logo-img

नेपालमा ९० प्रतिशत मानसिक रोगी स्वास्थ्योपचारबाट वञ्चित

नेपालमा ९० प्रतिशत मानसिक रोगीहरूले मानसिक स्वास्थ्योउपचारबाट वञ्चित रहेका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको १४औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले नेपालमा ९० प्रतिशत मानसिक रोगी मानसिक स्वास्थ्योउपचारबाट वञ्चित रहेको बताएका हुन् । 

उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिब ८४ प्रतिशत रहेको बताए । उनीहरुले आत्महत्याको तथ्यांक हेर्दा एसियामा जनसंख्याको हिसाबले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् । 

मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताए । नेपालमा करिब ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेको उनकाे भनाइ छ । 

‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउने ट्रिटमेण्ट ग्यापले । लगभग ८४ प्रतिशत व्यक्तिहरु सेवा पाउँदैनन्  । धेरैजसो यो संख्या विकासोन्मुख देशहरुमा छ । नेपालको अवस्था हेर्दा लगभग ९० प्रतिशत मानिसहरु उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्यांक हेर्दा एसियामा जनसंख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ,' उनले भने ।

सम्मेलनमा बोल्दै मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताए । उनले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा अहिलेसम्म बन्न नसकेको समेत जिकिर गरे । उनले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैलाउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताए । 

‘यसको सेवा सबै देशका अस्पतालबाट भइरहेको छ । तर कडा खालको मानसिक रोगहरु जसलाई हामी साइकोसिस भन्छौँ, त्यो कडा खालको मानसिक रोगलाई राज्यले हेर्नुपर्छ । त्यो दायित्व राज्यको हो । भरणपोषणदेखि सबै उपचार राज्यले गर्नुपर्छ । त्यसको लागि नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै छैन’, डा. ओझाले भने, ‘अरु देशमा आइसकेको अवस्थामा त्यो ऐन ल्याए सहज हुन्थ्यो । आत्महत्या रोकथामको लागि राज्यले जनमानसमा जनचेतना फैलाउने र पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श सर्वसुलभ गर्नुपर्छ ।’



सम्मेलन मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याहरुबाट व्यहोर्नुपरेको क्षति, उपचारका उपायका बारेमा छलफल हुनेछ ।



  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १७:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया