logo-img

योगमाया जलसमाधि स्मृति दिवस : राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

आठ मार्च अर्थात् विश्व नारी दिवस नेपालमा पनि मनाउने गरिन्छ । त्यस्तै २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि यहाँ राष्ट्रियस्तरबाट मनाउने गरिएको छ । यी दिवसकै अवसरमा नेपालका तीन तहका सरकारका साथै सरोकारवालाहरूले भव्य समारोह नै आयोजना गर्ने गर्दछन् । यस्ता दिवसहरू मनाउने क्रममा नेपालमा पनि रोजा लक्जमबर्ग, क्लारा जेटकिन, मिरावल परिवारका पेटिया, मिनर्भालगायत महिलाको नाम लिने गरिन्छ । उनीहरूले समाज रूपान्तरणमा निर्वाह गरेको भूमिकाको चर्चा राम्रैसँग हुने गर्दछ । 

विदेशी समाज सुधारक महिलाहरुको योगदानभन्दा पनि नेपालको सामाजिक रुपान्तरणमा लागेका महिलाको बलिदान, त्यागको चर्चा भने नेपालमा कमै मात्रामा हुने गर्दछ । यसले गर्दा नेपालमा यस्ता दिवसको उपलब्धि पनि कम हुने गरेको पाइन्छ । हामीले मनाउने गरेका दिवसहरूको प्रभावकारिता त्यतिबेला मात्र देखिन्छ जतिबेला दिवससँग सम्बन्धित स्वदेशका यस्ता वीर तथा योद्धाहरूको योगदानको स्मरण गर्न सकिन्छ । यसो गर्न सकिएमा समाजको परिवर्तन र रुपान्तरण पनि अर्थपूर्ण हुन जानेछ र यसबाट परिवर्तित समाजको रुपान्तरणमा पनि दिगोपना स्थापित हुन जानेछ ।

मानवशास्त्री बारबारा निम्री अजिजले ‘शक्ति योगमाया सङ्घर्षशील नेपालीको एक परम्परा’ शीर्षकको आलेखमा योगमायालाई यसरी स्मरण गर्नुभएको छ । उनको योगदान र सङ्घर्षलाई अहिलेको पुस्ताले पनि थाहा पाउनेगरी कुनै काम राज्यले गरेको देखिँदैन । 

नेपालको समाज रूपान्तरणको अभियानमा हामीले योगमायाको योगदानको मूल्याङ्कनलाई सही ढङ्गबाट गर्न सकेनौँ भने हाम्रा कुनै पनि अभियान तथा दिवसका कार्यक्रमहरूले सार्थकता नपाउन पनि सक्छन् । उनी निरक्षर भइकन पनि तत्कालीन समाजमा व्याप्त विभेद, कुरीति, कुसंस्कार हटाउन खेलेको भूमिका शायदै विश्वका अन्य महिलाले निर्वाह गर्न सकेका छन् तर पनि योगमाया आज नेपालमै गुमनाम जस्तै छिन् । उनलाई अझै पनि यस्ता दिवसहरूमा शायदै सम्झने गरिएको छ । योगमाया यो देशको गरिमा र गौरव हुन् । त्यसैले उनी राष्ट्रिय विभूतियोग्य भए पनि आज पनि राष्ट्रिय विभूतिका रुपमा स्थापित गर्न सकेको अवस्था छैन । उनको योगदानलाई विश्वभर त के नेपाली जनजनमा समेत पुर्‍याउन सकिएको छैन । 

राणाशासनको चरम तानाशाहका समयमा जन्मेकी उनले नेपालमा नारी मुक्तिका लागि गरेको सङ्घर्ष, त्याग र बलिदानको चर्चा स्वदेशमा मात्र होइन संसारभरि नै पुग्नुपर्ने थियो । हामीले नै त्यो गर्न नसकेको स्पष्टै देखिन्छ । यसका कारण आज उनी बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेकी छिन् । ‘यसै शताब्दीको सुरुमा पूर्वी नेपालमा एउटा असाधारण विद्रोह छेडिएको थियो । यस विद्रोहको नेतृत्व एकजना अत्यन्तै सङ्घर्षशील महिलाले गरेकी थिइन् । त्यस विद्रोहले तत्कालीन नेपालको राणाशासन र ब्राह्मणको हातमा रहेको शक्ति संरचनालाई सिधै चुनौती दियो र त्यस प्रकारको असाधारण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्णरूपले विस्मृतिको अन्धकारमा छोडिएको छ तथा इतिहासमा स्मरणसम्म पनि गरिएको देखिएको छैन,’ समाज परिवर्तनका लागि असाधारण विद्रोह छेड्ने योगमायाको योगदानलाई छायाँमा पारिएको छ । मानवशास्त्री बारबारा निम्री अजिजले ‘शक्ति योगमाया सङ्घर्षशील नेपालीको एक परम्परा’ शीर्षकको आलेखमा योगमायालाई यसरी स्मरण गर्नुभएको छ । उनको योगदान र सङ्घर्षलाई अहिलेको पुस्ताले पनि थाहा पाउनेगरी कुनै काम राज्यले गरेको देखिँदैन । 

को हुन् योगमाया ?
    
हाम्रो सर्वाेच्च हिमालले पानी पिलाउँछ
अरुण वरुणको शान त्यहीँबाट आउँछ 
ब्राह्मण भई सबै चीजको बिक्री गरेको
मालिक भई दुःखीहरूको वृत्ति हरेको 



सामाजिक यथार्थ र समाजका विषयवस्तुलाई कविताका यी हरफबाट प्रस्तुत गर्ने व्यक्तित्व उनै योगमाया हुन् । उनको जन्म भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा १९२४ असारमा भएको थियो । उनको पनि त्यो बेलाका आममहिला सरह सात वर्षमा बालविवाह भएको थियो । बालापन अनि बुहार्तन सहन उनले सकिनन् र घर बस्न नसकेपछि माइतीमा भागेर गइन् तर उनले माइतीमा समेत सहज जीवनयापन गर्ने अवस्था नदेखेपछि उनी आफूखुसी विवाह गरेर केही वर्ष भारतको आसाम फूलबारी आसपासको क्षेत्रमा बिताइन् । त्यहाँ उनलाई जीवन र जगतका बारेमा धेरै प्रवचन सुन्ने अवसर पनि प्राप्त भयो र पुनः आफ्नै जन्मथलो फर्केर आइन् । 

नेपाल फर्केपछि उनले आफू सानो छँदा भोगेका पीडा, सामाजिक विभेदको जरो पहिल्याउने अभियान सुरु गरिन् । यससम्बन्धी केही ज्ञान उनले भारत बस्दा प्राप्त गरेकी थिइन् र त्यसैबमोजिमको अभियान उनले नेपालमा सुरु गरिन् । आसामलगायतका भारतका स्थानहरूमा रहँदा उनले विभिन्न साधुसन्तको प्रवचनबाट आफूले पनि केही गर्नुपर्छ भन्ने साहस भर्न सकेको महसुस गरेका थिइन् । महिला भएर पनि केही गर्न सक्छु भन्ने आँट, हिम्मत उनमा जागृत भएको थियो । नेपाल फर्केपछि उनले आफ्नो अन्तर्निहित क्षमतालाई विस्तारै खार्नेतर्फ उनी लाग्छिन् । योग साधनाबाट आफूलाई माझ्दै लैजाने उनको अठोट भयो र त्यसैमा लागिन् । बिस्तारै उनको साहित्यक प्रस्तुति पनि आउन थाल्यो र साहित्यका माध्यमबाट पनि नागरिकमा चेतना जागृत गर्न सकिन्छ भन्ने लाग्यो । 



उनले मुखाग्र कविताका मार्फत समाज रूपान्तरणको आवाज प्रस्फुटन गर्न थालिन् । उनले समाजको वास्तविकता कवितामार्फत पनि जनजनमा पुर्‍याउन लागिन् । उनले भोगेको तत्कालीन समाज जुन समयमा राणाशासनको दमन, कुरीति र कुसंस्कारको जालो मुलुकभर जेलिएको थियो, त्यसका विरुद्ध आवाज उठाउन लागि परिन् । उनले बाह्रमणवाद, वर्ग विभेद्, लैङ्गिक, सती प्रथा, दास प्रथा, बालविवाह, जातीय विभेदका सबै विभेदको अन्त्य, पुनर्विवाह, नारी शिक्षा, भ्रष्टाचार उन्मूलनलगायत २६ बुँदे मागसहित धर्मराज्यको स्थापनाको नारा बोकेर काठमाडौँका तत्कालीन राणा शासकसमक्ष पेस गरेकी थिइन् ।
  
कवितामार्फत देशको रूपान्तरण गर्ने तथा नारी अधिकारको स्थापना गर्ने अभियानमा लागेकी उनका कविताहरू पनि लोकप्रिय हुने गरेका थिए । उनकै कविता सङ्ग्रहबाट एक कविता यस्तो थियो– 
 
    दौलतीया हुनु भयो त्यही निर्धाबाट
    आसामीले कर्जा तिर्यो तमसुक छ ठाडै
    छोरो थियो बालक बाबु मरेछ
    लोभी साहु माग्न गयो तिर्नु परेछ ।

यस्तो तत्कालीन समाजको बारेमा लेख्न सक्ने कवि योगमाया कवित्वको खानी हुन् ।  योगमायाले तत्कालीन समयमा राखेका विभिन्न मागमध्ये सती प्रथालाई १९७७ सालमा राणा सरकारले रोक पनि लगायो । दास प्रथालाई पनि हटाउने अभियान सरकारले चलायो । भनिन्छ, यस्ता कुप्रथा रोक्न योगमायाको योगदान सार्थक रहेको थियो । उनले सुरु गरेको अभियानबाट सरकारलाई पनि यस्ता कुरीतिहरू रोक्नका लागि सहयोग पुगेको थियो । 

माग पूरा गराउन सरकारलाई दबाब 

उनले राखेका माग पूरा गराउन पटकपटक आफ्ना अनुयायीका साथमा हिँडेरै काठमाडौँ पुगेकी थिइन् योगमाया । केही माग सरकारले पूरा गरे पनि तत्कालीन समयमा जनताले बोल्न पाउने अधिकार, सामाजिक विभेद, पढ्ने अधिकारलगायत जनताको मौलिक अधिकारका लागि पनि त्यस समय समाजका विभिन्न क्षेत्रमा पनि केही अगुवाहरुले अभियान थालेका थिए । ती आन्दोलनको सुनुवाइ हुनुपर्ने उनको माग थियो । 

सरकारले यस मागप्रति व्यवास्था गरे परिणाम नराम्रो आउने उनले धम्की पनि दिइरहन्थिन् । उनले सरकारले आफ्ना माग पूरा नगरेमा अनुयायीसहितको आफू पनि एकैपटक  आत्मदाह गर्ने योजना पनि सार्वजनिक गरिन् । १९९५ कात्तिक २६ गते भोजपुरकै उफ्रौलीटारमा विशाल यज्ञ आयोजना गरी त्यहाँको अग्निकुण्डमै आत्मदाह गर्ने तयारी उनले थोलेकी थिइन् । उनलाई सयौं अनुयायीले साथ दिएका पनि थिए । सयौं टिन घीउ, जौ, तिल, फलफूललगायतको व्यवस्था जुटाएको थियो । तर त्यसो हुन नदिइ सरकारले त्यहाँ जुटेका अनुयायीहरूलाई पक्राउ गरेको थियो । उनी भने प्रहरी आउने बोध भएपछि त्यहाँबाट अन्यत्र लागेकी थिइन् । यज्ञको समापनका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ भन्ने योगमायाको घोषणा अनुसार त्यसैबेला उनका दुई सय ४० जना अनुयायीले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरेका थिए । तर त्यस दिन त्यो अभियान सफल हुन भने पाएन । 

योगमायालाई आज पनि राज्यले राष्ट्रिय विभूतिका रूपमा सम्मान प्रदान गर्न नसक्नु उनीमाथिको मात्र नभएर सामाजिक जागरणकै एक अन्याय हो । योगमायालाई राष्ट्रिय विभूतिको सम्मान दिन अब ढिला गर्नु हुँदैन ।

सरकारले उनको माग सुनुवाइ गर्नुको साटो देशद्रोही भन्दै चार शहीदलाई १९९७ सालमा हत्या गरेपछि उनी झन् बढी क्रान्तिकारी भएर सरकारको विरोधमा लागिन् । यो घटनाले झनै योगमायाको मन साह्रै कुँडियो र उनलाई झन् बढी सरकारको विरुद्ध जाग्न मन लाग्यो । जनताले आप्नो अधिकार माग्दा ज्यानै लिनु घोर अन्याय हो भन्दै थप सामाजिक आन्दोलनका चरणहरू अगाडि बढाइन् ।  

जलसमाधीमा जाने कठोर निर्णय

२२ असार १९९८ मा हरिसयनी एकादशीको दिन थियो । वर्षाले अरुण नदी उर्लँदो थियो । योगमायाले सरकारलाई घुँडा टेकाउन जलसमाधि जाने निर्णय गरिन् । सो दिन उनीसहित ६७ जनाले उनीपछि पालैपालो अरुण नदीमा हाम फालेर जलसमाधि लिए । त्यस क्रममा एक जना बाँचे तर पछि उनले पनि पुनः जलसमाधि लिएर देह त्याग गरे । भनिन्छ, जलसमाधिका लागि अरू धेरै पनि लाइनमा थिए । तर, प्रहरी प्रशासन त्यहाँ आइपुगेपछि अरूलाई तितरबितर पारेको थियो । त्यतिबेला उनको त्यो भने एक ठूलो राजनीतिक आन्दोलन नै थियो ।  उनले आफ्नो जीवनमा नागरिक अधिकार, नारी मुक्ति तथा समाजमा व्याप्त कुरीति र भ्रष्टाचारका विरुद्धमा यो भन्दा अर्काे विकल्प पनि उनीसँग त्यस समयमा थिएन । 

झन्डै ८० वर्षअघि नै परिवर्तन र रूपान्तरणका लागि यस्तो राजनीतिक अभियान सञ्चालन गरिएको थियो । समाज रूपान्तरणका लागि भएको अप्रिय तर दुर्लभ घटना विश्वका मानव जातिले थाहा पाउनुपर्ने हक आज पनि छ । यस्तो अधिकारमा नेपाली महिला पनि कम थिएनन् र छैनन् भन्ने सन्देश पनि हामीले विश्वव्यापीरूपमा दिनुपर्दछ । समाज परिवर्तनका लागि योगमायाले छेडेको जस्तो आन्दोलन विश्वमा सायदै अरू कसैले गरेको होला ।

उनको आन्दोलन महिला वर्गमा मात्र केन्द्रित थिएन । उनले समाजका सर्वपक्षीय समस्यालाई समेटेर त्यसको समाधान राज्यसँग खोजेकी थिइन् । उनको आन्दोलनले जति चर्चा पाउनुपर्ने थियो, पाउन सकेको छैन । आखिर किन ? ऊ बेला उनी महिला भएकैले पछि परेकी थिइन् भन्नेहरूले अहिले पनि त उनको योगदानलाई समाजमा ल्याउन सक्छ । राणाशासनका समयमा नागरिक अधिकारको कुरा उठाउनु जटिल काम थियो । उनलाई आज पनि राज्यले राष्ट्रिय विभूतिका रूपमा सम्मान प्रदान गर्न नसक्नु उनीमाथिको मात्र नभएर सामाजिक जागरणकै एक अन्याय हो । योगमायालाई राष्ट्रिय विभूतिको सम्मान दिन अब ढिला गर्नु हुँदैन । रासस

  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया