logo-img

किन हुन सकेन स्वास्थ्यसेवामा विकेन्द्रीकरण  ?

मुलुकको शासन व्यवस्था केन्द्रीकृत प्रणालीमा हुँदा दूरदराजका जनता आधारभूत सेवाबाट वञ्चित भए भनेर नै देशलाई संघीय प्रणालीमा लगियो । देश संघीय प्रणालीमा गए पनि ग्रामीण भेगका जनताले अपेक्षित रूपमा अझै शिक्षा, स्वास्थ्य, यातायात खानेपानीजस्ता आधारभूत सेवा पाउन सकेका छैनन् । संघीयताको मूल मर्मअनुसार गाउँगाउँमा सिंहदरबार पुग्न नसक्दा याे प्रणालीमाथि नै प्रश्नचिह्न खडा भएको छ । आमजनताले संघीयतालाई नेता व्यवस्थापनको विकल्पबाहेक केही होइन रहेछ भनेर बुझ्न थालेका छन् । 

स्वास्थ्यसेवा मानिसको पहिलो आधारभूत आवश्यकता हो । काठमाडौं देशको राजधानी भएका कारण यहाँ जनघनत्व अत्यधिक छ । निजी स्वास्थ्यसंस्थामा उपचार गराउन सबैको आर्थिक पहुँचले नधान्ने भएकाले पनि राजधानीका अस्पतालहरूमा बिरामीको चाप व्यापक देखिन्छ ।

काठमाडौंको मुटुमा रहेको वीर अस्पतालमा बिरामीकाे चाप पट्यारलाग्दो देखिन्छ । त्यहाँ बिरामीको चाप यति छ कि चिकित्सकहरूले चाहेर पनि समयमा सेवा दिन असमर्थ हुन्छन् । इमरजेन्सीको एउटा बेडमा २–३ जनासम्म बिरामी राख्नुपर्ने बाध्यता छ ।​ओपिडीको लाइन त्यस्तै लामो हुन्छ । बिरामीलाई सेवा लिन दिनभर कुर्नुपर्ने बाध्यात्मक अवस्था छ । अस्पतालको करिडोरहरू बिरामी र बिरामीका आफन्तले भरिएका हुन्छन् । बिरामी र कुरुवा मात्र नभएर स्वयं चिकित्सकलाई पनि त्यो भिड छिचोल्न गाह्रो हुन्छ ।

अस्पताल वरिपरि नजर डुलाउने हो भने नर्स, चिकित्सक, बिरामी, कुरुवा सबैको आ–आफ्नै दौड देखिन्छ । अस्पतालको इमरजेन्सी कक्षमा मानिसको ठेलमठेल देख्दा गाउँतिर साप्ताहिक रूपमा लाग्ने हाटबजारको परिदृष्य सम्झना आउँछ । अस्पतालमा एक–अर्कालाई छिचोल्दै अगाडि बढिरहेका मानिसलाई देख्दा लाग्छ, उनीलाई जति हतार यो संसारमा अरू कसैलाई छैन ।यस्तो भिडभाडमा उपचारको पर्खाइमा रहेका बिरामी र उपचार गर्ने चिकित्सकको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । बिरामीलाई छिटो सेवा पाउने हुटहुटी, चिकित्सकलाई पनि चाँडै बिरामी सिध्याउने ध्याउन्न । अस्पतालमा हुने यस्ता कहालीलाग्दा भिडले हाम्रो स्वास्थ्य सेवा डेलिभरी कति स्तरीय छ भन्ने अनुमान लगाउन कठिन हुँदैन । 



के सबै प्रकारका रोगको उपचार सहरमा मात्र सम्भव छ ? भन्ने फरकधारको प्रश्नमा नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा. जीवन क्षेत्री भन्छन्, ‘हिजोआज सामान्यदेखि गम्भीर खालका रोग भएका बिरामी सहरका अस्पतालमा उपचार गराइरहेका देख्छौँ । यसका पछाडि धेरै कारण छन् । ती कारणमध्ये एक गाउँमा प्रारम्भिक स्वास्थ्य उपचार नहुनु हो ।’ डा. क्षेत्रीका अनुसार दुर्गममा सरकारले प्रभावकारी तरिकाले स्वास्थ्य सेवा दिन सकिरहेको छैन । निजी अस्पतालहरू नाफा खोज्छन् । जहाँ जनघनत्व बाक्लो हुन्छ, त्यहाँ निजी अस्पताल खुल्दा ग्रामीण भेगका मानिस पनि स्वास्थ्य सेवाका लागि सहर नपसी धरै पाउँदैनन् । 

ग्रामीण भेगका जनतालाई गाउँको तुलनामा सहरमा राम्रो स्वास्थ्य उपचार, सेवा, सुविधा पाइन्छ भन्ने विश्वास हुन्छ । त्यसैले हिजोआज धेरै बिरामी राजधानी आउने गरेको उनी बताउँछन् । तुलनात्मक रूपमा सस्तो भएका कारण पनि राजधानीका सरकारी अस्पतालमा बिरामीको चाप बढी देखिन्छ । डा. क्षेत्रीका अनुसार देशमा ठूला–ठूला अस्पताल सहरमैत्री हुँदा चिकित्सक जहाँ अस्पताल छन्, त्यहीँ बस्छन् । चिकित्सक बेरोजगार भए पनि सहरमै बस्न रुचाउँछन् । महँगो शुल्क तिरेर पढेका चिकित्सक दुर्गममा जान मान्दैनन् । राज्यले स्वास्थ्यमा लगानी नगर्दा दुर्गममा स्वास्थ्य सेवा पहुँचमा समस्या आएको उनको भनाइ छ । 



‘पहिलेको तुलनामा अहिले अधिकांश दुर्गम क्षेत्रमा चिकित्सक पुगेका छन् । उदाहरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै विशेषज्ञ चिकित्सक पुगेका छन्,’ डा. क्षेत्रीले भने । कर्णालीमा झैँ देशभरका अस्पतालमा सरकारी लगानी गर्ने हो भने स्वास्थ्य सेवा सहरकेन्द्रित नहुने उनको बुझाइ छ । प्रारम्भिक स्वास्थ्योपचार सेवा बलियो भयो भने बिरामीलाई टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै उपचार प्रक्रिया सस्तो र सुलभ हुने जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन एसोसियसन अफ नेपालका अध्यक्ष डा. पुष्पमणि खराल बताउँछन् । 

उनका अनुसार प्रारम्भिक स्वास्थ्योपचार सेवा मजबुत भएमा केन्द्रका ठूला अस्पतालमा बिरामीको भिड कम हुन्छ । सामान्य बिरामीको अनावश्यक भिड हुँदा सिकिस्त बिरामीको स्वास्थ्योपचारमा नकारात्मक असर पर्न जान्छ । टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र प्रादेशिक अस्पतालमा लाग्ने भिडले देशमा ‘प्रारम्भिक स्वास्थ्य सेवा’ कति कमजोर छ भन्ने दर्शाउने गरेको उनको भनाइ छ । 



एमडिजिपी चिकित्सक आवश्यक

प्रादेशिक र जिल्ला अस्पतालमा मात्र नभएर प्रत्येक गाउँपालिका र नगरपालिकाका वडा–वडामा जनरल प्राक्टिस चिकित्सक (एमडिजिपी) चिकित्सकको दरबन्दी सिर्जना गर्नुपर्ने स्वास्थ्यविज्ञहरू बताउँछन् ।

चिकित्सकहरू पनि उपत्यका र प्रमुख सहरमा नै केन्द्रित हुन्छन् । उपत्यका र सहरमा चिकित्सक धेरै देखिनुलाई अन्यथा पनि लिन मिल्दैन । किनभने अरू ठाउँमा पर्याप्त अवसर छैनन् । दूर–दराजमा अस्पतालहरू त छन् । तर, उपकरण र अन्य जनशक्तिको कमी छ । चिकित्सकहरूले उपकरण, आवश्यक जनशक्ति र सहज वातावरण नभएर अस्पताल मात्र हुँदैमा प्रभावकारी सेवा प्रदान गर्न नसक्ने डा. क्षेत्रीको बुझाइ छ । 

डा. खरालका अनुसार समुदायमा बिरामी भएकालाई सम्बन्धित गाउँपालिका र वडाका स्वास्थ्य केन्द्रमा गएर जिपी चिकित्सकहरूसँग परामर्श लिने र जटिल अवस्था भएमा मात्र त्यहाँबाट अन्य अस्पतालमा रिफर गर्ने वातावरण मिलाउनुपर्छ । ‘पालिकाका स्वास्थ्य केन्द्रहरूमा चिकित्सकहरूको दरबन्दी मात्र भएर पुग्दैन । पर्याप्त अन्य जनशक्ति, उपकरण र त्यहाँ रहेर काम गर्ने सहज वातावरण पनि उत्तिकै महत्वपूर्ण छ,’ उनले भने ।

विज्ञहरूका अनुसार विश्वका विकसित तथा विकासोन्मुख राष्ट्रका मानिसहरू रोग लागेपछि वा रोग नलाग्दै परामर्शका लागि आफ्नै समुदायमा रहेको स्वास्थ्य क्लिनिक, स्वास्थ्य केन्द्र तथा अस्पतालमा जान्छन् । प्रारम्भिक चिकित्सकहरू जस्तैः एमडिजिपी तथा अन्य सामुदायिक चिकित्सकबाट पहिलो स्वास्थ्य परामर्श लिन्छन् । सामान्य प्रकृतिका रोगहरूको उपचार यी चिकित्सकबाट नै हुन्छ र अति जटिल अवस्था भएमा बिरामीलाई अन्य अस्पतालमा रिफर गरिन्छ ।

नेपालमा भने एमडिजिपी चिकित्सकको संख्या धेरै कम भएकाले एमडिजिपी चिकित्सकको उत्पादन गुणात्मक रूपमा वृद्धि गरिनुपर्ने चिकित्सकहरूको भनाइ छ । डा. खराल भन्छन्, ‘प्रारम्भिक स्वास्थ्य सेवालाई सबल बनाउन काम गर्ने वातावरण, अवसर र आकर्षक तलब सुविधाको व्यवस्था सरकारले गर्नुपर्छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त पनि एमडिजिपी चिकित्सकको संख्या बढाउनुपर्ने बताउँछन् । एमडिजिपीले हरेक रोग विशेषज्ञ सेवा धेरथोर दिन सक्छन् । ‘कतिपय देशमा एमबिबिएस मात्रै भएको सेवा उपलब्ध छैन । उनीहरूको पहिलो सेवा विन्दुमै एमडिजिपी डाक्टर हुन्छन्,’ डा. वन्त भन्छन्, ‘हामीले पनि सहर वा गाउँघरमा प्रथम सेवा विन्दुमा एमडिजिपी चिकित्सक राख्न सकेमा स्वास्थ्य सेवाले ठूलो फड्को मार्छ र बिरामीहरू सहरकेन्द्रित हुने संख्यामा पनि कमी आउँछ ।’

नेपालमा हालसम्म करिब ६ सयजनाले मात्र एमडिजिपी अध्ययन गरेको पाइन्छ । एमडिजिपी चिकित्सकहरूले बच्चादेखि वृद्धसम्मका बिरामीलाई समुदायमा प्रारम्भिक स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रदान गर्छन् ।

  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया