logo-img

दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्री कार्कीको पहल
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थालेका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उनले पहल सुरु गरेका हुन् । 

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई आज मुख्यमन्त्री कार्कीले कार्यालयमा बोलाएर रकम उपलब्ध गराउने विषयमा छलफल गरेका हुन् । सरोकारवालालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए । उनले आयोजनाको कार्यप्रगति, संस्थाको अवस्था र बजारका विषयमा समेत छलफल गरेका थिए ।  

मुख्यमन्त्री कार्कीले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने तथा पूर्णरूपमा सञ्चालन र बजारीकरण गर्न सङ्घीय सरकारसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा भएको उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर तथा मधेस प्रदेशको सप्तरीका किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । 

आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारूपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा समस्या भएकाले अहिलेको अवस्था आएको बताए । आयोजनाले दूध प्रतिलिटर ९८ रुपैयाँमा बिक्री गरिरहेको छ ।  





  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया