logo-img

बागमतीका मुख्यमन्त्री लामा शपथ लिँदै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
फाइल तस्बिर

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम छ ।

उनी मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लामालाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।

संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो । बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धनअन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर, एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीको टुङ्गो लागिसकेको छ ।

एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने सहमति भएको छ । 

यस्तै, कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ । 



कांग्रेसले मन्त्रीको टुंगो भने लगाउन बाँकी छ । 



  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया