कमल थापालाई प्रश्न - स्वार्थका लागि धरातल बिर्सिनुभयो, ‘सूर्य’ रोज्दा कति सहज छ ? [अन्तर्वार्ता]

मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको माहौलले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा रौनकता छाइरहेको छ । २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधि सभा १ का लागि मात्रै १६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

जसमध्ये सत्ता गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह र सूर्य चिन्हबाट निर्वाचनमा होमिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा बीचमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । त्यसो त, आफ्नो पार्टीको झण्डा नै बिर्सिएर नेकपा एमालेको सूर्य चिन्हको झण्डा बोक्दै, सूर्यमा मत दिएर आफूलाई जिताउनको लागि अपिल गर्दै नागरिकको घरदैलोमा पुगिरहेका थापाको चर्चा यति बेला व्यापक छ । 

तिनै थापा सँग निर्वाचन सम्बन्धी विषयमा केन्द्रित रहेर फरकधारकर्मी सुनिता विष्टले गरेको कुराकानी :

सूर्य चिन्ह बोकेर जनताको घरदैलोमा पुगिरहनु भएको छ, कस्तो हुँदै छ चुनवी अभियान ?
पक्कै पनि निकै राम्रो भइरहेको छ । सूर्य चिन्हले मलाई खुलेर मत माग्न सहज बनाएको छ । निर्वाचनको दिन आउनै लागिसकेको कारण अहिले घरदैलो, भेटघाट र छलफलमा जुटिरहेका छौँ । जनताको घरदैलोमा जाँदा पनि उत्साहका साथ मलाई गर्नुभएको स्वागत सत्कारले मलाई अझै ऊर्जा थपिरहेको छ । सूर्य चिन्हमा मत मागिरहँदा मकवानपुर १ का मतदाताहरू पनि निकै उत्साहित भइरहेको मैले अनुभव गरेको छु । 

चुनाव जित्न के छन् एजेन्डा ?
राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धि हाम्रो मुख्य एजेन्डा हो । र यस क्रममा केन्द्रमा एउटा बलियो राष्ट्रवादी शक्तिको निर्माण र मकवानपुर जिल्लाको नमुना लायक विकास हाम्रो मुख्य प्राथमिकतामा छन् । 

तपाईँले आफ्नो पार्टीको झण्डा छाडेर सुर्य रोज्नुको कारण के हो ? स्वार्थ पूरा गर्नकै लागि आफ्नो धरातल नै बिर्सिएको भन्छन् नि मान्छेहरूले ? 
मलाई लाग्छ यो नबुझेर यस्ता प्रश्नहरू आइरहेको छ । नेपालको वर्तमान कानुन अर्थात् राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले दुई वा दुई भन्दा बढी दलहरू मिलेर साझा चुनाव चिन्ह लिएर चुनाव लड्न पाउने व्यवस्था गरेको छ । त्यही अनुसार हामीले नेकपा एमालेसँग सहकार्य गरेका हौँ ।



मैले सूर्य चिन्ह लिएर उम्मेदवारी दिएको हुँ । मैले यसरी उम्मेदवारी दिनु कुनै नौलो अभ्यास पनि होइन । विगतमा पनि यस्तो अभ्यासहरू भएको छ । यही चुनावमा पनि अन्य राजनीतिक दलहरूले एक आपसमा मिलेर साझा चुनाव चिन्ह लिएर निर्वाचनमा गएका छन् । 

जित्नकै लागि भनेर सूर्य रोज्दा त्यो कति सहज छ ?
मेरो प्रतिस्पर्धा नै गठबन्धनसँग हो । अहिले यो मकवानपुर क्षेत्र नम्बर १ को माहौल जुन छ । यो माहौललाई हेर्दा, साथसाथै मकवानपुरका जनताको भावनालाई दृष्टिगत गर्दा हामी चुनावमा अत्यधिक बहुमतले विजय हासिल गर्छौँ । विगत ३० वर्षदेखि नेकपा एमाले सबैभन्दा राम्रो जनमत भएको दलको रूपमा रहेको छ । 



साथै हाम्रो पनि लोकप्रिय मत रहँदै आएको छ । यो स्थितिमा नेकपा एमाले र राप्रपा नेपालको सहकार्य भएपछि अब हामीले सहजै जित हासिल गर्दछौँ । पहिलो हामी भइसकेपछि दोस्रो नम्बरमा को आउँछ भन्ने कुरा हामीलाई थाहा छैन । त्यसका लागि हामी चुनावी अभियानमै छौँ । जितको पूरा विश्वासका साथ हामी जनताको घरदैलोमा पुगिरहेको अवस्था छ । 

तपाईँलाई टिकट दिइएको भन्दै एमालेकै कार्यकर्ताहरू रुष्ट छन्, त्यसले तपाईँलाई कति असहज छ ? 
वास्तवमा अहिले देशको जुन किसिमको अवस्था छ । त्यसलाई दृष्टिगत गर्दा नै हामीले यो सहकार्य गर्ने निर्णयमा पुगेका हौँ । अहिले देशी विदेशी शक्तिहरूले नेपालको राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । त्यस अर्थ एउटा बलियो राष्ट्र शक्तिको निर्माण गर्ने जुन प्रयास छ । 

यो प्रयासलाई दृष्टिगत गर्दै एमाले मतदाता मात्रै नभई आम मकवानपुरे जनताको मत प्राप्त हुने छ भन्ने अपेक्षा पनि लिएको छु । आफ्नो पार्टीका व्यक्तिले पाउनु पर्ने टिकट मलाई दिनु भनेको कार्यकर्ता तथा एमाले प्रेमीको लागि दुःखको कुरा पनि हो । तर हिजोको जस्तो नराम्रो अवस्था छैन । उहाँहरूले पार्टीको स्पष्ट धारणा बुझिसक्नु भएको छ । 

अघिल्लो निर्वाचनमा सँगै सहयात्रा गर्नुभएको राप्रपाका दीपक सिंह प्रतिस्पर्धामा हुनुहुन्छ, यसले पनि चुनौती थपिएला नि ? 
मेरो प्रतिस्पर्धा गठबन्धन सँग मात्रै हो । उहाँले किन उम्मेदवारी दर्ता गर्नुभयो म जान्दिनँ । अस्ति मेयर मा पनि उम्मेदवारी दिनुभएको थियो हार्नुभयो । अहिले पनि उम्मेदवारी दिनु भएको छ । यो बारेमा मलाई केही थाहा छैन । उहाँको उम्मेदवारीले मलाई कुनै प्रभाव पार्दैन । आफ्नो जनमत नै नभएको पार्टीको उम्मेदवारीले मलाई असर गर्ला जस्तो लाग्दैन ।  

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १४:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया