logo-img

झापा–१ मा ‘हेबिवेट’ बीच प्रतिस्पर्धा

झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी ४ मंसिर हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का दुई ‘हेबिवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ । 

चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरू घरदैलोमा व्यस्त छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका छन् । उनीहरूसहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । तीमध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटक चुनावी मैदानमा छन् भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृह क्षेत्र झापा–२ भए पनि झापामा इन्ट्री गर्नुभएको छ । संसद छिर्ने प्रयासलाई मूर्तरूप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहेका छन् ।

महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै छन् । 

पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । 

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहेका छन् । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन । 



वि.सं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएको शर्मा २०७४ मा पार्टीका प्रवक्ता भए । झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा छन् ।

त्यस्तै, एमाले–राप्रपा तालमेलअन्तर्गत खरेल, प्रदेशसभा (१) मा रविन कोइराला र ९२० मा सविना बजगाईँ कट्टेल छन् । मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिका–४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।



स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २ सय ६२ मत छ ।

नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ । 

  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया