logo-img

स्वास्थ्यसचिवको प्रश्न : ३५ सय तिरेर एउटा मानिसको बिमा गर्दा राज्यले कति वर्ष धान्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बिमा प्रभावकारी बनाउन कठिन हुने बताएका छन् । बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

बिमा स्वायत्त हो कि स्वास्थ्य मन्त्रालयअन्तर्गतको भन्ने कुरा सरकारले स्पष्ट रूपमा भन्न आवश्यक रहेको उनले बताए । ३५ सय तिरेर एउटा मानिसको बिमा गर्दा राज्यले कति वर्ष धान्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ । 

बिमामा औषधिको समस्या रहेको उल्लेख गर्दै उनले एक हजार ५८ वटा औषधि बिमामा आबद्ध रहेको पनि बताए । सरकारले बिमामा आफ्नै कर्मचारी नदिएसम्म काम गर्न कठिन हुने अवस्था रहेको सचिव पोखरेलले औँल्याए । 

अहिले मानसिक स्वास्थ्यको विषय चिन्ताको विषय भएको बताँदै उनले मानसिक स्वास्थ्यको विषय हटाउनका लागि जिल्ला अस्पतालमा मानसिक परामर्श दाताको दरबन्दीका लागि काम गरिएको पनि बताए । केन्द्रीय १३ वटा अस्पतालमा मानसिक स्वास्थ्यको १० वटा बेडका युनिट खोलिसकेको जानकारी दिँदै उनले मानसिक स्वास्थ्यलाई पाठ्यक्रममा राख्न नसके भविष्यमा कठिन अवस्था आउने चेतावनी दिए । 

मानसिक स्वास्थ्यको लागि स्थानीय तहमा विज्ञहरु बढाउन आवश्यक रहेको सचिव पोखरेलले औँल्याए । 
 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १७:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया