logo-img

निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको धारणा बनिसकेको छ : स्वास्थ्यमन्त्री
फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने बताएका छन् । बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनइसकेको बताए । उनले स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको पनि बताए । उनले बिरामी नभएकाहरुलाई डकुमेण्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको बताए । उनले बीमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको बताए ।

उनले भने, ‘निजी अस्पताल र मेडिकल कलेजहरुलाई अब स्वास्थ्य बीमा दिने की नदिने ? लगभग नदिने कुरामा राज्यले एउटा धारणा बनाइसकेको छ । स्वास्थ्य बीमा भएपछि त्यहाँ बिरामीहरु बढ्ने रहेछ, त्यो फाइदा अस्पताललाई छ । तर अस्पतालले दिने सुविधामा के छ ? जति पाउने सुविधा हो त्यति सुविधा बनाइदिने, नभएको बिरामीलाई बिरामी बनाएर डकुमेण्ट मिलाएर त्यहाँ खर्च गराइदिने जस्तो पाइयो । यसलाई नियन्त्रणमा लिनुपर्छ । यो मनिटरिङ गर्न नसक्ने हो भने यही कुराले हामीलाई थला पार्छ । बीमा बोर्डका पनि केही कमजोरीहरु छन् । यसलाई चुस्त, दुरुस्त राख्न सकेका छैनौँ ।’

मन्त्री बस्नेतले १० प्रतिशत उपचारसहितको बेड निःशुल्क गर्ने काम अहिले लागू भएको बताए । उनले १० प्रतिशत विपन्न, गरिवहरुलाई निःशुल्क उपचार गर्नेकुरा लागू गर्न स्थानीय सरकारलाई निर्देशन दिइसकेको बताए । उनले जसअन्तर्गत वीर अस्पतालले ७ सय बेड निःशुल्क गरेको बताए । त्यस्तै कोशी अस्पतालले ३ सय ३० बेड, कान्ति बाल अस्पतालमा २२८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बेड, प्रसुती गृहमा ४५० बेड, शहीद गंगालाल हृदय रोग केन्द्रमा ९० बेड र ट्रमा सेन्टरमा १५० बेड गरी जम्मा २ हजार २८ शैय्या विपन्न, गरिबहरुको उपचारका लागि छुट्याइएको बताए । 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १७:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया