logo-img

लुम्बिनी सरकारको बजेट ४० अर्ब ४७ करोड ८९ लाख

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा चालू आव २०७९/८० भन्दा २ अर्ब १५ करोड कम बजेट आएको छ । चालू आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो ।  

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मस्कीले आर्थिक वर्ष २०८०/८१ का लागि आज लुम्बिनी प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमध्ये चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा चालूतर्फ ३३ दशमलव ६८ प्रतिशत, पूँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८ दशमलव ८७ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सःशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालू आवको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड रुपैयाँ परिचालन हुने अनुमान रहेको छ ।

तुलनात्मक लाभका क्षेत्रमा लगानीको वातावरण सिर्जना, सीपमा आधारित दक्ष जनशक्तिको विकासमार्फत युवा उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी प्रवर्द्धन गर्दै गरिबी न्यूनीकरण, प्राकृतिक स्रोतसाधनको दिगो उपयोगिताबाट हरित अर्थतन्त्रको विकास एवं सामाजिक न्यायमा आधारित वितरण प्रणाली कायम गर्दै सुशासन प्रवर्द्धनद्वारा आर्थिक सामाजिक विकास गर्नेतर्फ बजेटले लक्ष्य निर्धारण गरेको छ ।   



बजेटमा प्रदेशको वर्तमान आर्थिक अवस्था र चालू आवको आर्थिक समीक्षामा चालू आव २०७९/८० मा प्रदेशको कूल गार्हस्थ्य उत्पादन ६ खर्ब ६३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धि दर घट्ने अनुमान गरिएको मन्त्री मास्कीले बताए ।  कूल गार्हस्थ्य उत्पादन अघिल्लो वर्ष ६ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । 

मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यो प्रदेशको योगदान १४ दशमलव ४२ प्रतिशत रहने बताइएको छ । प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान ३० दशमलव ०४ प्रतिशत रहने अनुमान गरिएको छ ।  




  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार २०:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया