शीर्षक त हुनुपर्ने हो : ‘यो काठमाडौं, हाम्रो काठमाडौं ।’ मेरा लागि काठमाडौं भनेको जीवन हो । मेरा प्रिय लेखक कुमार नगरकोटीका लागि यो शहर नभएर प्रयोगभूमि होला । मेरा लागि उनी कुमार नगरकोटी नभएर ‘कुमालकोठी’ मात्रै हुन् । एक नम्बरका डर छेरुवा । आफ्नै पात्रहरू आएर धुस्नु चुटान गरी देलान् भनेर बहुतै चिन्तित । उनी रात परेपछि मात्रै मसानको भ्रमणलाई अहमियत दिन्छन् । किन दिन्छन् ? त्यो मलाइ थाह छ । रात परेपछि भूत पनि मसानघाटमा बस्दैन । कुमालकोठी भूत होइन । उ त स्टक एक्सचेन्जको समीक्षक हो जसलाई स्टक एक्सचेन्जको बारेमा केही पनि आउँदैन । यो त मंगलाचरण मात्रै हो कुमालकोठीको । अब मेरो कुरा गरौं ।
म कोलाहलमय काठमाडौंलाई मन पराउँछु । म निरन्तर आवाजहरूको शहर काठमाडौंमा हुर्किएको मान्छे । नेपालमा एक–दुई जनालाई हेरेर मात्रै हुन्छ त ? शहरकै रूपमा त यो शहर काठमाडौं कहिले पो कोलाहलमय थिएन र ?
काठमाडौं शहरमा देवी देवताहरू छ्यापछ्यापी भेटिन्छन् । जताततै । वृक्षहरूको कापकापमा देवताको मूर्ति भेटिन्छन् । वृक्षहरूकै ओट र आडमा कतै कुमारीस्थान बनेका हुन्छन्, कतै नागस्थान । हिजोआज बाजे–बराजुले आफनो निजी जग्गामा बनाएका मन्दिर परिसरको बेचबिखन सुरु भएको छ ।
एक समय यस्तो पनि थियो जब मानिसहरूको कोलाहल बन्द हुन्थ्यो । त्यसपछि शहरका सार्वजनिक सम्पत्तिका परिसरमा उभिएर कुकुरहरू भुक्न थाल्दथे । रात परेपछि स्वयंसेवकका रुपमा शहरको पहरेदारीमा खटिएका हुन्थे ती कुकुरहरू । झिसमिसे बिहानमा त्यतिबेला ती कुकुर भुक्न छाड्थे जतिबेला शहरका भित्री भागमा बस्ने मानिस पशुपतिनाथको दर्शन गर्न खाली खुट्टा ‘द्यौःपाटन’ तिर लम्किन्थे । विचित्रको थियो पशुपति मन्दिरप्रति जनताको आकर्षण । त्यो आकर्षण आजपनि छ । तर, आजको मानिस शिवको आकर्षणले तानिँदैन । उ भगवानसँग जीवनको अर्थ खोज्दैन । खोज्छ भने एक चिलिम गाँजा खोज्दछ ।
काठमाडौं शहरमा देवी देवताहरू छ्यापछ्यापी भेटिन्छन् । जताततै । वृक्षहरूको कापकापमा देवताको मूर्ति भेटिन्छन् । वृक्षहरूकै ओट र आडमा कतै कुमारीस्थान बनेका हुन्छन्, कतै नागस्थान । हिजोआज बाजे–बराजुले आफनो निजी जग्गामा बनाएका मन्दिर परिसरको बेचबिखन सुरु भएको छ । नाती–पनातीबाट मन्दिर परिसरमा रोपिएका वृक्षहरूको कटानी गरेर अग्ला अग्ला घर बनाउने चलन सुरु भएको छ । जग्गाको भाउ अकासिएको यो अवस्थामा आखिर कता जानु ? मन्दिर मासेर घर बनाएको पनि त होइन । देवताको दर्शन गर्न जो आए पनि हुन्छ घर कम्पाउन्डभित्र । हामी आफ्नै सुरक्षामा लागेका छौँ । त कसले कसलाई रोक लगाएको छ र ?
पहिले पहिले यो देश तीन शहर नेपालको नामले बढी जानिन्थ्यो, बुझिन्थ्यो र चिनिन्थ्यो । त्यतिबेलाको भूगोलमा सरकारका जिम्मावाल र गुठियारहरूले नेपाली संरचनाको संरक्षणमा त्यति ख्याल नपुर्याए पनि ढुंगेधाराहरू साबुत थिए । मसानघाट साबुत थिए । राजकुलो र नयाँ कुलाहरू पनि संरक्षित थिए । उनीहरुले भूगोलको संरक्षण नगरेको भए यति पनि थाह हुने थिएन । उसै पनि स्कूलका विद्यार्थीहरूका लागि भूगोलको अध्ययन अहिले पनि उत्तिकै कठिन बिषय बनेको छ ।
यो देशमा ‘हिन्दुत्व’ को नाममा यतिखेर जसरी राजनीतिको रोटी पकाउने चलन शुरु भएको छ, त्यो नयाँ र अनौठो कुरा होइन । महत्वपूर्ण कुरा यतिमात्र हो कि– देशका जनता हिन्दू बहुल भएर पनि हामी नेपाली हिन्दुत्वको ‘हिन्दुस्तानी’ कर्मकाण्डी जन्जालमा फँसेका छैनौं । यो अर्कै कुरा हो, हिन्दू जनसंख्याको अन्तिम संस्कारका लागि ‘उनीहरू’ नदी किनारामा घाटहरूको निर्माण गर्दैछन् ।
आजभन्दा ४०–५० बर्ष पहिले मेची–महाकाली सीमा हाम्रो ‘राष्ट्रिय’ दृष्टिको पहुँचमा आइसकेका थिएनन् । काठमाडौं, पाटन र भक्तपुर तीन शहर नेपालले त्यतिबेलासम्म पनि पूरै नेपालको प्रतिनिधित्व गर्दथ्यो । वैभवको खानी थियो यो उपत्यका । धनधान्यले भरिएको । मञ्जुश्रीले नागदह नामको पोखरीको दक्षिणतिर ठडिएको चोभारको डाँडो काटेर बागमती बहाएपछि पानीले सहज निकास पायो । त्यहीबेलादेखि काठमाडौं बिस्तारै व्यवस्थित भयो नै, सम्पन्न पनि भयो । आधा शतक अघिसम्म उपत्यका छिचलेर बाहिर जाने बाटाघाटा नियन्त्रित थिए । शहर भित्र छिर्ने सुगम बाटो थिएन । भीमढुंगा पश्चिमको भन्ज्याङ थियो जसलाई जनजिब्रोले ‘भेडुंगा’ भन्ज्यांग भन्थ्यो । उत्तरमा पाँचमाने भन्ज्याङ थियो । यी दुबै भन्ज्याङको महत्व अन्तर्राष्ट्रिय नाकाको भन्दा अलिकति पनि कम थिएन । यी दुबै नाकाको पहुँच धादिङ र नुवाकोटसम्म एकछत्र थियो ।
सातसालको क्रान्तिपछि बनेको ‘बाइरोड’ अर्थात् त्रिभुवन राजपथले दक्षिण जोड्ने नाका चन्द्रागिरिको महत्व घटाइदियो । काठमाडौं शहरमा त्यतिबेला देखिने दुई चारवटा मोटर गाडी मानिसले चन्द्रागिरिको बाटो आफ्नो काँधमा बोकेर ल्याएका थिए । डाक्टरी पढेर पनि सक्रिय राजनीतिमा लागेका तुलसी गिरि चन्द्रागिरिको बाटो मानिसले बोकेर ल्याएको मोटर चढेर काठमाडौं शहरमा टहलिने केही सौखिनमध्येका एक थिए ।
उपत्यकाको पूर्वमा भक्तपुर शहर साँगा भन्ज्याङसम्म फैलिएको थियो ।
यही थियो त्यतिबेलाको काठमाडौं उपत्यका । यो उपत्यकाको एउटा विशेषता के हो भने यहाँ हरेक दशकमा एउटा नयाँ बस्ती र एउटा नयाँ बिचारको जन्म हुने गर्दछ । शासनमा बस्ने मानिसहरू– चाहे ती ऐतिहासिक कोतपर्वमा मारिएका भारदारका सन्तान हुन अथवा ऐतिहासिक कोतपर्वपछि भर्तीमा परेका भारदार हुन्– सबैको रुपान्तरण हुने गर्दथ्यो । राजा–महाराजा, भाइ–भारदार र साहू–महाजनको जीवन राजकीय र भव्य हुने गर्दथ्यो । यो उपत्यकामा हनुमानढोका नै राजदरवारको विशाल बगैँचाका रुपमा स्थापित थियो : फल र फूलको भण्डार । अन्नवालीको भीमकाय भकारी । उत्तरी राज्य तिब्बतको राजधानी ल्हासा शहरसंग प्रचूर ब्यापार । काठमाडौं उपत्यकामा जहिले पनि र जति पनि राज्य र उपराज्य थिए ती सधैँ गुलजार थिए । उपत्यका समृद्ध थियो । शून्य त कहिल्यै छँदै थिएन ।
अहिले पो उपत्यका शून्य छ : लोकप्रिय गल्लीहरुमा सत्तासीनको आवाजमात्र सुनिन्छ । सत्तासीनको त्यो आवाजमा ध्वनि पनि छैन, गति पनि छैन । नगरका निर्वाचित नेताहरु कर्कश कराउँछन गाँजा तानेको सुरमा । खुलामञ्च मासेर मोटरपार्क बनाउन चाहन्छन् । अकूत पैसा कमाएर समाजमा आफ्नो दवाव बढाउन चाहन्छन् । सुनधारा मासेर ढुकुटीमा रुपैयाँ थुपार्न चाहन्छन् । उनीहरुले इमानको नाममा चुनाव जितेको होइन । जमानका लागि पनि होइन । पछिल्लो समयमा काठमाडौं तरल हुन थालेको छ । हिजोको समयमा पनि मानिसले यो शहरमा दूध र पानीको सपना देखेर जीवन बिताएका थिए । तै पनि, दूध र पानीको हाहाकार, कुनै सरकारको पालामा पनि, कहिल्यै रोकिएन । जनता सरकारी स्वामित्वको दुग्ध बिकास संस्थानको उत्पादनमा विश्वास गर्ने, दुग्ध विकास संस्थान मागअनुसार दूधको सप्लाइ गर्नै नसक्ने । निर्दलीय पञ्चायत देखिको यो विसंगति यो गणतन्त्रमा पनि जारी छ र सक्रिय रूपले जारी छ ।
प्राचीन सभ्यताको केन्द्र मानिएको ‘हिमवत्खण्ड’ शास्त्रहरुमा बर्णित शब्दमात्रै होइन, नेपालको बृहत् सांस्कृतिक परिचयको मानक हो । नेपाल देश र नेपाली राज्यको इतिहास राजनीतिक र सांस्कृतिक भूगोलका दुई पाटामा स्पष्टसँग बाँडिएका छन । यी दुवैको गति समान प्रकृतिको छ । नेपाल देश होइन, यो त एउटा सभ्यता हो– सम्पूर्ण सभ्यता । यो देशले आफ्नो त्यो परिचयलाई सामान्य मानेको छ भने त्यो यस देशका जनताको महानता हो । यो देशमा ‘हिन्दुत्व’ को नाममा यतिखेर जसरी राजनीतिको रोटी पकाउने चलन शुरु भएको छ, त्यो नयाँ र अनौठो कुरा होइन । महत्वपूर्ण कुरा यतिमात्र हो कि– देशका जनता हिन्दू बहुल भएर पनि हामी नेपाली हिन्दुत्वको ‘हिन्दुस्तानी’ कर्मकाण्डी जञ्जालमा फसेका छैनौं । यो अर्कै कुरा हो, हिन्दू जनसंख्याको अन्तिम संस्कारका लागि ‘उनीहरू’ नदी किनारामा घाटहरूको निर्माण गर्दैछन् । हामी उज्यालो लागि घरमा जडान गर्ने बिजुलीको अभाव भएपनि मृत देहहरूलाई खरानी बनाउन ‘इलेक्ट्रो–क्रिमेटोरियम’ को स्थापना गर्दैछौं ।
यतिबेला तनावग्रस्त छ काठमाडौं । अँध्यारो छिँडीमा बलेको जिरो वाटको गुलुपको अपर्याप्त प्रकाशमा उसको निधारमा परेको चाउरी देखिँदैन । शहरको निधारमा परेका चाउरीलाई आँखाका परेलीले छोप्न सक्दैनन् । शहरका सडकमा, गल्लीमा, चोकमा र भवनमा देखापर्ने सभ्यता अन्यत्र कतै देखा पर्दैन । शहर चिनियाँ उत्पादनका फेसनमा अलमलिएको छ ।
के यो ‘कन्ट्रास्ट’ होइन त ? कि यसैलाई बिकास भन्ने हो ? निजगढ, मधेशमा जंगल फाँडेर विमानस्थल बनाउन जुटेका सरकार र उनका सैन्यवललाई के भन्ने हो ? श्री तीन महाराजहरूको सरकारले ‘ब्रिटिस इण्डिया’ सरकारलाई रेलको पटरी बनाउन जंगल फाँडेर काठ ‘सप्लाइ’ गरेका थिए । यो सप्लाइबाट कति आम्दानी भयो ? त्यो कसैलाई थाह छैन । उतिबेला हिसाब गर्ने कम्प्युटर थिएनन् । जनताको भर गर्ने जमाना थिएन । जे थियो, श्री ३ महाराजको हुकुम थियो ।
देशमा पहिलो पटक ‘जनमत संग्रह’ सम्पन्न भएको थियो २०३६ सालमा । त्यो बेलासम्म काठमाडौं उपत्यका हिमवत्खण्डबाट चोइटिएर उछिट्टिएको थिएन । मेरो सम्झनामा शिवपुरीको जलाधार क्षेत्रबाट उपत्यकाको बाटो हुँदै दक्षिण रौतहटतिर बग्ने नदीहरूको प्रवाह अहिले दुर्गन्धित नालामा परिणत हुँदै गएका छन । भक्तपुरको पवित्रतालाई समेट्ने हनुमन्ते नदी र मनमती (मनोहरा), काठमाडौंको वागमती, रुद्रमती (धोवीखोला), इच्क्षुमती राजनदी (टुकुचा), बिष्णुमती र परापूर्वकालदेखि नै राजाका भाइ–भारदार काटिने भाचाखुशी – देखेर तमाम नदीहरूको बन्धनमा रहेको अविचलित उपत्यका काठमाडौं निसास्सिएको थियो । त्यस्तो के भएको थियो र जनमत संग्रहमा जसले पूरै काठमाडौं उपत्यकाका तीन शहरको श्वास–प्रश्वास अचानक बिथोल्यो ? हजारौं हजार बर्षदेखि वायुमण्डलमा स्वतन्त्र विचरण गरि रहेका शहर अनायास निसासिनु पर्ने यो के घटना भयो ? कस्तो घटना भयो ?
शंकाको घेराभित्र अनेक प्रश्नहरू थिए : बहुदल कि निर्दल ? नीलो रंग कि पहेंलो रंग ? स्वतन्त्रता कि दासता ? राजाको शासन कि जनताको सरकार ? त्यतिखेरको कुरो सम्झिँदा अहिले आश्चर्य लाग्दछ – सिंहासनमा बस्नासाथ देशलाई शान्ति क्षेत्रका रूपमा विकसित गर्ने राजाको चाहना र प्रतिबद्धताको गाँठो कहाँनिर फुस्कियो ? !
चार दशकभन्दा केही अगाडि काठमाडौं शहर ज्याँ जेनेको उपन्यास ‘मि¥याकल अफ दि रोज’ पढेर समय बिताउँथ्यो । नाटक निर्देशकहरू भन्छन् नि – अभिनेताहरू जब त्राशदीपूर्ण अभिनयको चरम अवस्थामा पुगेका हुन्छन् त्यसबेला उनीहरूको छाती रन्किएको हुन्छ । उनीहरुको लगातार दम बढ्न थाल्दछ । बढेको बढेकै गर्दछ । अभिनेता भाषान्तरको समस्यामा बल्झिन्छन् । साथै, अर्थान्तरका समस्याहरू पनि बोक्दछन् ।
जस्तो कि, फ्रान्सिसीहरू भन्दछन्– प्रेम सधैँ वियोगमा टुंगिन्छ । दुःखान्तमा सकिन्छ । त्यतिबेलाको ट्रेण्ड अनुसार सुप्रसिद्ध लेखक तथा चिन्तक ज्याँ जेने ‘क्लासिक’ भै सकेका थिए । उनको प्रेम वियोगमा टुंगिएको थियो । हाम्रो शहरको झोंछेमा एलेन गिन्सबर्ग रमाउने गर्दथे र गाउँथे – अमेरिका, गो एन्ड फक वीथ योर एटम बम । गिन्सवर्गले गाएको कविताका शब्द सुनेर युवक र युवतीहरू लजाउँथे ।
कसैले भनेको थियो– काठमाडौं समृद्धिको टापु हो । यो सत्य कुरा हो । संसारकै गरीब देशहरूमध्येको एक भने पनि, जे भने पनि, मलाई यति थाह छ– काठमाडौं साँच्चै समृद्धिको टापु हो । यहाँका कुख्यात र प्रख्यात दुवैथरि साहू–महाजनसँग औद्योगिक र व्यावसायिक लगानीका लागि पैसा नै छैन । तर, शहरमा पैसाको दुःख पनि छैन । यो एकप्रकारको छल पनि हो ।
म जन्मेको नुवाकोट जिल्लाको अर्चले (झिल्टुंग) गाउँमा हो । तर, मैले काठमाडौं शहरको खिचापोखरीमा बनेको एउटा सामान्य घरमा हुर्किने सौभाग्य पाएँ । काठमाडौं शहरले मलाई पहिचान दियो । अहिलेसम्म पनि यो पहिचान स्थिर छ । यसैलाई ओढेर, यसैमा गुटमुटिएर बाँचेको छु म । मलाई थाह छ ः शहर क्रूर हुन्छ । यसले हतपती कसैलाई पहिचान दिँदैन । जतिबेला पहिचान दिन्छ त्यसबापत कुनै आग्रह राख्दैन । एक समय थियो जब काठमाडौं एउटा सफा र समृद्ध भान्साघर जस्तो थियो । अहिले त्यस्तो केही छैन । मिठाइमा काठमाडौंको आफ्नै मौलिक संस्कृति थियो ।
यतिबेला तनावग्रस्त छ काठमाडौं । अँध्यारो छिँडीमा बलेको जिरो वाटको गुलुपको अपर्याप्त प्रकाशमा उसको निधारमा परेको चाउरी देखिँदैन । शहरको निधारमा परेका चाउरीलाई आँखाका परेलीले छोप्न सक्दैनन् । शहरका सडकमा, गल्लीमा, चोकमा र भवनमा देखापर्ने सभ्यता अन्यत्र कतै देखा पर्दैन । शहर चिनियाँ उत्पादनका फेसनमा अलमलिएको छ । शहरको मौसम पनि त्यस्तै छ । मौसमी चिसोबाट जोगिन अलिकति मोटो ज्याकेट लगायो – गर्मी हुन थाल्दछ । अलिकति पातलो खालको हलुका ज्याकेट लगायो– चिसो हुन थाल्दछ ।
यो एउटा कुरा पक्कै हो, काठमाडौं शहरमा प्रतिदिन सभ्यता खडा हुन्छ र प्रतिदिन भत्किन्छ । कसैले भनेको थियो– काठमाडौं समृद्धिको टापु हो । यो सत्य कुरा हो । संसारकै गरीब देशहरूमध्येको एक भने पनि, जे भने पनि, मलाई यति थाह छ– काठमाडौं साँच्चै समृद्धिको टापु हो । यहाँका कुख्यात र प्रख्यात दुवैथरि साहू–महाजनसँग औद्योगिक र व्यावसायिक लगानीका लागि पैसा नै छैन । तर, शहरमा पैसाको दुःख पनि छैन । यो एकप्रकारको छल पनि हो । पञ्चायतकालदेखि अहिलेसम्मका, कुनै पनि सरकारलाई यो थाह छैन, ठूलठूला पार्टीहरूमा हुने खर्चको रकम जतिसुकै ठूलो भएपनि, ती ‘प्रतिरक्षात्मक’ हुन्छन् । उपत्यकामा आयोजना हुने पार्टीहरूमा निम्त्याइएका सबै भद्रजनसँग ‘सुटिङ’ र ‘सेटिङ’ पनि हुँदैन । सुटिङ नभएपछि भद्रमहिलाका समस्या पनि उस्तै होलान् । भाडामा पाउन्जेलसम्म आफ्नै पोशाक भए पनि र नभए पनि के समस्या भयो र ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।