नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप खेल्नका लागि हाल क्यारेबियन देश सेन्ट भिन्सेन्टमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार पहिलो अभ्यास म्याच खेल्दैछ ।
नेपालले पहिलो अभ्यास खेल सेन्ट भिन्सेन्टको स्थानीय क्लब विन्डवार्ड्स भल्कानोसँग खेल्ने भएको हो । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मंगलबार राति ८ः१५ देखि पार्कहिल प्लेयङ फिल्डको मैदानमा सुरु हुनेछ ।
नेपालसँगको पहिलो टी–२० का लागि विन्डवार्ड्सले किमानी मेलियसको कप्तानीमा १४ सदस्यीय टिमसमेत घोषणा गरेको छ । उसको टिममा रहेका १४ मध्ये चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका छन् ।
वेस्ट इण्डिजको सिनियर टिमबाट खेलिसकेका काओइब होज, जेर्मी सोलोजानो, शेर्मोन लुईस र टेडी विश्वप पनि नेपालविरुद्ध प्रतिस्पर्धा गर्ने विन्डवार्डसको टिममा रहेका हुन् । उसको टिममा रहेका अन्य खेलाडीले पनि यू–१९ विश्वकपका साथै क्यारेबियन प्रिमियर लिग अर्थात् सिपिएल खेलिसकेका छन् ।
हालै मात्र नेपालले वेस्ट इण्डिजको ‘ए’ टिमसँग घरेलु मैदानमा पाँच खेलको टी–२० सिरिज खेलेको थियो । र, नेपाली टोली केही समयको अवधिमा फेरि क्यारेबियन खेलाडीसम्मिलित टिमसँग खेल्न लागेको हो ।
नेपाल र विन्डवार्ड्सबीचको दोस्रो मैत्रीपूर्ण टी–२० खेल बिहीबार हुनेछ । त्यसपछि यी दुई टिमले तेस्रो तथा अन्तिम खेल आउँदो शनिबार खेल्ने तालिका छ । सेन्ट भिन्सेन्टको भ्रमण सकाएर नेपाली टिम १९ मेमा अमेरिका फर्किनेछ ।
नेपालले त्यहाँ २२ मेमा हस्टन हरिकेनसँग पहिलो अभ्यास म्याच खेल्ने तालिका छ । त्यसपछि नेपाली टिमले मे २३ र २४ तारिखमा हस्टनमै अभ्यास गर्नेछ । अभ्यासपछि नेपालले २६ र २८ मेमा क्यानडा र अमेरिकासँग विश्वकपको वार्मअप म्याच खेल्ने तालिका छ ।
नेपाली टिमले वार्मअपपछि विश्वकप खेल्नेछ । समूह चरणमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।
नेपालले नेदरल्याण्ड्स र श्रीलंकासँग अमेरिका तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेस्ट इण्डिजमा खेल्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।