logo-img

नेपाली नोटमा चुच्चे नक्सा छाप्ने विषयप्रति भारतको असन्तुष्टि, भन्यो- ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’
फाइल तस्बिर

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि त्यसमा भारतले असन्तुष्टि जनाएको छ । भारतले नेपालको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुनेसमेत दाबी गरेको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको बेला नेपालले एकतर्फी रूपमा निर्णय गरेको आरोपसमेत लगाएका छन् ।  भारतीय विदेशमन्त्री जयशंकरले यसबारे प्रतिक्रिया जनाउँदै नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको जिकिर गरेका हुन् ।

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि भारतमा तरंग फैलिएको हो । 

सोही विषयमा भारतीय एक पत्रकारको जिज्ञासामा विदेशमन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

उनले अगाडि थप भने, ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ । अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन् ।’

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।  





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १०:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया