नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेशका मन्त्रालय तथ अन्य नियुक्तिका भागबन्डा टुंग्याएका छन् । शनिबार दुई दलका नेताहरू काठमाडौंमा बसेर मन्त्रालयलगायतको भागबन्डामा टुंग्याएका हुन् ।
बैठकमा कांग्रेसका तर्फबाट प्रदेश संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय सभाका पूर्वसदस्य रमेशजंग रायमाझी र पार्टीका प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ सहभागी थिए।
त्यस्तै, एमालेबाट मुख्यमन्त्री एवं प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगर र पार्टीका प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी सहभागी थिए ।
कोशीमा हाल एमालेको नेतृत्वमा सरकार छ । सोही सरकारमा कांग्रेस सहभागी हुने भएको छ । कांग्रेसले र एमालेले चार–चार मन्त्रालयमा सहमति गरेका छन् । जसअनुसार कोशी प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित पाँचजना र कांग्रेसबाट चारजना रहनेछन् ।
कोशीम कांग्रेसले यसअघि माओवादीले लिएका तीन मन्त्रालय र थप एक मन्त्रालय पाउने छ । जसअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको भागमा परेको हो । थप एक मन्त्रालयमा कांग्रेसले उद्योग, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयमध्ये एउटा रोज्न पाउने भएको छ।
आजको बैठकमा कांग्रेसले सरकारको नेतृत्वमा पनि आलोपालो गर्नुपर्ने प्रस्ताव गरे पनि त्यस विषयमा भने सहमति हुन सकेन । सो विषयमा केन्द्रबाटैसहमति गरेर टुंगो लगाउने विषयमा दुवै दल सहमत भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।