logo-img

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत वर्ष निर्यात शून्यमा झरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको ६ भने निर्यात शून्य देखिएको छ ।

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिए । उनका अनुसार आयातबाट लक्ष्यभन्दा १ सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत आवमा ५१ लाखको लक्ष्य राखेकामा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख झाले बताए । उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व सङ्कलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था थियो । आव २०७९/८० मा ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ३५ लाख ३८ हजार रुपैयाँ मात्रै सङ्कलन भएको थियो । 

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार प्रमुख प्रमुख झाले बताए । यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् । 

झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौंबाट ल्याउने गरेका छन् । रासस 





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया