logo-img

दलहरूलाई निर्वाचन आयोगकाे १५ बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगले फागुन ४ गतेको निर्णयअनुसार बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई विधान, पार्टीका नाम, झण्डा, छाप, पदाधिकारी, सदस्य, पार्टीको हिसाबसहितका विषयप्रति सचेत गराउँदै १५ बुँदे निर्देशन दिएको हो । 

आयोगले दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएको भए ३० दिनभित्र जानकारी गराउन भनेको छ । 

आयोगले दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समितिलगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा योग्यता पुगे नपुगेको निर्क्योल गर्न र सदस्यता वितरणको अद्यावधिक गर्न पनि भनेको छ । नियुक्ति र मनोनयन समावेशी सिद्धान्त अनुसार गर्न, दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने पनि भनेको छ । 

विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समितिलगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकै पटक आयोगमा पेस नगर्न पनि आयोगले निर्देशन दिएको छ । 

यस्तै, आयोगबाट अद्यावधिक भएपछि मात्र त्यसका आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि पेस गर्न पनि भनेको छ । 



आयोगले आधुनिक नेपाल समाजवादी पार्टीलाई मौका दिएको जनाएको छ । सो पार्टीले केन्द्रीय पादाधिकारी र सदस्यको निर्वाचन नगरेकाले आयोगबाट जरिवाना गर्ने निर्णय भएको, तर आयोगबाट भएको जरिवाना हालसम्म पनि नबुझाएकोले बुझाउन एकपटक मौका दिइएको छ ।

अब पनि जरिवाना नबुझाएमा कानुनबमोजिम दल दर्ता खारेजको प्रक्रिया अगाडि बढाउने चेतावनी आयोगले दिएको छ । 
 



  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १५:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया