logo-img

इलाम-२ उपनिर्वाचनमा मिलनसहित १६ उम्मदवारको जमानत जफत
फाइल तस्बिर

इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

गत उपनिर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका रास्वपा सभापति रवि लामिछानेको दल यसपटक इलाम–२ मा भने जमानतसमेत जोगाउन सकेन । यहाँको परिणामले पहाडी जिल्लामा घण्टीको प्रभाव कम रहेको पुष्टि गरेको छ ।

लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत छन् । उपनिर्वाचनमा पत्रकारितामै सक्रिय रहेका मिलन लिम्बूलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटक–पटक इलाम पुगेका थिए । लामिछानेसहित रास्वपाका सांसद इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझैँ झुम्मिएका थिए । तर, निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मतसमेत ल्याउन सकेन । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । इलाम–२ को उपनिर्वाचनमा लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको छ । 

यस्तै, पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाललाई चुनावी कमान्डर बनाएको नेकपा एसले ४०८ मत गरेको छ भने सांसद ज्ञानेन्द्र शाहीलाई चुनावी कमान्डर बनाएको राप्रपाले ४०४ मत प्राप्त गरेको छ । 

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन् । 



निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत ६ हजार ८ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । 

जमानत जफत हुनेमा रास्वपाका मिलन लिम्बूसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् । 



यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’, भनिएको छ ।  

  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार ७:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया