logo-img

सर्वोच्चको पूर्णपाठ नआउँदा अलमलमा एनआरएनए

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता विनोद कुँवरले एनआरएनको विधान अक्षरशः पालना गरेर अघि बढ्दा संस्था एक हुने बताएका छन् ।

सर्वोच्च अदालतको फैसला अनुसार समानान्तर गतिविधिहरू गरिरहेका सबै समूह खारेज भएपछि एक समूहको नेतृत्व गरेका कुँवरले सबै एकै ठाउँमा बसेर संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए । संघको दसौँ महाधिवेशन विवादास्पद बनेपछि संघका पूर्वअध्यक्ष शेष घले निकट कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

उक्त कार्यसमितिले सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश द्वय सपना मल्ल प्रधान र डा.नहकुल सुवेदीको संयुक्त इजलासले तीन वटै (डा.बद्री केसी, आरके शर्मा र विनोद कुँवर) समूहका समानान्तर गतिविधिलाई अवैध भन्दै २०७८ माघ १ गतेको ८१ औँ आइसिसीको बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई ब्युँताएको छ ।

सर्वोच्चको फैसला अनुसार उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको अध्यक्षतामा बस्ने पहिलो बैठकपछि ६ महिनाभित्र एकताको अधिवेशन गर्नुपर्ने छ । अहिलेसम्म सर्वोच्च अदालतको पूर्णपाठ आइ नसकेकाले उच्चस्तरीय समितिको बैठक बस्न सकेको छैन ।

समितिमा घलेसँगै पूर्व अध्यक्षहरूका साथै समानान्तर समितिबाट केही व्यक्तिलाई पनि थप गरिएको छ । कुँवरले समितिको पहिलो बैठक भौतिक उपस्थितिमा बस्ने र त्यसपछि प्रक्रियाहरू अघि बढ्ने जानकारी दिए ।

उनले संयोजकका हिसाबले घलेले सबैसँग छलफल गरिरहेको र हाल अस्ट्रेलियामा रहेकाले केही दिनमा नेपाल फर्किने पनि जानकारी दिए । घले नेपाल फर्किएपछि बैठक बोलाउने तयारीमा रहे पनि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउन ढिला भएकाले केही समय कुर्नुपर्ने उनले बताए ।



पूर्ण पाठ आउन अझैँ एक महिना जति लाग्ने सम्भावना रहेको बताउँदै एकताको अधिवेशन गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा उनले जोड दिए ।

यसै गरी, सर्वोच्चको आदेश अनुसार परराष्ट्र मन्त्रालयले पठाएको चिठीका विषयमा प्रश्न गर्दा उनले आफूहरू अहिले पूर्णपाठकै प्रतीक्षामा रहेको बताए । उनले एनआरएनएको सचिवालय चलाउने जिम्मा सिईओको रहेकोले उनले उक्त पत्रको उनले कार्यान्वयन गर्नुपर्नेमा जोड पनि दिए ।  



  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १४:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया