logo-img

मकवानपुर–२ (ख)को अंकगणित : कांग्रेसका बानियाँ १६ हजार मतले अगाडि

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएकाहरुले यतिबेला चुनावी सभा तथा घरदैलोलाई तीव्रता दिइरहेका छन् । निर्वाचन नजिकिएसँगै कुन उम्मेदवारले जित्छन् भन्नेबारे अड्कलबाजी समेत हुन थालेको छ । 

यसक्रममा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतलाईसमेत आधार बनाई विश्लेषण भइरहेको छ ।

दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर २ को (ख)मा अघिल्लोपटकभन्दा यसपटक फरक गठजोड बनेको छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लोभन्दा फरक बनाएको हो । 

०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए ।
 
अघिल्लो चुनावमा नेकपाको उम्मेदवारलाई एक्लै पराजित गरेका बानियाँलाई योपटक माओवादी र एमालेबाट फुटेर बनेको समाजवादीको पनि साथ थपिएको छ । जसले उनलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ । यही तथ्यांक र यो अवधिमा उनले गरेको विकासको कामलाई आधार बनाएर बानियाँको सहज जित हुने विश्लेषण सर्वसाधारणमा हुने गरेको छ । 

०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाए । यो निर्वाचनमा बानियाँसँग प्रतिस्पर्धाका लागि नेकपा एमालेले लालबहादुर थापालाई मैदानमा उतारेको छ भने यसअघि बानियाँसँग पराजित स्याङ्तानको साथ पनि बानियाँलाई थपिएको छ । थापा ०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौँडाको ३ र १९ नम्बर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्दछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७/७ वटा वडामा विजयी भएको थियो । 



स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । 

स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । यसरी हेर्दा लोकतान्त्रिक वाम गठबन्धन एमालेभन्दा १६ हजार पाँचसय ६० मतले अगाडि छ । 



आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको मत पनि जोडिनेछ । ०७४ सालको निर्वाचन र अहिलेको स्थानीय तहको अंकगणितअनुसार पनि आसन्न निर्वाचनमा बानियाँ अघि देखिन्छन् । तर, मंसिर ४ मा मतदाताले गर्ने मतदान निर्णायक हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया