न्यूजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा

न्यूजिल्याण्ड अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा आयरल्याण्डलाई ३५ रनले हराउँदै न्यूजिल्याण्ड समूह ‘१’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । 

आजको हारसँगै आयरल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा न्यूजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

उसका लागि पउल स्टर्लिङले ३७, कप्तान एन्डी बलबर्नीले ३०, जर्ज डकरेलले २३, लोर्कन टकरले १३ र ग्यारेथ डेलानीले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

न्यूजिल्याण्डका लागि लकी फर्गुसनले तीन, टिम साउथी, मिचेल सान्टनर र इश सोधीले एक/एक विकेट लिए । त्यसअघि एडिलेड ओभलमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो ।

उसका लागि कप्तान केन विलियमसनले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेल्दा डारिल मिचेल ३२ रनमा अविजित रहे । फिन एलनले ३२, डेभन कन्वेले २८ र ग्लेन फिलिप्सले १७ रन जोडे ।

आयरल्याण्डका लागि जोश लिटिलले ह्याट्रिक लिए । उनले १९ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा ह्याट्रिक लिएका हुन् । ​लिटिलले केन विलियम्सन, जिमी नीशम र मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।



जारी विश्वकपमा उनी ह्याट्रिक लिने दोस्रो बलर हुन् । यही विश्वकपमा श्रीलंकाविरुद्ध यूएईका स्पिनर कार्तिक मयप्पनले ह्याट्रिक लिएका थिए ।ग्यारेथ डेलानीले दुई तथा मार्क आदिरले एक विकेट हात पारे ।



  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १३:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया