logo-img

लोकतन्त्र सुदृढ तुल्याउन राजनीतिक इमान्दारी अपरिहार्य : पूर्वराष्ट्रपति डा. यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताएका छन् । 

शैलजा आचार्य आदर्श समाजले आज यहाँ आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकताः भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिए । 

‘लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ,’ पूर्वराष्ट्रपति यादवले भने, ‘त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सके मात्र लोकतन्त्र बलियो हुन्छ ।’

राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै उनले गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताए । 

‘राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ । राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ,’ उनले भने, ‘जबसम्म विधि र कानुनको शासन सही ढंगले जाँदैन र नेतृत्व सही ढंगले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन ।’

पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गरेकी निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उनीप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरे । 



कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले मूल्य र मान्यताको संस्कृति हराउँदै गएको, तर भ्रष्टाचार र बेथिति बढेको बताए । यसले लोकतन्त्रलाई कमजोर पार्ने उनको आशंका छ । 

सांसद कमला पन्तले शैलजा आचार्यको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको आदर्शलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । 



कार्यक्रममा भ्रष्टाचारविरुद्ध निरन्तर खोज तथा अनुसन्धानमा सक्रिय रही असल शासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै पत्रकार हरिबहादुर थापालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका तर्फबाट पूर्वराष्ट्रपति यादवले पत्रकार थापालाई सम्मान गरेका थिए । 

  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार २२:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया