logo-img

चिसो पेय : मानव स्वास्थ्यमा गम्भीर क्षय
मोटोपन, मधुमेहदेखि क्यान्सरसम्मको जोखिम

नेपालको अधिकांश स्थानमा हिजोआज गर्मीले उग्र रूप लिइसकेको छ । गर्मीयाम सुरु भएसँगै तिर्खा मेट्नका लागि बजारमा विभिन्न चिसो पेयपदार्थ (कोल्डड्रिङ्स)को खपत बढ्ने गर्छ । साथीभाइ जमघट होस् वा घरमा पाहुना आउँदा हिजोआज सबैभन्दा पहिला सर्भ हुन्छ, कोल्डड्रिङ्स । 

बाहिर हिँडडुलका क्रममा गर्मी भयो भने पनि हिजोआज धेरैको रोजाइ पानी हुँदैन । बजारमा सजिलै उपलब्ध हुने चिसो पेयपदार्थ नै मानिसको पहिलो रोजाइ बनिरहेको देख्न सकिन्छ । बजारमा थरीथरीका रंगीबिरंगी आकर्षक बोत्तलमा पाइने पेयपदार्थ पिउन वयस्कहरू मात्र होइन, बालबालिकाहरू पनि उत्तिकै लालायित भएका हुन्छन् । पिकनिक होस् या पार्टी, चाडबाड होस् या गर्मी भगाउने साथी सबैमा अनिवार्यजस्तै बनिसकेको छ, कोल्डड्रिङ्स । 

यस्ता वस्तुहरू अहिले शान, मान, सगुन र मेजमानका सामग्री नै बनिसकेका छन् । यी पेयपदार्थले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेयपदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् । यस्ता पेयपदार्थले बालबालिकामा कस्तो असर पारिरहेको छ र भविष्यमा कस्तो असर पर्नेछ भन्नेबारेमा धैरैको ध्यान पुग्न नसकेकोमा चिन्ता प्रकट गर्छन्, जनस्वास्थ्यविद् । 

जनस्वास्थ्यविद्हरूका अनुसार हिजोआज धेरैले रूपैयाँ खर्च गरेर यस्ता पेयपदार्थमार्फत क्यान्सर, हृदयाघात, मधुमेहजस्ता भयानक प्राणघातक रोगहरूका जोखिम तत्त्वहरू किनिरहेका छन् । र, यसले बालबालिका तथा वयस्कहरुको शरीरमा कस्तो असर पर्छ भन्नेबारेमा एकदमै कमै मात्रले सोच्ने गरेका छन् । 

जंकफुड (पत्रु खाना) तथा पेयपदार्थको असर शरीरमा तुरुन्त देखिँदैन । यसले त मन्दविषको रूपमा हाम्रो शरीरमा असर गरिरहेको हुने जनस्वास्थ्यविद्ले बताउँदै आइरहेका छन् । जनस्वास्थ्यविद्का अनुसार पेयपदार्थ पिउनेहरूको शरीरमा चिल्लो, कार्बोहाइड्रेट र चिनीको मात्रा बढ्दै जान्छ ।

पिउँदा काइदा, गर्दैन है फाइदा !



अतिथिका लागि चियाले स्वागत गर्ने पुरानो संस्कार अहिले कोक, पेप्सी, फेन्टा, डिउ, स्प्राइटलगायत पेयपदार्थमा पुगेको छ । कागतीको सर्वत, दही, मोहीले पाहुनालाई स्वागत गर्दा इज्जत जाने, तर यस्ता वस्तुले स्वागत गर्दा शान बढ्ने भानले पनि बजारका पेयपदार्थको खपत अत्यधिक भइरहेको सबैले देखिरहेकै कुरा हो ।

रेडियोमा सुनिने तथा टेलिभिजनमा देखिने विज्ञापनले परम्परागत पेयपदार्थको तुलनामा बजारका पेयपदार्थ उच्चगुणस्तरीय हुन् कि भन्ने आभास दिन्छन् । तर, सामाजिक प्रतिष्ठाको साधन बनेका यस्ता पेय हाम्रा परम्परागत पेयको तुलनामा अत्यन्तै हानिकारक छन् । बजारिया पेयपदार्थको तुलनामा दही, मोही, सर्वतजस्ता हाम्रा परम्परागत पेयपदार्थ स्वास्थ्यका लागि कैयौँ गुणा लाभदायक छन् ।



यसबारेमा जानेर होस् वा नजानेर धेरैले बजारमा उपलब्ध पेयपदार्थ पिइरहेको जनस्वास्थयविद् अरूणा उप्रेती बताउँछिन् । उनका अनुसार चिसो पेयपदार्थमा पाइने कार्बोनेटेड पानी, हानिकारक एसिड र कृत्रिम रंगले शरीरलाई चिसो पार्नुको सट्टा पेटमा एसिडको मात्रा र शरीरमा चिनीको मात्रा बढाउँछ । जसले स्वस्थकर व्यक्तिलाई अस्वस्थकर जीवनतिर धकेल्ने उनको भनाइ छ । 

‘जो चिसो पेयपदार्थ बढी पिउने गर्छन्, उनीहरूलाई यो पनि थाहा हुँदैन कि शरीरमा आउने धेरै समस्याहरूको मुख्य जड यस्तै अत्यधिक चिसो पेयपदार्थ हो,’ जनस्वास्थ्यविद् उप्रेती भन्छिन्, ‘चिसो पेयपदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् ।’

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई प्रमुख डा. राधिका थपलिया पनि बजारिया पेयपदार्थ पिउँदा हामीले भारी मात्रामा चिनी खाइरहेको बताउँछिन् । उनका अनुसार एक लिटर कोक वा पेप्सीमा एकसय ६ ग्राम अर्थात् २१.२ चम्चा चिनी हुन्छ । यसको प्रयोगले मानिस बिस्तारै चिनी र क्याफिनको कुलतमा फस्दै जाने गरेको उनको भनाइ छ । 

थपलियाका अनुसार अत्यधिक मात्रामा गुलियो र क्याफिनले मुटु र मधुमेहजस्ता अन्य नसर्ने खालका रोगहरूलाई निम्त्याउँछ । कोक पिएपछि यसमा भएको गुलियो २० मिनेटभित्र रक्त प्रणालीमा पसी तत्काल ऊर्जा आएको अनुभूति गराउँछ । कलेजोले त्यो चिनीलाई चिल्लो पदार्थ कोलेस्ट्रोलमा परिणत गर्दछ । जसले मधुमेह हुने सम्भावनालाई बढाउँछ ।

‘कोक, पेप्सीजस्ता पेयपदार्थ खाएको ४० मिनेटभित्रमा यसमा भएको क्याफिन पूर्ण रूपमा शरीरमा सोसिन्छ । यसो हुँदा आँखाको नानी ठूलो हुने र कलेजोले शरीरमा झन् धेरै चिनी पठाउँदै जान्छ । जसले गर्दा व्यक्तिको थकान निद्रामय अवस्था हटेर जान्छ,’ डा. थपलिया भन्छिन्, ‘अब ४५ मिनेटभित्र हाम्रो दिमागले डोपामिन नामक रसायन उत्पादन गरी आनन्दको अनुभूति दिन्छ । यस अर्थमा कोकले लागूपदार्थ हिरोइनले जस्तै काम गर्दछ । तर, यो आनन्दको अनुभूति लामो समयसम्म रहँदैन । अर्काे एक घण्टापछि फेरि कोक खान मन लाग्दछ । यसरी चाँडै नै कोकमा हाम्रो लत बसिसकेको हुन्छ ।’

उनका अनुसार पेयपदार्थमा फोस्फोरिक एसिड हालिएको हुन्छ । जसले चिनीको गुलियोलाई धिमा पार्छ  । र, यो हामीलाई स्वादिलो लाग्छ । वास्तवमा फोस्फोरिक एसिड मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक तत्व हो । यसको प्रयोगले मुटुलगायत मिर्गौलालाई हानि गरी हाडलाई पनि खियाउँछ ।
सन् २०१३ मा अमेरिकन हार्ट एसोसिएसनले आयोजना गरेको सम्मेलनको वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार सोडा वा चिसो पेयले विश्वभरिमा बर्सेनि एक लाख ८० हजार मानिसको मृत्यु हुने गरेको देखाएको थियो । 

चिनीले भरिपूर्ण हुने यस्ता पेयपदार्थको सेवन गर्नेमध्ये केहीमा क्यान्सर भएको समेत पाइएको छ । सो प्रतिवेदनमा सन् २०१० ग्लोबल बर्डेन अफ डिजिज स्टडीअन्तर्गतको तथ्यांक प्रस्तुत गरिएको थियो । 

सोअनुसार चिसो पेयपदार्थ सेवन गर्नेमध्ये १ लाख ३३ हजारको मृत्यु मधुमेहले भएको थियो भने ४४ हजारको मृत्यु मुटुरोगले भएको थियो । त्यस्तैगरी, ६ हजारको मृत्यु क्यान्सरले भएको उल्लेख गरिएको छ । यसको मुख्य कारक तत्त्वचाहिँ धेरै चिनी भएको चिसो पेयपदार्थ नै भएको दाबी गरिएको छ ।

सावधान रहौँ, स्वस्थ रहौँ

अहिले धेरै मानिसहरू स्वस्थकर तथा पोषिला स्थानीय पेयपदार्थको सट्टा बजारिया पेयपदार्थको स्वादमा लट्ठ परिरहेको कुरामा कुनै दुई मत छैन । मानिसहरूले दूध, दहीजस्ता पोषिला पेयपदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । 

चिसो पेयपदार्थ पिउने बानीलाई हटाउन सकिएन भने भविष्यमा स्वास्थ्यमा गम्भीर समस्या देखिने जनस्वास्थ्यविद् उप्रेतीले जानकारी दिइन् । ‘आफ्नो स्वास्थ्यलाई माया गर्ने व्यक्तिले सहजै चिसो पेयपदार्थलाई त्याग्न सक्छ । जसले आफ्नो शरीरलाई रोगको घर बनाउन चाहन्छ, उसले चिसो पेयपदार्थ पिइरहन्छ । चिसो पेयपदार्थ पिउने बानी नियन्त्रण गर्न आफ्नो व्यवहारमा परिवर्तन गर्न जरुरी छ,’ उनले भनिन् । 

‘गर्मीयाममा तिर्खा मेट्नका लागि बजारिया चिसो पेयपदार्थ नै सेवन गर्नुपर्छ भन्ने छैन,' जनस्वास्थ्यविद् उप्रेतीले भनिन्, 'वर्षैभरि पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेलामा, तातो वा चिसो जे पदार्थमा मिलाएर खान सकिन्छ, स्वाद र स्वास्थ दृष्टिकोणले पनि यो अति राम्रो तत्त्व हो ।' 

कागतीमा पाइने एउटा महत्त्वपूर्ण तत्त्व हो भिटामिन ‘सी’। भिटामिन ‘सी’को महत्त्वको बारेमा अहिले त धेरैजनाले थाहा पाइसकेका छन् । विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ले रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । हामीले हाम्रै वरिपरि पाइने स्वस्थकर खानेकुरामा जोड दिन एकदमै जरुरी रहेकाे जनस्वास्थ्यविद् उप्रेतीकाे सुझाव छ । 

  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १९:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया