logo-img

कोशीका मुख्यमन्त्रीले गलत बाटोबाट विश्वासको मत लिएको भन्दै एमाले फेरि सर्वोच्चमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान विपरीत प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालत जाने भएको छ ।

संविधान विपरीत प्रक्रिया अपनाउँदै प्रदेश सभाबाट मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको भन्दै एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताए । एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका छन् । 

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन प्रदेश सभाकी उपसभामुख सृजना दनुवार बिरामी परेको भन्दै काठमाडौं गएकी थिइन् । अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका ज्येष्ठ सदस्य पनि बैठकमा अनुपस्थित भएका थिए ।

त्यसपछि गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेश सभा बैठकको अध्यक्षता अध्यक्ष मण्डलमा रहेका नेपाली कांग्रेसका सांसद इस्राइन मन्सुरीले गरेका थिए । विश्वासको मत लिने क्रममा मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला मन्सुरीले बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएका थिए । 

तिम्सिनाले अध्यक्षता गरेपछि मन्सुरीले थापाको समर्थनमा विश्वासको मत दिएका थिए । त्यसपछि फेरि उनले अध्यक्षता ग्रहण गरेर मतदानको नतिजा सुनाएका थिए ।



विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरेका थिए । त्यसमा बैठकको अध्यक्षता गरेका मन्सुरीको पनि मत समेटिएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३० मत परेको थियो । 



  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १३:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया