logo-img

प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ, हतार गरेर केही हुन्न: कोइराला
‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनें, म ७६ (२) कै सरकार बन्नेमा विश्वस्त छु ’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा राजनीतिक अस्थिरता हट्ने र अर्थतन्त्रमा सुधार आउने दाबी गरेका छन् । मंगलबार काठमाडौंको एक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थिरता र समृद्धिकै लागि दुई ठूला दल मिलेर आलोपालो सरकारमा जाने निर्णय गरेको बताए ।

उनले अहिले मिडियामा कुन रूपको सरकार बन्ने हो भनी टीकाटिप्पणी चलेको भन्दै उनले ७६ (२) कै सरकार बन्नेमा विश्वस्त रहन आग्रह गरे । उनले भने, ‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनेँ । तर, मैले पहिले नै भनिसकेको छु, हामीलाई स्थिर सरकार चाहिएको हो । अब अर्थतन्त्रलाई अगाडि बढाउने हिसाबले दुई दल कांग्रेस र एमाले मिलेका हौँ ।’

उनले भने, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन । यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’

खगेन्द्र न्यु लाइफ एजुकेसन सेकेन्डरी स्कुल जोरपाटीले आयोजना गरेको अपांगता भएका विद्यार्थीहरूलाई आवासीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यतिबेला शिक्षाको अवस्था निकै नाजुक रहेको बताए । 

उनले भने, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं,यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसइईमा राम्रो नतिजा लिएर  पास हुनुभएको छ ।’ 

साथै उनले अहिले देशमा शिक्षा मात्र होइन, राजनीतिमा पनि के हुँदै छ भन्ने जनमानसको चासो रहेको बताए । 



कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, कांग्रेस नेता लोकेश ढकाल, भूपेन्द्र थापा, गोकर्णेश्वर नगरपालिका वार्ड नं–५ का वडाध्यक्ष नारायण सुवेदी, वार्ड नं–६ का वडाध्यक्ष नवराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याललगायत उपस्थित थिए । 



  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया