logo-img

उपसभामुख पत्र प्रकरणमा रास्वपाले भन्यो- सञ्चार माध्यमले अतिरञ्जित गरे, आर्थिक लेनदेन भएको देखिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । रास्वपाले एक विज्ञप्ति जारी गर्दै  भिसाका लागि आर्थिक लेनदेन नभएको दाबी गरेको छ । 

‘प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण भएको छ। केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिन्‌का साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।  

रास्वपाले सञ्चार माध्यमले अतिरञ्जित रूपमा सामग्री प्रस्तुत गरेकोसमेत आरोप लगाएको छ ।   रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चार माध्यमहरूमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरू जस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन ।’

रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच जनालाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र फरकधारले सार्वजनिक गरेको थियो । पछि अन्य सञ्चारमाध्यमले समेत यो विषयलाई प्राथमिकता दिएका थिए । 

झण्डै एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजाने गरी दूतावासमा पत्र पठाएकी थिइन् । 



यो पनि पढ्नुहोस् :  के उपसभामुखले पैसा लिएर पाँच जनालाई अमेरिका लैजान खोजेकी थिइन् ?



  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया