logo-img

बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमका कारण २ हजार ७ सय क्षेत्र विस्तार

आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत २ हजार ७ सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ ।

केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत ३ करोड ६० लाख रुपैयाँ बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।

आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बिउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर २ हजार ७ सय ६३ रोपनीमा आलु उत्पादन गरी  बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए ।  

कृषकलाई उन्नत जातको आलुको बिउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको छ । सहकारीमार्फत कृषि उपजको उत्पादन गर्दै आएकामा आलु प्रवर्द्धन कार्यक्रमले सहकारीलाई राहत मिलेको जैमिनी नगरपालिका–४ सर्कुवास्थित साना किसान कृषि सहकारीका अध्यक्ष प्रभाकर पौडेलले बताए ।

अदुवा र बेसारखेतीलाई प्रोत्साहन गर्दै आएको सहकारीले चालु आवमा खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३५ रोपनी जग्गामा आलुखेती गरेको बताए । उनले चार मेट्रिक टन आलु उत्पादन गरेर सहकारीमार्फत बेचिएको जानकारी दिए ।

बागलुङ आलु उत्पादनका लागि उर्वर जिल्ला मानिन्छ । विशेषगरी ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा अधिक आलु उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस  





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया