरेक पेजमा भरपूर झल्किने लेखकको बौद्धिकता र मिहेनत जो-कसैकालागी आँखालाग्दो छ । समकालीन ६ लेखकहरू (अभि सुवेदी, नारायण ढकाल, सरूभक्त, श्यामल, श्रवण मुकारूङ र मनु मन्जिल) सँग गरिएको अलगअलग अन्तर्वार्ताको यो सँगालो नपढे उदयको त थाहा भएन तर जिज्ञासु पाठकले धेरै थोक गुमाउँछ ।​

शंकै छैन, उदय हाम्रा समयका सबैभन्दा अब्बल पाठकमा पर्छन् । म जस्ता अल्छेलाई पढ्न उत्तेजित बनाई रहन्छन् । पढ्न त अरूले पनि पढ्दा हुन् तर अरूले उदयले झैं बाटो ढुकीढुकी पढ्न अरूलाई कमै उक्साउलान् ! उदय 'क्लासिक' र समकालीक लेखक र तिनको लेखनप्रति आँखा तिखो गाडेर चीलझैँबसेका प्राणी हुन् । विश्व साहित्य छापिएको झण्डै २० वर्ष पछि मात्रै  (कतिपय नेपाली लेखकका हकमा यो लागू हुन्छ) पढ्नेहरूको भीँड माझ उदय यस्ता अपवाद हुन् जो विदेशी नयाँ किताबको समेत सकभर पहिलो संस्करण नै पढ्न भ्याउँछन् । म त भन्छु, किताबका दुव्यर्सनीलाई जेल पठाउने दिन आएमा उदय पहिलो खेपमै लामो समयका लागि जेल पस्छन् । 



चन्द्र घिमिरे'प्रश्न'को सबैभन्दा राम्रो पक्ष, छानिएका नेपाली साहित्यका ६ वटै नामहरू पढ्न र सुन्न कुतकुती लगाउने खाल्का छन् । कतिपय ठाउँमा लेखकहरूका लुकेका कथा वा प्रसङ्गहरू उघार्ने काममा उदय सिपालु देखिन्छन् । अर्को गज्जब, लेखकसँग उदयले सँगत गर्दा लेखकसँग आँफैले देखेका भोगेका खट्टामिठ्ठा 'आँखोदेखा हाल'हरूबाट हरेक अन्तर्वार्ता अघि बढ्छ । त्यसले गर्दा अन्तर्वार्ता पढ्नु अघि नै लेखकको आनीबानी पाठकको दिमागमा जब्बरसँग उभिन्छ र कस्तो जवाफ फर्काउलान भन्ने कल्पना ह्वात्तै बढ्न थाल्छ । त्यस्तै, उदय फुर्तिला छन् । सबै लेखकहरूलाई उदयले एउटै नम्बरको जुत्ता लाउन दिन्नन अर्थात एउटै 'टेम्प्लेट' मा झर्को लाग्ने प्रश्न सोध्दैनन । फरक लेखकका फरक कथा हुन्छन् । त्यस्लाई खोतल्न फरक लेखकलाई फरक गोली ठोक्छन् उदय । प्रश्नहरू तिखा र लेखकलाई सकभर उम्कन नदिने खाल्का छन् । अन्तमा योपनि नभनि हुन्न, यत्तिको धारिलो प्रश्न साह्रै थोरैले गर्ने हैसियत राख्छन् नेपालतिर । यहाँ 'जनता जान्न चाहान्छन्' भन्दै टिभीतिर कुर्लिने धमलाको कुरा गरेको हैन मैले ।   



अब अलि खस्रामसिना कुरा पनि गरुम् । 'कभर'मा लेखकहरूको फोटोको क्रम (Cronology) पुस्तक भित्रको क्रमसँग नमिलेको देखिन्छ । दोश्रो, पुस्तकको नाम 'प्रश्न' भन्दा अब्बल जुराउन सकिन्थ्यो होल तर शव्दको जँगलबाट सोको खोजी नगरेको भान हुन्छ । तेस्रो, लेखकले 'लेखकीय' परिच्छेद जानीजानी छुटाएको देख्दा पाठकलेकेही नपाए-नपाए जस्तो अनुभव गर्छ । यहाँनेर सम्पादक वा अन्तवार्ताकारको भनाई जान्न आतुर पाठकको रहर मरिगए पूरा हुन्न ।  

यी लेखकहरूलाई मन परेको देशी-विदेशी किताबको सूची पढिसकेपछि मेरो दिमागमा उब्जिएको एउटा प्रश्नको जवाफ कतै भेटिएन, यो देशमा किन यी सबै लेखकहरू एउटै किताब पढ्छन्? अहिलेको संसारमा किताबमाथिको पहुँच यति खुला हुँदापनि तिन-तिनै किताब र लेखकहरू मात्रै पढ्न पर्ने र मन पर्नु पर्ने यो कस्तो बाध्यता यी ६ लेखकहरूलाई आईलागेको हो ? के तिनीहरू 'आउट अफ बक्स' जान नसकेकै हो त? अरू त अरू, प्रश्नकर्ता उदयपनि तिनै 'स्टेरियोटाइप' बाट बाहिर निस्कन नखोजे जस्तो भान हुन्छ। अर्को, कतिपय लेखकहरूले केही ठाउँमा 'सेल्फ-कन्फेसन' व्यक्त गरेका छन् जसले पाठकलाई अवश्य चरमसुख दिन्छ । तर कतिपय ठाउँ ठिक उल्टो देखिन्छ । अर्थात आत्मस्विकारोक्ती गर्नुको साटो कतिपयले राजनीतिक भाषा प्रयोग गरेका छन् । हुँदाहुँदा केही लेखकहरूले त आत्मश्लाघा वा 'नार्सिसिस्ट' को भाषापनि बोलेका छन् । यस्तो सुविधा उदयले किन दिए? त्यो बुझ्न सकिएन । अर्को कुरो, सँग्रहभित्र कतैकतै भाषा चिप्लेकोसामान्य पाठकले देख्न पाउँछ । यसबाट सम्पादनमा समय नपुगेकोपनि देखाउँछ । अन्तिममा, ६ लेखक छान्दा के आधार अपनाईयो कतै भनि दिएको भए हुन्थ्यो भन्ने खसखस पाठकलाई लाग्ने सानो भ्वाङ्ग छोडेका छन् उदयले । 

जेहोस्, नेपाली साहित्यका ६ चर्चित लेखकहरूलाई गहिरोसँग चियाउने साह्रै चखिलो अवसर दिएकाले उदयको यो सँग्रह लोभलाग्दो बनेकोछ । यसकालागि उदयलाई साधुबाद नदिए पाठक-धर्म पूरा हुन्न ! साथै उदयले यसखाले कृति थप ल्याउँदै छन् भन्ने अपेक्षा बजारले गर्दा उदयलाइ पनि अन्याय हुन्न ।

  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १०:३८:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया