टी-२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध न्यूजिल्याण्डको फराकिलो जित

न्यूजिल्याण्डले अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ८९ रनले हराउँदै गत संस्करण उपविजेता न्यूजिल्याण्डले विजयी सुरुवात गरेको हो । गत च्याम्पियन अस्ट्रेलियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८, प्याट कमिन्सले २१, मिचेल मार्शले १६, कप्तान आरोन फिन्चले १३ र टिम डेविडले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

न्यूजिल्याण्डका लागि मिचेल सान्टनर, टिम साउदीले तीन/तीन, ट्रेन्ट बोल्टले दुई, लकी फर्गुसन र इश सोढीले एक/एक विकेट लिए । त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय रन बनायो । उसका लागि ओपनरद्वय डेभन कन्वे र फिन एलनले उत्कृष्ट पारी खेले ।

५८ बलको सामना गरेका कन्वेले सात चौका र दुई छक्कासहित अविजित ९२ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो सातौं अर्धशतकीय पारी हो । त्यस्तै, एलनले १६ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४२ रनको योगदान दिए । अविजित रहेका अलराउन्डर जिमी नीशमले १३ बलमा दुई छक्काको मद्दतमा २५ रनको आक्रामक पारी खेले । 

त्यस्तै, कप्तान केन विलियम्सन २३ र ग्लेन फिलिप्स १२ रनमा आउट भए । अस्ट्रेलियाका लागि जोस हेजलउडले दुई र एडम जम्पाले एक विकेट लिए ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १६:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया