नेपालमा मानव बेचबिखनको तथ्यांक डरलाग्दो छ । बर्सेनि यस्ता घटनामा संलग्नहरू पक्राउको संख्या बढिरहेको छ । स्वदेशमा मात्र होइन विदेशमा पनि नेपाली नागरिक बेचबिखनको चंगुलमा फसिरहेका छन् । प्रस्तुत छ, मानव बेचबिखनको वर्तमान अवस्था, कारण र समाधानलगायत विषयमा केन्द्रित रहेर मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता गौतम मिश्रसँग गरिएको कुराकानी :
नेपालमा हाल मानव बेचबिखन तथा ओसारपसारको अवस्था कस्तो छ ?
ब्यूरोको अध्ययनअनुसार पछिल्लो समयको तथ्यांक अनुसार मुद्दा दर्ता, उद्धार, अपरेसन र कारबाही गरेको अवस्था हेर्ने हो भने मानव बेचबिखनको अपराधमा संलग्नलाई पक्राउ गरेको अवस्था हेर्दा वृद्धि भएको छ । प्रहरीको एक्सन बढ्यो भने अपराध पनि धेरै दर्ता र पक्राउ भएको अवस्था छ । उद्धार पनि धेरै भएको देखिन्छ । नयाँ ट्रेन्ड हेर्दा आन्तरिक र बाह्य दुई तरिकाले बेचबिखन भएको पाइन्छ ।
आन्तरिकरूपमा हेर्ने हो भने मनोरञ्जनको क्षेत्रमा, होटल र रेस्टुरेन्ट, मसाज ब्युटिपार्लर जस्ता ठाउँहरूमा कामदारको रूपमा राखेर चेलीबेटीमाथि मानव बेचबिखन भएको देखिन्छ । यसरी व्यवसायको आवरणमा मानव बेचबिखन भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्दाखेरी नयाँ ट्रेन्ड के देखिरहेको छ भने बेरोजगारीको अवस्था र देशको आर्थिक अवस्था प्रमुख कारण देखिएको छ ।
देशमै भएको रोजगारी पनि भरपर्दो देखिँदैन । खेतिपातीमा संलग्न भएकाहरू त्यसलाई छाड्ने । चाँडो र सजिलै कसरी पैसा कमाउन सकिन्छ भन्ने सोच राख्ने कारण वैदेशिक रोजगारीमा गएको देखिन्छ । समस्या के भयो भने अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरू देखा परे । ठग र तस्करीको सञ्जाल बनाउने भए । यिनीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा सञ्जाल बनाइसकेपछि फ्रिभिसा फ्रिटिकट भनेर हाम्रा चेलीहरूलाई विशेषगरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रूपमा मानव बेचबिखन गर्ने गरिरहेका छन् । कामदार चाहिएकाले आएर बार्गेनिङ गरेर किनबेच गर्ने गरिरहेका छन् । लिएर गएपछि घरभित्र नै उनीहरूलाई यौन शोषण गर्ने गरेको पाइन्छ । बन्धक बनाउने परिवारसँग सम्पर्कविहीन गराइदिने र वेश्यावृत्तिमा लगाइदिने जस्ता कामहरू गराइएको पाइन्छ ।
यति मात्र होइन खाडी मुलुकको समस्या यस्ता छन् भने, थाइल्याण्ड, म्यानमार जस्ता देशहरूमा नेपालीहरू साइबर स्क्याइमिङको गर्ने जस्ता अपराधमा संलग्न भइरहेको देखिन्छ । तस्करहरूले १ हजारदेखि १५ सय डलरमा महिनाको कमाई हुन्छ भनेर लिएर गएर बन्धक बनाएर काम गराइरहेको अवस्था छ । अन्य विभिन्न बहानामा घुम्न जाने, सेमिनारमा जाने बहानामा सांस्कृतिक टोली लैजाने बहानामा पनि मानव बेचबिखन भइरहेको छन् । अहिलेस्वरूप परिवर्तन भएता पनि अपराध बढेको जस्तो देखिन्छ । मानव बेचबिखनको मुद्दाहरू चलाउने कुरामा पनि प्रहरीहरूको एकदमै सक्रिय भूमिका छ ।
मुद्दाको अनुपात घटेर मानव बेचबिखनको मात्रा पो बढेको छ कि ?
ब्यूरो स्थापना भएदेखि नै आजको दिनसम्म १ हजार सातवटा मुद्दा दर्ता भएका छन् । त्यसमा लगभग २१ सयजना अपराधी चाहिँ पक्राउ परेका छन् । कानुनको दायरामा ल्याइएका छन् । करिब २५ जना उद्धार भएका छन् । अझै पनि हाम्रो मानव बेचबिखनका सबै मुद्दाहरूलाई कानुनको ढोकासम्म ल्याइपुर्याउन सकेको अवस्था भने छैन । त्यो भनेर पीडित प्रेरित भएर प्रहरीको ढोकासम्म आएको अवस्था छैन । सामाजिक च्यानलहरूमा नै वार्ताबाट मुद्दाहरू मिलाउने पुलिस कहाँ आइनपुग्न सूचना नै आइनपुग्ने पनि हुन्छ । उद्धार भएर आइसकेपछि रिस मर्दै गएर पैसा लिएर प्रहरीलाई फोन नै नगर्ने, प्रहरी रिपोर्टमा आउ भन्दा भाग्ने गरेको अवस्था पनि छ । तर मानव बेचबिखनको अवस्था विकराल नै छ । यसलाई सबै मिलेर नियन्त्रण गर्नुपर्छ ।
मानव बेचबिखनविरुद्धको यो मुद्दामा अथवा यसलाई न्यूनीकरणको गर्नका लागि प्रहरीले के कस्तो काम गरिरहेको छ ? तथ्यांक हेर्दा नेपालको कुन भागबाट धेरै मानव तस्करी भएको पाइएको छ ?
प्रहरीले यस विषयमा जनचेतनामूलक कार्यक्रमहरू पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयहरू र चौकीसस्तरसम्म जनताचेनामूलक कार्यक्रमहरू गरेका छौं । समुदाय प्रहरी साझेदारी भन्ने कार्यक्रम पनि रहेको छ । साझेदारी कार्यक्रममार्फत मानव बेचबिखनको विषयलाई लिएर विद्यालयहरूमा पनि पुगेको अवस्था छ । पुलिस शिक्षकको नियुक्ति गरेर अगाडि बढेको छ । पालिका स्तरसम्म साझेदारी कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ । मानव बेचबिखन सम्बन्धी विभिन्न ठाउँमा डिजिटल बोर्डहरू राखेर सूचना प्रवाह गर्ने गरेका छौं ।
देशको कुन भागमा धेरै मानव बेचबिखन हुन्छ भन्ने कुरामा सबैभन्दा बढी काठमाडौं र काठमाडौंमा जोडिएका पहाडी जिल्लाहरूमा र मकवानपुर, धादिङ नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र उदयपुर अलि बढि प्रभावित देखिन्छन् । युरोप अमेरिकाको हिसाबले हेर्दा सल्यान, रुकुम, रोल्पा, दाङमा बढी प्रभावित देखिन्छ ।
मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा कति व्यक्तिको तपाईंहरूको नियन्त्रणमा हुनुहुन्न ? कस्ता मुद्दा बढी छन् ?
पाँच वर्षमा जम्मा १ हजार ४ वटा मुद्दा दर्ता भयो । त्यो मध्य २१ सय २२ जना पक्राउ परे । पीडितको संख्या १४ सय ४२ छ । अझै पनि ७ सय ७९ जना अहिले पनि फरार सूचीमा छन् । तिनीहरू देश बाहिर भएको अवस्था छ । तिनीहरूलाई पनि विभिन्न माध्यमबाट समात्ने ल्याउने कोसिस भइरहेको छ । मुद्दाहरूको अवस्था हेर्दा सबैभन्दा बढि वैदेशिक रोजगारमा जाने र भिजिट भिसाको दुरुपयोग भएको पाइन्छ । श्रम स्वीकृति नपाइने ठाउँहरूमा त्यस्तो ठाउँमा भिजिट भिसाको आवरणमा पठाएर मानव बेचबिखनमा परेर फर्किएका महिलाहरू धेरै हुनुहुन्छ ।
पहिला खुल्ला सिमाना भएको कारण मानव तस्कर हुन्छ भन्ने गरिन्थ्यो अहिले त्यो सिफ्ट भएर वैदेशिक रोजगारसम्म पुगेको हो ?
पहिलेको कुरा गर्दा नेपालमा धेरै मानव तस्करी चाहिँ भएको हो । विदेशमा खासै मानव तस्करी भएको पाइँदैनथ्यो, अलि अलि बिहे गरेर लैजाने घटना थियो । तर, अहिले लक्ष्य भारत त छँदै छ तर अरू देशहरू जस्तै खाडी मुलुक र पूर्वीय देश पनि टार्गेट भएका छन् । खुल्ला सीमा त अहिले पनि चुनौती नै छ । खाडी पुर्याइएका मान्छेहरू पनि हाम्रो खुल्ला सिमानाबाट भारतका विभिन्न एअरपोर्टबाट उडेर त्यहाँ पुगेको देखिन्छ । खुल्ला सिमाना हाम्रो लागि चुनौती नै छ । मानव बेचबिखन ओसारको मुख्य पोइन्ट भनेको हाम्रो खुल्ला सिमाना नै हो । सिमानामा विभिन्न सुरक्षा निकाय भएपनि यतिले मात्र रोक्न सक्ने अवस्था छैन । किनभने हाम्रो सबै ठाउँमा सिमाना छ हिँड्दा हिँड्दै भारत पुगिन्छ । कहाँ नेपाल कहाँ भारत पिलर नभएको ठाउँमा त्यो पनि थाहा नहुने अवस्था छ । त्यो कारणले खुल्ला सिमाना हाम्रो लागि चुनौती त छ ।
सबै काम गर्दागर्दै पनि मानव बेचखिनका घटना घट्नुको सट्टा किन बढिरहेका छन् ?
यसको जरासम्म जानुपर्छ । यसको जरा भनेको हाम्रो बेरोजगारी, अशिक्षा, गरिबी नै हो । किनभने हाम्रो आधुनिक कृषि प्रणाली लागू हुन सकिरहेको छैन् । मान्छेहरू कृषि, पशुपालन व्यवसायतिर धेरै आकर्षित हुन सकेको अवस्था छैन । उद्योगधन्दा, कारखाना खोलेर यही रोजगारी सिर्जना गर्ने कामतर्फ पनि धेरै लागेका छैनन् । मान्छेहरूको लागि अहिले सजिलो के भने विदेश जाने, कमाउने, ल्याउने अथवा कोही उतै बस्ने हिसाबले जाने भए, यसको मुख्य कारण भनेको बेरोजगारी, अशिक्षा, गरिबी नै हो । रोक्न नसक्नुको मुख्य कारण पनि यही हो ।
जबसम्म नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने भावना जागरित गराउन सकिँदैन तबसम्म वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखनका अपराध नियन्त्रण गर्न समस्या हुन्छ । तथापि यसमा एजेन्टहरूले छलेर, प्रलोभनमा पारेर लिएर जाने पनि हुन्छ । यो हाम्रो अशिक्षाको कारणले हुने घटना हो । यो पनि बढिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौंको संख्यामा मानिस बाहिरिने गर्छन् । त्यही नै ब्यूरोको पहुँच पुगेको छैन भन्नुभयो । यो त अलिक लज्जाको विषय भएन र ?
ब्यूरोको टोली त्यहाँ नहुँदैमा सबै सकियो भन्ने होइन । त्यहाँ नेपाल प्रहरीको सुरक्षा युनिट छ । अध्यागमन विभाग छ । हाम्रो तत्कालका लागि त्यहाँ भूमिका छैन मात्र भन्न खोजेको हो । यसको मतलब त्यहाँ सुरक्षा निकाय छैन भन्ने होइन । हाम्रो ब्यूरोको भूमिका पनि हुने हो भने उपयुक्त हुन्छ भन्ने मात्र हो । यी सबै ठाउँमा ब्यूरोको विस्तार गर्नुपर्ने छ ।
मानव बेचबिखनमा परेका पीडितलाई पुनःस्थापना गर्नको लागि प्रहरीले कस्तो भूमिका खेलेको छ ?
हामीले उद्धार भएर आएका जति पनि बेचबिखनमा परेका पीडित छन् उहाँहरूसँग आउने बित्तिकै परामर्श गर्छौँ । गैर सरकारी क्षेत्रका संस्था छन् उनीहरूले बेचबिखनमा परेका पीडितलाई बस्नको लागि उपयुक्त ठाउँ दिने, कानूनी कामहरू गर्ने जस्ता कामहरू गर्नुहुन्छ पीडित सुरक्षित महसुस नगरेसम्म अथवा बस्न चाहेसम्म त्यही राख्ने व्यवस्था गर्ने, पढाउने, सीप सिकाउने विभिन्न संस्था छन् । सबैजना मिलेर नै काम गरिरहेका छाैँ । सकेसम्म उहाँहरूलाई सहयोग गर्ने प्रयास गर्छौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।