logo-img

के हो कटवाल काण्ड, सेनापति गलहत्याउने प्रचण्ड प्रयास कसरी भयो असफल ? [भिडियोसहित]
नेपाली सेनाका प्रधानसेनापति रुकमाङ्गत कटवाललाई सैनिक मुख्यालयबाट बाहिरको बाटो देखाउन १५ वर्षअघि प्रधानमन्त्री प्रचण्डले रचेको त्यो व्यूह

रुकमाङ्गत कटवाल,जसलाई नेपाली सेनाको प्रधानसेनापति पदबाट गलहत्याउन पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सारा शक्ति खर्चिए । तर, प्रधानसेनापति कटवालले राष्ट्रपतिबाट थमौतीपत्र पाएपछि प्रचण्डले प्रधानमन्त्री पद नै छाड्नु पर्यो । यदि,त्यसबेला नेपाली सेनाको माओवादीकरण भएको भए नेपाली राजनीतिको कम्पासको सुई कतातिर घुम्थ्यो ? ​

१५ वर्षअघि वैशाख महिनाको त्यो घटना । जुनबेला माओवादी नेतृत्वको सरकारले प्रधानसेनापति कटवाललाई पदबाट हटाउने निर्णय लियो । प्रधानसेनापतिलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइयो । उनलाई पदबाट हटाइएको जानकारी दिइयो । उनको ठाउँमा सेनामा दोस्रो वरियतामा रहेका कुलबहादुर खड्कालाई  कायम मुकायम प्रधानसेनापति नियुक्तिको पत्र दिइयो । उनी पत्र बुझेर बालुवाटरबाट सिधै भद्रकालीस्थित सैनिक हेडक्वाटर गए । सेनाको कार्यरथीलाई पत्र देखाउँदै बहाली प्रक्रिया थाल्न लगाए । तर प्रधानसेनापति कटवाल चुप बसेनन् । उनले देशीविदेशी सबै शक्तिकेन्द्र गुहारे । अन्ततः प्रधानसेनापति पदबाट कटवाल हटाउने माओवादी सरकारको प्रयास फेल खायो । प्रधानसेनापति पदको वैधानिकता सकिनु केही मिनेटअघि रातको पौने १२ बजे राष्ट्रपति रामवरण यादवले थमौती पत्र पठाएपछि कटवालको पद जोगियो । खड्काले पाएको कायम मुकायम प्रधानसेनापति पदको पत्र बेकार सावित भयो ।

सरकारले हटाएको प्रधानसेनापतिले राष्ट्रपतिबाट थमौतीपत्र पाएको त्यो दिन आजै थियो । अर्थात् वैशाख २० । २०६६ । 

एकपटक त्यो घटना हुनुभन्दा दुई वर्षअघि पुगौँ ।

२०६४ मा संविधानसभा निर्वाचनबाट नेकपा (माओवादी) सबैभन्दा ठूलो दलको रूपमा उदायो । माओवादीका सर्वोच्च कमाण्डर प्रचण्ड प्रधानमन्त्री चुनिए । 

२०६४ को संविधानसभा निर्वाचनको परिणामले सबैभन्दा ठूलो दल बनाएपछि माओवादीमा शक्तिको माद चढेको बेला थियो,त्यो । यसैले होला, प्रधानमन्त्री बनेको आठ महिनापछि नै माओवादीका पूर्व सैन्य कमाण्डर प्रचण्डमा सर्वसत्तावादको नशा चढ्यो । उनको निशाना बन्यो–नेपाली सेना । प्रधानसेनापति थिए–कटवाल । शसस्त्र द्घन्दकालमा आमने–सामने गरेको माओवादीमा नेपाली सेनालाई लिएर हेर्ने दृष्टिकोण सकारात्मक थिएन । सेनाभित्र पनि माओवादीलाई राजनीतिकभन्दा पनि विद्रोहीकै रुपमा हेर्ने मानसिकता जर्नेलहरुमा थियो । माओवादी र सेनाबीचको सम्बन्धमा कटुता देखिन्थ्यो । दुबै शक्तिबीच शत्रुतापूर्ण ब्यवहार थियो । शान्तीप्रक्रियामा आइसकेपछि पनि प्रचण्डले ‘बलात्कारी’ र ‘हत्यारा’ भनिदिएपछि सेना रुष्ट हुने नै भयो । 



यहीबीचमा माओवादीले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा प्रचण्डको उपस्थितीमा पहिलो आमसभा गर्ने भयो । यसकालागि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका गिरिजाप्रसाद कोइरालाले हरियो झण्डा देखाइदिए ।  सैनिक मञ्चमा आमसभा गरेर माओवादीले बिजयीको सन्देश दिन चाहन्थ्यो । तर सेनाले प्रधानमन्त्री कोइरालासमक्ष कुनै पनि हालतमा सैनिक मञ्चमा आमसभा गर्न नदिने अडान राखेपछि माओवादी गल्यो । आमसभा त भयो । तर सैनिक मञ्चमा होइन,खुलामञ्चमा । यसले माओवादी र सेनाबीचको रिसिबी झनै बढ्यो । 



यो क्रममा सेनाको आत्मसम्मानमा गुलेली हान्ने प्रयास माओवादीबाट भइरह्यो । कहिले घर बिदामा गएका लप्टनलाई अपहरण गरेर त कहिले माओवादीबाट वनमन्त्री रहेका मातृका यादवले ‘सेनाको सुरक्षा चाहिँदैन’ भन्ने घटनाले माओवादी र सेनाबीचको दूरी झनै बढाइरहेको थियो । सेनाको मनोबल गिराउन विभिन्न बहानामा उसलाई गिजोल्न माओवादीले पटक पटक प्रयत्न गरि हेर्यो । प्रचण्ड माओवादी लडाकुका कमाण्डर थिए,यसैले पनि राष्ट्रिय सेनालाई बेला बेला जिस्क्याइरहने माओवादीको तत्कालीन कार्यनीति रहेको बुझ्न सकिन्छ । किनकी,प्रधानमन्त्रीका रुपमा प्रचण्डदेखि रक्षामन्त्री रहेका रामबहादुर थापा बादल,अर्थमन्त्री बाबुराम भट्टराईदेखि मातृका यादव लगायतका माओवादी मन्त्रीहरू राष्ट्रिय सेनाको नुर गिराउने र माओवादी लडाकुलाई पुलपुल्याउने रणनीतिमा रहेको देख्न सकिन्थ्यो । आफ्ना लडाकुलाई राष्ट्रिय सेनामा सामूहिक समायोजन गर्न चाहन्थ्यो,माओवादी । तर यसमा सेनाको नेतृत्व सहमत भएन । यसले पनि यी दुई पक्षबीच ठाकठुक परिरहयो । यसैबीच सेनाका प्रधानसेनापति कटवालले शशिभवनमा ज्ञापनपत्र लिएर आएका द्घन्दपीडितसंग भेट गरेपछि झनै बबण्डर मच्चियो । ‘शशिभवनमा बसेर राजनीति गर्ने ? माओवादी विरोधीलाई भेट्ने ? ज्ञापनपत्र बुझ्ने ?’ भन्दै माओवादी नेतृत्व कटवालसंग आगो हुने भइगयो ।  

सेनाले रिक्त दरबन्दीमा नयाँ भर्ना लिन थालेपछि माओवादी र सैन्य नेतृत्वबीच फेरि विवाद भयो । २०६५ पुस ८ मा रक्षामन्त्री  बादलले सेनालाई पत्र पठाए–भर्ना प्रक्रिया स्थगन गर्नु भनेर । तर सेनाले मानेन । आगोमा घिउ त त्यसबेला थपियो जुनबेला  सेनापति कट्वालले सेनाको एउटा पासआउट समारोहमा माओवादीप्रति लक्षित गर्दै ‘नेपाली सेना आतंकवाद, अतिवाद, उग्रवाद, अधिनायकवादसंग आत्मसमर्पण गर्दैन,लडन तयार छ’ भन्ने अभिब्यक्ति दिए । सेनामा ३० वर्षे सेवाअवधि लगाउने तत्कालीन प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री बादलको प्रयास पनि सैन्य नेतृत्वले असफल तुल्याईदियो । माओवादीको यस्तो प्रयासभित्र आफ्ना लडाकुलाई सेनामा प्रवेश गराएर नेतृत्वसम्म पुर्याउन सकिन्छ कि भन्ने धेय लुकेको सेनाले नबुझ्ने कुरै भएन । यो प्रकरणले पनि यी दुबैबीचको सम्बन्धमा झनै अमिलोपनको मात्रा बढ्दै गयो । 

यसपछि आठ जर्नेल प्रकरण भयो । राष्ट्रिय सेनाका आठ जना ब्रिगेडियर (अर्थात् सहायक रथी) को चारवर्षे पदावधि २०६५ चैत  ३ मा सकिँदै थियो । कानुन अनुसार अर्को तीन वर्ष म्याद थप गर्ने व्यवस्था छ । तर प्रधानमन्त्री र रक्षामन्त्री दुवैले ती आठ जर्नेलको म्याद थप्न मानेनन् । उनीहरू जंगी अड्डामा जसरी हुन्छ,‘भद्रगोल’ मच्चाउने ध्याउन्नमा रहेको बुझ्न सकिन्थ्यो । आठ जर्नेल एकैसाथ घर गए,सैनिक हेडक्वाटरलाई झ्ुकाउन सकिन्छ भन्ने माओवादी ‘हेडक्वार्टर’ को बुझाइ थियो । तर राष्ट्रिय सेना आफ्नै सरकारको निर्णयविरुद्घ अदालत गयो । २०६५ चैत ११ का दिन सर्वोच्च अदालतले ती आठ जर्नेललाई ‘अवकाश नदिनु’ भनेर अन्तरिम आदेश दियो । यो प्रकरणपछि सैनिक हेडक्वाटरसंग माओवादी सरकार तिल्मिलाउने स्थिती बन्यो । 

अर्को एउटा घटनामा पनि माओवादी र सेनाबीच मनोमालिन्य बढ्यो । २०६५ चैतमा पाँचौ राष्ट्रिय खेलकुद आरम्भ हुँदै थियो । यसैबीच हतार–हतार माओवादी लडाकुहरुको खेलकुद क्लब दर्ता गरियो । यो क्लबले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भयो । यसमा सैनिक हेडक्वाटरले घोर आपत्ति जनायो । माओवादी लडाकुसंग नखेल्ने भयो । प्रतियोगिता बहिष्कार गर्दै सैन्य नेतृत्वले आफ्नो आर्मी क्लबलाई फिर्ता बोलायो । यसले माओवादी र सेनाबीच झनै पानी बाराबारको अप्रिय स्थिती निर्माण भयो ।
 
कटवालको अवकाश हुन् चार महिनामात्र बाँकी थियो,त्यति समय धैर्य गर्ने सामर्थ्य प्रचण्डमा भएन । कटवाललाई हटाएर छाड्ने ‘इगो’ मा पुगे उनी । यसैले वैशाख ६ मा प्रचण्डले कटवाललाई बोलाएर राजीनामा मागे । कटवालले मानेनन् । यसै दिन बसेको प्रचण्ड नेतृत्वको क्याबिनेटले कटवाललाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो । स्पष्टीकरण चित्तबुझ्दो भएन भनेर अवकाश दिने ‘डिजाइन’ थियो त्यो ।  आखिर भयो पनि त्यस्तै,२०६६ वैशाख २० का दिन कटवाललाई बालुवाटर बोलाइयो । सेनाको स्पेशल फोर्सको ‘सेक्सन प्लस’ लिएर कटवाल बालुवाटर पुगे,त्यहाँ जे पनि हुन सक्छ भनेर । उनलाई धन्यवाद पत्र थमाएर सैन्य नेतृत्वबाट बर्खास्त गरियो । 

सैन्य पेशाबाट सेवानिवृत्त भएपछि उनै कटवालल प्रकाशनमा ल्याएको आत्मकथा रुकमाङ्गत कटवालमा आफूलाई प्रधानसेनापतिबाट हटाउन माओवादी नेतृत्वले गरेको प्रयास र त्यसलाई असफल तुल्याउन भएका दौड धुपबारे उल्लेख गरेका छन् । 

पुस्तकमा उनले वैशाख २० को उक्त घटनाबारे लेखेका छन्–

झन्डै पौने ११ बजे प्रधानमन्त्री निवासको अर्को कुनै ढोकाबाट कुलबहादुर बाहिर कम्पाउण्डमा निस्किएछन् । मेरो सेक्युरिटीले भनेअनुसार उनको हातमा नेपाली कागजको एउटा खाम थियो ।
मैले बुझिहालेँ,कुलबहादुरलाई प्रधानसेनापति बनाएको खोस्टो दिएछन् ।
म ‘हिँडे’ भन्दै निस्किन खोजेँ । बाहिर निस्किन मात्र लागेको थिएँ,रक्षामन्त्री र रक्षासचिव देखा पर्नुभयो ।
रक्षासचिवले ‘हजुर एकछिन एकछिन’ भन्दै मलाई रोक्नुभयो ।
‘के ?’ मैले हकारेँ । 
‘एउटा चिठी बुझ्नुपयो हजुर,’ उहाँले भन्नुभयो ।
‘के चिठी ?’
‘हजुरलाई सरकारको तर्फबाट धन्यवादपत्र,’ उहाँले भन्नुभयो ।

उनले सोही दिन आफूले राष्ट्रपतिबाट पाएको थमौती पत्रबारे पनि लेखेका छन्–

‘ल तपाईलाई चिठी पठाउने नै निर्णय भयो,’राष्ट्रपतिले साढे ११ बजे मलाई टेलिफोन गरेर भन्नुभयो,‘सबै जर्नेललाई खबर गर्दिनु ।’
‘सबै जर्नेल यतै छन् सर’ मैले जानकारी गराएँ ।
सोचेँ,परिस्थितीले यति पर घचेटिसकेपछि जस्तो पायो त्यस्तो पत्र नेपाली सेनाले मान्ने अवस्था छैन ।
केही मिनेटमै राष्ट्रपति कार्यालयबाट फ्याक्स आइहाल्यो–प्रधानसेनापतिको थमौतीपत्र । हामीले खोजेजस्तै प्रष्ट बेहोराको चिठी बनेको रहेछ ।

राष्ट्रपति यादवले बहुमत दलहरुको आग्रह भन्दै सरकारको निर्णय बदर गरिदिए । निर्णय लागू भएन । तर कटवालले त्यसबेला राष्ट्रपतिबाट पाएको थमौती पत्रले प्रश्न छाडेर गएको छ । संविधानत सरकारले बर्खास्त गरिसकेको प्रधानसेनापतिलाई थमौती गर्ने अधिकार संवैधानिक राष्ट्रपतिले कहाँबाट पाए ? के त्यसो गर्न उनी विवश थिए ? प्रश्न बांकी नै छ । 

त्यसबेला भारतका अर्थमन्त्री प्रणव मुखर्जी र भारतीय स्थल सेना प्रमुख दीपक कपुरले माओवादी नेतृत्वलाई गलाउन प्रधानसेनापतिलाई थमौती गर्न केही राजनीतिक दलका नेताहरूदेखि राष्ट्रपति यादवलाई समेत परिचालन गरेको स्रोतको दावी छ । कपुर तीनै सेना प्रमुख हुन् जसले ‘माओवादी लडाकूलाई अन्य नेपालीसरह मापदण्ड पुरा गरेर मात्र नेपाली सेनामा भर्ना लिनुपर्ने र समूहगत प्रवेश दिन नहुने’ भनाइ सार्वजनिक गरेका थिए । कपुरको उक्त कथनमाथि माओवादीले तत्काल आपत्ति प्रकट गरेको थियो । कटवाल काण्डमा ‘नेपाली सेनाको पेसागत प्रतिष्ठा जोगाउन हामीले हात हालेका थियौं’ भनेर भारतको परराष्ट्र सचिव रहीसकेका श्यामशरणले दिएको सार्वजनिक अभिब्यक्तिले पनि कटवाल जोगाउन कसले भूमिका खेलेको थियो भन्नेतिर संकेत गर्छ ।  आफ्नो थमौतीका लागि  विभिन्न शक्ति केन्द्र गुहारेर जंगी अड्डामा राजनीति भित्रयाएको बात पनि लाग्ने गरेको छ,कटवालमाथि । तर यो बेग्लै कुरा हो कि कटवालले शक्ति केन्द्र गुहारे कि शक्ति केन्द्रले माओवादी नेतृत्वलाई देखाइदिने भन्दै राष्ट्रपतिलाई प्रयोग गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे ?

कटवाल काण्डमा आफू तल परेपछि वैशाख २१ मा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए । र,भने ‘विदेशी प्रभु को हस्तक्षेपबाट कटवालले निरन्तरता पाए ।’ उनको संकेत दक्षिणको छिमेकतिर थियो ।

तर उनै प्रचण्डले पछि कटवाल प्रकरणमा आफ्नो गल्ती भएको सार्वजनिक मन्तव्य दिए । बुझ्न कठिन छैन,कटवाल काण्ड माओवादीमा देखिएको उग्रवादी चिन्तन र सर्वसत्तावादको प्रारम्भिक लक्षणमात्र थियो । 

  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार ११:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया