logo-img

१३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा, आयोजना प्रमुख भन्छन्- ‘प्रेसर छ, छिट्टै काम सक्छौँ’

बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो ।

गत असार पहिलो साता नै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो । पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सवस्टेशन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।  

बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । गत ९ असारमा सर्वोच्चले रिट नै खारेज गरिदिएपछि पुनः काम सुरु गर्ने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । कपिलवस्तुको मोतिपुरदेखि सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन २०७८ सालदेखि निर्माण सुरु भएको थियो । 

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेशनको निर्माण भएको छ । २०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो । मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन १२ चैत २०७८ मा परीक्षण गरी सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सवस्टेशन ७ असारदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिए ।  

सर्वोच्चले रिट खारेजपछि अब काम तीव्र गतिमा हुने उनको भनाइ छ । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङक सवस्टेशन एकैपटक सञ्चालन गरिने चौधरीले बताए । उनका अनुसार पौँदीअमराईदेखि बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नुपर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै १५ वटा निर्माण गर्ने बाँकी रहेका छन् ।

१५ वटा टावरसँगै लाइनसमेत तान्न बाँकी रहेको आयोजना प्रमुख चौधरीको भनाइ छ । ‘काममा कुनै बाधा नभएको हुन्थ्यो भने यतिबेला १३२ केभी बुर्तिबाङ सवस्टेशन सञ्चालनमा आउने थियो, हाम्रो लक्ष्य असारमै सक्नुपर्ने थियो । तर, विभिन्न बाध्यात्मक परिस्थितिले गर्दा ढिला भयो,’ उनले भने, ‘अब छिट्टै कामलाई गति दिएर सक्छौँ, स्थानीयलाई मुआब्जा दिने काम पनि भइरहेको छ, विद्युत् प्राधिकरण केन्द्रबाटै छिटो काम सक्नका लागि प्रेसर छ, छिट्टै नै काम सक्छौँ र सञ्चालनमा ल्याउँछौँ ।’  



सवस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा निर्माण जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब ८३ करोड रुपैयाँको लागतमा निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुदेखि बुर्तिबाङ ८६ किलोमिटर दरुरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुनेछ । 

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आयोजना सम्पन्न गर्नका लागि आफूहरूले सहज वातावरण तयार गर्नका लागि भूमिका खेलेको बताइन् ।



आयोजनाले टावर निर्माण गर्दा प्रयोग हुने जग्गाको धनीलाई उचित मुआब्जा दिनका लागि आग्रह गरेको उनको भनाइ छ । सदरमुकाम बागलुङ बजारका आसपासमा केही वर्ष अगाडि नै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि पश्चिम बागलुङ भने जोडिन सकेको थिएन । 

अघिल्लो तीन वर्ष अगाडिदेखि विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ । अहिलेसम्म निसीखोला र तमानखोला केन्द्रीय लाइनले जोडिन सकेका छैनन् । 

यद्यपि प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको गाउँ–गाउँसम्म अहिले विद्युतीय पोल गाड्ने र तार तान्ने काम भने गरिरहेको छ । रासस   

  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया