लामो समयदेखि ओछ्यानमा अर्धचेत अवस्थामा पल्टिरहेकी थिइन्, सीता दाहाल । उनको उपचारमा कुनै कमी हुन दिइएको थिएन । तर, अवस्था सुधार हुनुको साटो उनको शरीर झनझन् कमजोर हुँदै गयो । अन्ततः आज (बुधबार) सधैंका लागि सबैलाई छाडेर गइन्, उनै सीताले ।
३ मंसिर २०७४ मा छोरा प्रकाशको निधनको खबर सुनेपछि ढलेकी सीता फेरि उठ्न नसकेकी हुन् । आफूलाई भन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरुमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्सन्सबाट ग्रस्त थिइन् ।
२१ असार २०११ मा कास्कीको हेम्जामा जन्मिएकी सीता सानैदेखि शान्त, शालीन र अनुशासित थिइन् । उनको २०२६ साल वैशाखमा १५ वर्षकै उमेरमा पुष्पकमल दाहाल प्रचण्डसँग मागी विवाह भएको थियो । विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक गोरेटोमा हिँडिन् ।
२०२८ देखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन् । त्यहाँदेखि उनी प्रचण्डकी पत्नी मात्र थिइनन्, उनकी राजनीतिक सहकर्मी, युद्धकी सहयोद्धा पनि थिइन् ।
तीन छोरी र एक सानो छोराको हेरचाह गर्नुपर्ने बेला प्रचण्ड जनयुद्धको अन्तिम तयारी गरिरहेका थिए । अर्धभूमिगतरूपमा श्रीमानले आन्दोलनको तयारी गरेको सीताले सुइँको नपाउने कुरै भएन । प्रचण्डबारे उनी पार्टीको सम्पर्क सूत्रमार्फत जानकारी लिन्थिन् । प्रचण्डले युद्धको तयारी गरेसँगै सुरक्षा चिन्ता थपियो । उनी सुरक्षित रहन र युद्धलाई थप अघि बढाउन सेल्टर परिवर्तन गर्ने भए ।
श्रीमान् प्रचण्डले सीतालाई भने– युद्धमा जे पनि हुनसक्छ, तिमीले बालबच्चाको हेरचाह गर्नू । तर, सीताले श्रीमानलाई आफू पनि युद्धमा सँगै जाने प्रस्ताव राखिन् । सुरुमा प्रचण्डले मानेनन् । दुई छोरी र छोराको भविष्यको चिन्ताले उनी सीतालाई सँगै लिएर हिँड्न तयार भएनन् । फेरि सीताले आत्मविश्वाससहित भनेपछि सहमत भए । प्रचण्डसँगै सीता पनि युद्धमा मिसिइन् ।
उनी कहिले रोल्पा, रुकुम त कहिले काठमाडौं, ललितपुरका विभिन्न ठाउँ सर्दै बसिन् । युद्ध चर्किँदै गएपछि उनीहरू भारतका विभिन्न शहरमा पनि पुगे । १ फागुन २०५२ मा सुरु भएको ‘जनयुद्ध’ १० वर्षसम्म चल्यो । उक्त युद्धमा उनले पतिलाई सबै तरिकाले साथ दिइन् ।
स–साना छोराछोरी र श्रीमानको भूमिगत राजनीति दुवैलाई मिलाएर अघि बढ्न स्वाभाविक रूपमै सीतालाई कठिन थियो । तर उनले आमा, श्रीमती र राजनीतिक कार्यकर्ताको रूपमा जे जति भूमिका निर्वाह गरिन्, त्यसमा कुनै खोट छैन ।
सीता प्रत्यक्ष राजनीतिमा नदेखिए पनि श्रीमान् प्रचण्डलाई माध्यमिक विद्यालयको शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत साथ दिइन् । मुलुकमा गणतन्त्रको स्थापनाको लागि भएको जनयुद्धको समयमा श्रीमानको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन नै बाजी लगाएर सहयोग पर्याएकी थिइन् । जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्दै आइन् । त्यसैले त अधिकांश माओवादी नेता कार्यकर्ता उनलाई ‘आमा’ भनेर सम्बोधन गर्छन् ।
विवाद र लोभलालचबाट टाढा
नेपालको राजनीतिमा नेताहरू परिवारका कारण विवादमा आएका थुप्रै उदाहरण छन् । तर, प्रचण्ड पत्नी सीताले लामो राजनीतिक जीवनमा कहिल्यै विवादास्पद काम गरिनन् । राजनीतिमा आफू जलेर अरूलाई उज्यालो दिने काम गरिन् उनले ।
सीताले कहिल्यै लाभको पद रोजिनन् । उनमा महत्वाकांक्षा थिएन । त्यसैले जङ्गलदेखि बालुवाटारसम्म उनको स्वभाव परिवर्तन भएन । अनि अर्को कुरा उनी विचारमा स्पष्ट थिइन् । स्वास्थ्यका कारण जीवनको कठिन घडीमा समेत उनले पतिको पदलाई लाभ लिनका लागि प्रयोग गरिनन् । जस्तोसुकै कठिन परिस्थिति आइलागे पनि श्रीमान् प्रचण्डको पदचाप् पछ्याउन छाडिनन् ।
आएन कहिल्यै सुख
दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समयअघि मात्र जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखियो । यसले सीतालाई ठूलो तनाव दियो । छोरीको उपचारका सबै उपाय खोजी भयो । देशभित्र र बाहिर (भारत) पनि उपचारका लागि लगियो । तर, क्यान्सर निको भएन ।
१३ चैत २०७० ज्ञानुको ४० वर्षकै उमेरमा निधन भयो । एक्कासि छोरीको निधनले सीता विक्षिप्त भइन् । उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थाल्यो । धेरै मानसिक तनाव नलिन र खुसी रहन डाक्टरले सुझाव दिएका थिए ।
दोस्रो संविधान सभाको चुनावमा माओवादी तेस्रो पार्टीमा खुम्चिएको थियो । पार्टी विभाजनलगायतका तनाव प्रचण्डले झेलिरहेका थिए । उनले सीताको हेरचाहमा ज्यादा समय दिन पाएका थिएनन् । ३ असोज २०७२ मा नेपालको संविधान जारी भएपछि प्रचण्ड निकै खुसी थिए । सीता पनि रमाउने प्रयत्न गर्थिन् । तर, छोरी गुमाएको पीडाले उनलाई बेलाबेला मुर्छित पार्थ्यो ।
आमाको हेरचाह उनै प्रकाशले गर्थे । २०७४ मंसिर १० र २१ गते प्रतिनिधि सभाको चुनाव मिति तय भयो । एमाले र माओवादीले चुनावी तालमेल गरे । चुनाव प्रचारमा प्रचण्ड जति व्यस्त थिए, त्यति नै प्रचारमा खटिएका थिए प्रकाश पनि । तर, चुनाव आउन एक हप्ता बाँकी हुँदा (२०७४ मंसिर ३) प्रचण्ड–सीतालाई अर्काे वज्रपात पर्यो । लाजिम्पाटमै घरमा सुतिरहेका बेला छोरा प्रकाशको ३ मंसिर २०७४ मा मृत्यु भयो ।
छोराको मृत्युपछि सीता झन् विक्षिप्त भइन् । उनको पीडा देख्न नसकेर प्रचण्डले निवास छाडे । लाजिम्पाटको निवास छोडेर उनीहरू ललितपुरको खुमलटार सरे । एकपछि अर्काे सन्तान गुमाउँदाको पीडा नै सीताको रोग बल्झाउने कारण बन्यो । उनी दैनिक शिथिल बन्दै गइन् ।
भीषण संघर्षका बेला अविचलित प्रचण्डको साथमा रहेकी सीता आर्थिक अवस्थिति सुधारेपछि र चमकधमक पूर्ण जिन्दगी बिताउने बेलामा पारिवारिक शोकका कारण उठ्न सकिनन् । रोग निको गर्न गरिएको हरसम्भव प्रयास सार्थक भएन ।
प्रचण्ड तेस्रोपटक मुलुकको प्रधानमन्त्री भएको पनि सीताले पत्तो पाइनन् । रोगसँग लड्दालड्दै उनले जीवनयात्रामा पूर्णविराम लगाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।