सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । मन्त्री थापाले सरकारको नीतिविपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उनलाई बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिए ।
जोशीले भने,‘प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीतिविपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नुभएको हो ।’
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मागबमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएका थिए । बर्खास्तमा परेका मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुन् ।
प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । उनले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
प्रदेशसभाको आजको दोस्रो बैठकको विषेश समयमा सभामुखबाट समय लिएर बोल्ने प्रदेशसभाका सदस्यले वर्षासँगै उत्पन्न विपद्का घटनाबाट मृत्यु हुनेलाई क्षतिपूर्ति र प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।
विशेष समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले भनाइ राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।