logo-img

ओलीको आग्रह- सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्नू, भत्काउने नभई बनाउने अभियान चलाउनू

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन् । उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए ।  बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभई बनाउने अभियान चलाउनुपर्ने बताए । 

उनले भने, ‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौँ । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ । सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरूलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ ।’

जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिब विरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए । उनले भने, ‘अहिले हामी सरकारमा आएका छौँ । तर विभिन्न बहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् ।  जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन ।  सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’

आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औँल्याए । 

उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्को पटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दा पनि सरकार चलाएको छु भन्न मिल्छ ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाऊ भन्न मिल्दैन ।’





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १७:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया