शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको बताएका छन् । 

शनिबार गलकोट र बुर्तिबाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेसागत अन्तरक्रिया कार्यक्रममा उनले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिको रुपमा रहेको बताए । 

शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै उनले गृह मन्त्रालयसँग समन्वय गरी चाँडै टुंग्याइने जानकारी दिए । 

‘शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,’ उनले भने, ‘सरकारको शून्य लागतमा मर्यादाक्रमको फाइल गृह मन्त्रालयसँग समन्वय गरी टुंग्याउने चरणमा छौँ ।’

शिक्षा मन्त्रालय तीन प्रकारको सुधारमा केन्द्रित रहेको बताउँदै उनले नीतिगत, कानुनी र शिक्षण सिकाइ सुधार मुख्य रहेको बताए । 

‘नीतिगत र कानुनी सुधार सरकारले गर्ने हो,’ उनले भने, ‘शिक्षण सिकाइ सुधार गर्ने काम शिक्षकको हो ।’
१० वर्षे विद्यालय सुधार योजना कार्यक्रम अघि बढेको बताउँदै उनले निर्वाचनपछि हाल विद्यालयमा रहेका शिक्षकलाई व्यवस्थाप नगर्ने गरी नयाँ शिक्षक पठाइने बताए । 



शिक्षकको वृत्तिविकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्याएको बताए । 

शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमतिपत्रलगायत कामले गति लिएको उनको भनाइ छ ।



मन्त्री पौडेलले शिक्षक महासंघका ५१ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै उनले अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने बताए । 

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गरे ।
मन्त्री पौडेलले गलकोट र ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने गरी निर्णय भएको समेत बताए । 

संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भने पनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै उनले कक्षा ६ सम्म दिवा खाजाका लागि बजेटको व्यवस्था गरेको बताए । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १८:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया