आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र बाँडफाँटको विषयमा सहमति जुटेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट सहमति जुटाएको हो ।
रिक्त रहेका १९ सिटमध्ये १० मा कांग्रेस, ६ वटामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), दुई वटामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा सिटमा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरूका बीचमा संयुक्त रूपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ । तदनुरूप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ,’ लेखकले भने, ‘आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौँ र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’
उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।