logo-img

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ७६ जनावर मरे, २२२ को उद्धार
फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा १५ प्रजातिका ७६ जनावर मरेका छन् । तीमध्ये सबैभन्दा बढी चित्तल रहेका छन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् ।  

तीमध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी  तिवारीले बताए । 

मृतावस्थामा भेटिएका जनावरमध्ये ७०  जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए । 

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३  सर्प, ११/११  बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए । 



चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई/दुईवटा, सुन कछुवा र घडियाल गोही एक/एकवटाको उद्धार गरिएको छ । अन्य जनावर नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । रासस 



  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया