अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि गम्भीर अवस्थामा छ । अनि मलाई लाग्यो कि हामी एकजुट भएर जानुपर्छ । नत्र भने यो पार्टी रहँदैन । पार्टीको धेरै बदनामी भइसेकको छ ।
तपाईंहरू कतिको युट्युब हेर्नुहुन्छ, न्युज पढ्नुहुन्छ । प्रजातन्त्रको बदनाम भइसकेको छ । प्रजातन्त्र भनेको देख्नु भो यही हो ? ‘तपाईंको बुबाहरू त बेबकुफ हुनुहुँदो रैछ’ मलाई भनेको । कसले भनेको म भन्न चाहन्न । ‘१९/१९ वर्ष जेल बसेको प्रजातन्त्र ल्याएको आज देखिहाल्नुभो । प्रजातन्त्रको अवस्था कस्तो रैछ । भ्रष्टाचार हुँदो रैछ प्रजातन्त्रमा । सबैलाई माइनस गरिँदो रैछ ।
प्रजातन्त्रमा विदेशीहरू घुस्दा रैछन् । अनि तपाईंले के राम्रो काम गर्नुभयो ? तपाईंको बुबाहरूले के गर्नुभयो ? यही हो देशको अवस्था ? यही बनाउन बुबाहरू लडेको हो ? १९ वर्ष जेल बसेको कसको लागि ?’ भनेर यस्ता कोइसन्सहरू मलाई आउने गर्दछ ।
म धेरै मान्छेलाई भेटिराखेको हुन्छु, राजनीतिभन्दा बाहिरको मान्छेलाई । बाहिरको मान्छेहरूसित सल्लाह भइराखेको छ । मलाई यति दुःख लाग्यो, जनताका समस्यामा नेपाली कांग्रेस कहाँ छ ? आज तपाईंहरू यहाँ आउनुभएको छ, तपाईंहरूलाई धेरै पछि भेटेँ । मलाई लाग्यो तपाईंहरूले नै यो पार्टीलाई बचाउने हो । किनकि बिपीको लिगेसी तपाईंहरूसँग छ । जसरी बिपीको लिगेसीलाई गिरिजाबाबुले बचाएर राख्नुभएको थियो । अब त्यो लिगेसीलाई बचाउने काम तपाईंहरूको हो । हाम्रो हो । यसैले हामी एकजुट हुनुपर्छ भन्ने मलाई लाग्यो ।
सानो सानो इगो, घटनाहरू र सानातिना कुराहरूलाई हामीले बिर्सनुपर्छ । हामीले बिर्सेर एक भईकन यो पार्टीलाई बचाउनुपर्छ । जहाँ गणेशमानजी, किसुनजी, सुवर्णशमशेरजीजस्ता नेताहरूको इतिहास बोकेको, पिताजी कृष्णप्रसादले यत्रो राणा शासन हटाउनुभयो, यत्रो काम गरेको पार्टीलाई आज बदनामी बनाएका छौँ । हामी बदनाम भएका छौँ । त्यसैले गर्दा यो सुधार्ने काम तपाईंहरूको हो । तपाईंहरूको जिम्मा हो । म अरू कसैबाट आश गर्दिनँ ।
बिपीको सत्य रूपले जसले लिगेसी बोकेको छ, जसले बिपीको सिद्धान्तलाई अगाडि बढाएको छ, त्यो व्यक्तिहरूले मात्रै यो पार्टीलाई बचाउन सक्छ ।
आज यत्रा युवाहरू पलायन भइराखेका छन् । त्यो युवाहरूलाई पनि हामीले निराश बनाएका छौँ । नेपाली कांग्रेसले निराश बनाएको छ । मेरो अरू पार्टीहरूमाथि आश पनि छैन । म उनीहरूलाई दोष पनि दिन्नँ । किनभने हाम्रो उनीहरूसँग संलग्नता छैन । उनीहरूसित हाम्रो कुनै सरोकार पनि छैन । तर, नेपाली कांग्रेस आज सिद्धान्तविहीन पार्टी भएको छ । सिद्धान्त नभएको कुनै पार्टी बाँच्न सक्छ ? संसारको एउटा पार्टी देखाइदिनुस् जहाँ सिद्धान्त छैन । सिद्धान्त नभएसि पार्टी जिरोमा हुन्छ । खतम भएर जान्छ । आज पार्टीको त्यो अवस्था छ । मैले महसुस गरेँ ।
मैले सबै कुरा बिर्सेर अब शेखर दाइको नेतृत्व स्विकार्छु, शेखर दाइलाई हामीले अगाडि बढाउनैपर्छ । उहाँले जति सक्नुहुन्छ बल र बुताले काम गरिराख्नुभएको छ । उहाँले बिपीको सिद्धान्त, गिरिजाबाबुको संगठनलाई बचाउने प्रयास गर्नुभएको छ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद जुन बिपीको भन्नुहुन्थ्यो, त्यो कुरालाई हामीले अगाडि बढाउनुपर्छ । अहिले न राष्ट्रिय एकता छ, न प्रजातन्त्र छ नत समाजवाद नै छ । कुनै सिद्धान्त छैन । यो त एउटा सिद्धान्त दिएको हो नि बिपीको पार्टीको लागि । यो कुरा हामीले बिर्सिसकेका छौँ । गिरिजाबाबुले जुन सहमति, सहकार्य भन्नुभएको छ त्यो सहमति, सहकार्यलाई कायम राखेर नेपाली कांग्रेसले यो मुलुकलाई लिड गर्ने बेला आएको छ । हामीले लिड गर्ने हो ।
हामीले गठबन्धन गरेर यो नेतालाई जिताउने, त्यो नेतालाई जिताउने ? गठबन्धनबाट जनतामा सबैभन्दा बदनामीहरू जितेर आउँछन् । अचम्म लाग्छ मलाइ त । जब जनताले सपोर्ट गरिराछ त्यो हार्छ । यो कस्तो प्रजातन्त्र हो म नै कोइसन गर्न थाल्या छु । सबैभन्दा अनपपुलर मान्छे जित्छ जो पपुलर छ ऊ हार्छ यो कस्तो प्रजातन्त्र ?
सही व्यक्ति नआएकाले यो पार्टी ध्वस्त भएर गइरहेको छ । म मात्रै होइन हामी सबै गल्ती गर्छौं । गलत मान्छेलाई भोट हाल्छौँ । जिताएर ल्याउछौँ र पछि पछुताउँछौँ । त्यसले गर्दा यहाँहरू यहाँ आउनुभएको छ । अब हामी जिल्ला जिल्ला जानुपर्छ । काठमाडौंमा बसेर हुँदैन । एउटा म्यासेज लिएर जानुपर्छ । नेपाली कांग्रेसलाई हामीले पुरानो अवस्थामा फर्काउँछौँ ।
नेपाली कांग्रेसलाई कसैले पनि समाप्त गर्न सक्दैन । यो एउटा प्रजातान्त्रिक पार्टी हो । यसको मूल्य मान्यता छ, सिद्धान्त छ भने हामीले त्यो आचरण देखाउनुपर्छ । युवाहरूलाई हामीले ल्याउनुपर्छ । उनीहरूको भावना बुझेर अहिलेको परिस्थितिमा, मोर्डन युगमा युवाले के चाहन्छ भन्ने कुरा बुझेर हामीले अगाडि बढ्नुपर्छ ।
अब नयाँ परिस्थितिमा हामी गइरहेका छौँ । नयाँ परिस्थितिमा देश अगाडि बढिरहेको छ । संसार अगाडि बढिरहेको छ । त्यो परिस्थितिलाई बुझेर हामीले हाम्रो पार्टीमा पनि परिवर्तन ल्याउनुपर्छ । युवाहरूले चाहेको कुरालाई हामीले पूर्णता दिन सक्नुपर्छ ।
बिपीले जहिले पनि हामीलाई भन्नुहुन्थ्यो ‘प्रजातन्त्र तब मात्रै सस्टेनेबल हुन्छ, जब मुलुकमा विकास हुन्छ । जब हरेक गरिबले विकासलाई महसुस गर्छ । फिल गर्छ । अनि मात्रै प्रजातन्त्र बलियो हुन्छ । नभए प्रजातन्त्रको कुनै आवश्यकता छैन ।’
वास्तवमा अहिले प्रजातन्त्र नै छैन । जनताले विकास फिल गरेको छैन । प्रजातन्त्र फिल गरेको छैन । गन्जागोल छ मुलुकको अवस्था । त्यो अवस्थाबाट निकास दिनको लागि हामी एक हौँ । शेखर दाइलाई जिताएर ल्याउने । पद छोड्नु । पद सबैलाई दिन सकिँदैन । मलाई साथीहरू भन्नुहुन्छ, तपाईं बार्गेनिङ गर्नुस् शेखरदा सित । के दिने उहाँले तपाईंलाई, कहाँ एडजस्ट गर्ने, शशांकलाई कहाँ एडजस्ट गर्ने चिन्ता भएर होला सायद । तर, मलाई कुनै पद चाहिँदैन । उहाँलाई जिताएर ल्याऊँ अनि उहाँले आफैँ विचार गर्नुहुन्छ । कहाँ कसलाई एडजस्ट गर्ने ? के गर्ने ?
अहिले हामीले पद खोज्यौँ भने कसरी हामी अगाडि बढ्न सक्छौँ ? एउटा व्यक्तिले सबैलाई पद दिन सक्छ ? सक्दैन नि । कतिले त स्याक्रिफाइस गर्नुपर्छ । जसरी बिपीलाई जिताउनका लागि बिपीको लिडरसिपलाई अगाडि बढाउनको लागि सबै परिवार भाइहरू मिलेर सहयोग गरेको थिए, त्यसरी नै हामीले शेखर दाइलाई सहयोग गर्नुपर्छ । मैले हाम्रो परिवारले सहयोग गर्नुपर्छ भनेको तपाईंहरूको सहयोग त छँदै छ । अहिले परिवारको कुरा आएकाले मैले भनेको ।
अर्को कुरा मैले मेरो भाउजुहरूसित कुरा गरेको थिएँ । मैले प्रकाश दाइको श्रीमतीसित कुरा गरेको थिएँ । उहाँले भन्नुभयो, ‘तपाईं भन्दिनुस् हाम्रो पूरा परिवारले शेखरलाई सहयोग गर्छ । सबैले शेखरलाई सपोर्ट गर्छ । प्रकाशले, मनीषाले, सिद्धार्थले सपोर्ट गर्छन् ।’
त्यसपछि मैले इन्दिरा भाउजुसँग सोधेँ (ज्योति दाको परिवार) तपाईंको के छ विचार ? म त शेखरदालाई सपोर्ट गर्ने भएँ भन्दा उहाँले हाम्रो पूरा परिवारले शेखरलाई सपोर्ट गर्ने हो भन्नुभयो । भनेसि हामी सबै एक ठाउँमा आइसक्यौँ । मलाई विश्वास छ, शशांकले पनि अहिलेको परिस्थिति बुझेर सपोर्ट गर्नुहुन्छ ।
किनभने बिपीको लिगेसी यही हो । शेखरले बोकेर हिँड्या छन्, बिपीको लिगेसीलाई । त्यसलाई हामीले समर्थन गर्नुपर्छ । सानातिना कुरा बिर्सनुपर्छ ।
अब बिपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त लिएर हिँड्ने हो भने शशांकले पनि यहाँ आउनैपर्छ । र उहाँ आउनुहुन्छ मलाई विश्वास छ ।
अब राष्ट्रपतिको बारेमा सानो कुरा भन्छु । मलाई चित नबुझ्या कुरा । राष्ट्रपति भन्या साझा हो कुनै पार्टीको हैन । राष्ट्रपतिले को मान्छेलाई कहाँ नियुक्ति गर्ने त्यो राष्ट्रपतिले भन्ने हैन । कसलाई यो ठाउँमा राख्ने नराख्ने त्यो कुरा राष्ट्रपतिको हैन । राष्ट्रपति धेरै माथि उठेर काम गर्ने हो । राष्ट्रपतिले कोटा लिने हैन । तर, हिजोआज के भयो भने नेपाली कांग्रेसले कोटा दिन्छ, राष्ट्रपतिलाई । राष्ट्रपतिले कोटा लिन हुन्छ ? त्यत्रो हाइपोष्टले कोटा लिने ? मैले मन्त्रीको विरोध गर्या हैन । मन्त्री राम्रो मान्छे बन्नुभाछ समर्थन छ । तर, पार्टीले मन्त्री बनाउन सक्थ्यो नि त राष्ट्रपतिको कोटा रे । अनलाइनमा न्युज हेर्दा नि लाज लाग्यो मलाई ।
(शनिबार पूर्वजिल्ला सभापतिहरूले काठमाडौंको आनन्द इभेन्टमा गरेको कार्यक्रममा सुजाता कोइरालाले गरेको भाषण जस्ताको त्यस्तै)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।