सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधि क्षेत्रले नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने भएका कारण आइसिटी क्षेत्रको विकासका लागि सरकारले नेपालको आर्थिक विकासका पाँच रणनीतिक क्षेत्रमा आइसिटीलाई समेत समावेश गरेको बताएकी छन् ।
बिहीबार ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अगामी आर्थिक वर्षको बजेटमा २०८० को दशकलाई नै आइसिटी दशकका रूपमा मनाउने सरकारले नीति लिएको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिलेको युग आइसिटीको युग हो । आइसिटी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने क्षेत्र हो । यसमा हामी कसैमा पनि दुईमत हुनुहुँदैन । पछिल्लो समयमा आएर नेपाल सरकारले सूचना प्रविधिको महत्वलाई आत्मसाथ गर्ने कुरामा गम्भीर भएर लागेको छ । आइसिटी क्षेत्रको विकासका लागि सरकारी तहमै एकरूपता थिएन । आज पनि कतिपय कुरामा छैन । तर पनि हामी लामो समयको छलफलपछि एकरूपता बनाउन सफल भएका छौँ । अहिलेको बजेट कार्यक्रममा नेपालको आर्थिक विकासका रणनीतिक क्षेत्र भनेर आइसिटीलाई समावेश गरेका छौँ । यसभन्दा पहिले कृषि, ऊर्जालगायतका क्षेत्रमा मात्र सरकारको ध्यान जाने गरेकोमा आधुनिक विश्वको बढ्दो प्रविधिलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।’
गत आर्थिक वर्षमै सात वटै प्रदेशमा आइसिटी रिसर्च सेन्टर स्थापना गर्ने र सबै तहका सरकारसँग समन्वय गर्ने नीति लिएको भए पनि दूरसञ्चार प्राधिकरण विभिन्न समस्यामा अल्झिँदा त्यो कामले पूर्णता पाउन नसकेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।