logo-img

प्रधानमन्त्रीको दाबी : सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए ।  

‘निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने । 

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २ हजार ८ शय्या निःशुल्क उपलब्ध गराइएको भन्दै प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरुद्धको खोप निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए ।  

‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिस बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ’, उनले भने, ‘यस्ता कामले स्वास्थ्य क्षेत्रका अधिकार व्यवहारमा कार्यान्वयनका लागि आधारभूत अर्थ राख्दछन् ।’ 

संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल र अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने पनि उनको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १३:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया